
मोरङ–४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मत मात्रै ल्याए । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।
मोरङ–४ मा १ लाख १० हजार ९३ मतदातामध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जीत निकालेका हुन् ।
यससँगै मोदी तेस्रो पटक संसद प्रवेश गर्न सफल भएका छन् । २०७४ मा पनि मोदी मोरङ–४ बाट उम्मेदवार भएर चुनाव जितेका थिए । त्यसबेला उनले कांग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गरेका थिए ।
त्यसबेला, मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।
२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिक उम्मेदवार भएका मोदीले यस पटक गठबन्धनको उम्मेदवार भएर चुनाव जितेका छन् । यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रोे जीत भएको छ ।
३७ वर्षकै उमेरमा ३ पटक सांसद
माओवादी आन्दोलनबाट उदाएका अमनलाल मोदीले अहिलेसम्म संसदीय चुनावमा पराजयको स्वाद थाहा पाएका छैनन् ।
०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट निर्वाचित भएका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–४ बाट उम्मेदवार भनेका थिए ।
कांग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेदवार त्यही काँग्रेस भित्रको अन्तर्विरोधमा खेल्न सफल भए । उनको निर्वाचन क्षेत्रमा थारु समुदायको बाहुल्य भएको फाइदा पनि उनलाई भयो ।
बावु पवनलाल र आमा वालोदेवी मोदीको कोखबाट २०४२ असोज ५ गते जन्मिएका मोदीले स्नातकसम्म अध्ययन गरेका छन् ।
२०५३ सालदेखि माओवादीसँग आवद्ध भएका मोदी २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य भए । पछि उनी मोरङमा अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला अध्यक्ष भएका थिए ।
२०५८ सालमा थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य भएका मोदीले माओवादी केन्द्रको जिल्ला र केन्द्रीय तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।
उनी २०६० सालमा पक्राउ परी २ वर्ष ३ महिना जेल जीवन बिताएका छन् । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका छन् । २८ वर्षको उमेरमा पहिलो पटक सांसद भएका उनी ३७ वर्षकै उमेरमा तेस्रो पटक सांसद भइसकेका छन् ।