
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गरेका छन् ।
राजनीतिक दलहरूको व्यवहारबाट विरक्तिएका र मतदाताहरूलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरूको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरूसँग बढन गएको, खेतीको सिजनका कारण पनि निर्वाचनमा कम मत खसेको समेत स्पष्ट पारे ।
‘एउटा धेरै मतदाता बाहिर छ । दोस्रो, खेतीको सिजन छ । तेस्रो, हिजो, अस्तीका राजनीतिक दलहरूको कामकाज, व्यवहारले विरक्तिएर जान्न भन्नेहरू पनि भए होलान् । कतिपयलाई गठबन्धन भयो । आफ्नो दलको उम्मेदवार छैनन् । मेरो एउटा चिन्हमा भोट लिईराखेको अर्को चिन्हमा दिन जान्न भन्ने पनि भयो होला । यी लगायतका कारणहरू खास गरेर दलहरूले मतदाताहरूलाई मोटिभेटेड गर्न नसकेको परिणति कम मत खस्नु रहेको म भन्दछु’, पोखरेलले भने ।
पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा यो निर्वाचनले मुख्य चुनौतीको रुपमा औँल्याएको पनि बताए । निर्वाचनमा परिपक्वता आए पनि पैसा र डिजिटल प्रविधिको दुरुपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरूले पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौती र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताए । उनले भने, ‘हामीहरू डेमोक्रेसीको एउटा मेच्युर फेजको आइपुगेको देखिन्छ । त्यसले गर्दाखेरी हामीले सन्तोष लिनुपर्ने अवस्था पनि छ । सुरक्षा चुनौतीका कुरा, मतदाता शिक्षाका कुराहरूमा कमी छ । दुई वटा कुराहरू हाम्रोमा चुनौतीको रूपमा आएको छ । पैसा र डिजिटल प्लेटफर्मको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती आएको छ । हाम्रो अगाडि निर्वाचनको लागि यही चुनौती छ । पर्यवेक्षकहरूलाई पनि मेरो आग्रह छ–अब भने तपाईंहरूले पनि त्यसमा फोकस गर्नु पर्छ ।’
निर्वाचनमा केही छिटफुट घटना भए पनि मतदान प्रक्रियाको विश्वसनीयता र स्वच्छन्दतामा प्रतिकूल असर हुने कुनै पनि गतिविधि नभएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोक र जियोकको पनि प्रारम्भिक टिप्पणी छ ।