२८ जेठ २०८३, बिहीबार
आमचुनाव-२०७९

काठमाडौंको फैसला– एमालेमा घण्टी बज्यो, कांग्रेसलाई ५ सीट !

काठमाडौंको फैसला– एमालेमा घण्टी बज्यो, कांग्रेसलाई ५ सीट !

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ५ सीट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ४ सीट जितेर काठमाडौंमा दोस्रो भएको छ । नेकपा एमालेले भने काठमाडौंमा एक सीटमा मात्रै जित निकालेको छ । 

काठमाठौं–१ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जितेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गरेका हुन् । 

सिंहले ७ हजार १४३ मत  प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।

२०७४ को चुनावमा पनि सिंह र मिश्र नै चुनावी प्रतिस्पर्धामा थिए । त्यसबेला मिश्र करीब ८ सय मतले पराजित भएका थिए ।

काठमाडौं–२ मा ठूला पार्टीका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौमतले चुनाव जितेकी छिन् । त्यहाँ उनले एमाले दोस्रो, राप्रपा तेस्रो र गठबन्धनकी उम्मेदवारलाई चौथो स्थानमा सीमित गराइन् । 

गौतमले १५ हजार २२९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएका छन् ।

काठमाडौं–३ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे निर्वाचित भएका छन् । 

चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गरेका छन् ।

काठमाडौं–४ मा कांग्रेसका महामन्त्री गगन थापाले एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका छन् ।

अघिल्लो चुनावमा पनि उनीहरू नै प्रतिस्पर्धी थिए । काठमाडौं– ४ मा यसपटक पनि अघिल्लो चुनावकै नतिजा दोहोरिएको छ । 

थापा २१ हजार ३०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।

काठमाडौं–५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर कांग्रेसका युवा नेता प्रदीप पौडलले जीत निकालेका छन् । पोखरेलको लगातारको जीतमा पौडेलले ब्रेक लगाएका हुन् । 

पौडेलले १५ हजार २३७ मत ल्याएका छन् । उनका निकट प्रतिद्वन्द्वी ईश्वर पोखरेलले १० हजार १७२ मत पाएका छन् । उनीहरूबीच ५ हजार ६५ मतको अन्तर छ ।

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन् । हेभीवेट उम्मेदवार भनिएका एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गर्दै शिशिर खनाल विजयी भएका हुन् । 

शिशिर १४ हजार २०४ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे । नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् । 

त्यसैगरी, काठमाडौं–७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नै चुनाव जितेका छन् । काठमाडौं–७ मा गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८०० मत पाएका थिए । उक्त निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । 

काठमाडौं–८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले १० हजार १०५ मत ल्याएका थिए । सायमीले ५ हजार ८८९ मत पाए ।

काठमाडौं–८ मा बहालवाला मन्त्री एवं सत्तारूढ गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठ तेस्रो भएका छन् । उनले ४ हजार ८७७ मत मात्रै पाए ।

काठमाडौं–९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले चुनाव जितेका छन् । काठमाडौंमा एमालेले चुनाव जितेको यो एउटा मात्रै क्षेत्र हो ।

श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाएका छन् ।

काठमाडौं–१० मा कांग्रेसका उम्मेदवार राजन केसीले ह्याट्रिक गरेका छन् ।

यसअघिका २ वटा चुनावमा पनि काठमाडौं–१० बाट केसी नै विजयी भएका थिए । अन्यत्र कांग्रेस–माओवादीको गठबन्धन भए पनि काठमाडौं–१० मा भने एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । 

उनले प्रतिद्वन्द्वी एमालेका हिमेश केसीलाई २ हजार ६६२ मतको अन्तरले पराजित गरेका हुन् । हिमेशले ११ हजार ७८६ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २७७ र माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखेले ४ हजार २६० मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्