
रूपन्देहीमा प्रतिनिधि सभातर्फका ५ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । जसमध्ये २ वटा क्षेत्रमा एमाले, एउटामा लोकतान्त्रिक समाजवादी, एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका सचिव छविलाल विश्वकर्मा २ हजार ५४२ मतका साथ अगाडि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १ हजार ९६४ मतका साथ विश्वकर्मालाई पच्छ्याइराखेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १ हजार ८७७ मत साथ तेस्रो स्थानका लागि प्रतिष्पर्धा गरिरहेका छन ।
त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ४ हजार १६९ मतका साथ अगाडि छन् । एमालेका विष्णु पौडेलले ४ हजार ६९ मत का साथ पच्छ्याइरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ३ हजार १४२ मत ल्याएका छन् ।
रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पछाडि पार्दै राप्रपाका दीपक बोहरा ६ हजार ३७३ मतका साथ अगाडि छन् । खाणले ५ हजार १२४ मत ल्याएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला अगाडि देखिएका छन् । उनी ५ हजार ३८४ मतका साथ अगाडि छन् । उनलाई नेपाली कांग्रेसका प्रमोदकुमार यादवले ४ हजार ३९ मतका साथ पच्छ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका भुपेन्द्र यादवले ३ हजार २२१ मत ल्याएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका वासुदेव घिमिरेले २ हजारभन्दा बढी मतका साथ कांग्रेसका भरतकुमार शाहलाई पछाडि पारेका छन् । एमालेका घिमिरेले १० हजार २५५ मत ल्याउँदा शाहले ८ हजार २२२ मत ल्याएका छन् ।