२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

पार्टीविरुद्ध गरेको विद्रोहले ‘जोगी सर’लाई बनायो ‘माननीय’

मंसिर ८, २०७९
पार्टीविरुद्ध गरेको विद्रोहले ‘जोगी सर’लाई बनायो ‘माननीय’

सत्ता गठबन्धनसँग सिट बाँडफाँटमा चित नबुझेपछि जनता समाजवादी (जसपा)ले नेकपा एमालेसँग तालमेल गर्‍यो । तालमेलमा सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ५ जसपाको भागमा पर्‍यो । माेरङ ५ जसपाको भागमा परेपछि नेकपा एमालेका प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डल ‘जोगी सर’ले एमाले छाड्ने घोषणा गरे । उनले पार्टीले तालमेलका नाममा जसपालाई टिकट दिएपछि आँट गरेर स्वतन्त्र उम्मेदवारी दिए । उनले ‘चापाकल’ चुनाव चिह्न पाए ।

चुनाव चिह्न पाएपछि उनी घरदैलो अभियानमा लागे । उपेन्द्र यादवले चुनाव जितेको उक्त क्षेत्र उनका लागि सहज भने थिएन । उनलाई एमालेका एकाथरी नेताहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिए भने एकातर्फका नेताले सघाउने घोषणा गरे । उनलाई एमालेकै नेता तथा कार्यकर्ताले सघाए । 

‘जोगी सर’ उपनामले चिनिएका मण्डलका लागि चुनाव जित्ने आधार भने शिक्षण पेशा बन्यो । उनले गाउँ समाजका विपन्न बालबालिकालाई निःशुल्क ट्युसन पढाएका थिए । बिएस्सी सकेर घर फर्किएपछि उनले गरिब तथा विपन्न बालबालिकालाई सघाएका थिए । ट्युसन पढाउने विद्यार्थीहरूले उनलाई ‘जोगी सर’ भन्थे । 

२०५१÷२०५२ साल तिर उनले ट्युसन पढाएका थिए ।  विद्यार्थीहरूले उनको नाम ‘जोगी सर’ भनेर राखेका थिए । त्यही बेलादेखि उनी ‘जोगी सर’ उपनामले चिनिएका थिए । उनका लागि त्यही काम सबैभन्दा ठूलो निर्वाचन जित्ने आधार बन्यो । त्यति बेला निःशुल्क ट्युसन पढाएका विद्यार्थीहरू गुण तिर्ने भन्दै आफ्नो प्रचारमा हिँडेका कारण चुनाव जित्न सहज बनेको जोगी सर बताउँछन् । 

जीवन विकास समाजले लघुवित्त, अस्पताल, डेरी, पिउने पानी, बाल विकास केन्द्र, कृषि आयोजनालगायतका प्रोजेक्ट चलाइरहेको छ । उनले जीवन विकास समाजको पनि नेतृत्व गरिरहेका छन् । उक्त जिम्मेवारीले पनि जोगी सरलाई निर्वाचन जित्न सहज भयो ।  

२५ वर्ष अघि जीवन विकास लघुवित्त वित्तीय संस्था खोलेर उनी जनता नजिक भएका थिए । जीवन विकासले २४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । लघुवित्तमा तीन लाख बढी सदस्य छन् ।

नागरिकको जीवनस्तर उकास्नका लागि सहयोग गर्न भन्दै उनले स्थापना गरेको जीवन विकासले लघुवित्तसँगै स्वास्थ्य शिक्षाको क्षेत्रमा पनि काम गरिरहेको छ । तीन सय बेडको सुलभ अस्पताल सञ्चालनका संरचना निर्माणसमेत गरिरहेको छ । उनले ५ वर्षदेखि नै चुनावमा उठ्ने तयारी गरेका थिए । 

२०७४ सालपछि मात्र एमालेको राजनीति शुरुका गरेका जोगी सरले टिकट नपाएपछि विद्रोह गरे । उनको विद्रोहले अन्त्यमा सांसदसम्मको बाटो देखायो । अब उनी ‘माननीय जोगी सर’ कहलिने छन् । 

जोगी सरले मत गणनामा शुरुदेखि नै लगातार अग्रता लिए । अन्ततः २१ हजार ८२० मत ल्याएर उनी विजयी भए । उनका निकटतम प्रतिद्धवन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डले १७ हजार ४ सय ८६ मत प्राप्त गरे । जनता समाजवादी (जसपा) का राजकुमार यादवले  १७ हजार ३९० मत पाए । यादवलाई उनको पार्टी एमालेले समेत समर्थन गरेको थियो । 

पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले ५ दलीय गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल र एमाले–जसपाका संयुक्त उम्मेदवार राजकुमार यादवलाई पराजित गर्न सफल भए । 

salt training

कमेन्ट गर्नुहोस्