
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतपरिणाम आउने क्रम जारी छ । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ३ जना उम्मेदवार विजयी भएका छन् ।
नवलपरासी पश्चिम–२ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका खडक बस्नेत प्रदेशसभामा निर्वाचित भएका छन् ।
बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का आशिष प्रधानलाई ७१ मतले पराजित गरी प्रदेश संसद यात्रा तय गरेका हुन् । बस्नेतले १२ हजार ४४९ मत ल्याउँदा राप्रपाका प्रधानले १२ हजार ३७८ मत ल्याए । 
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा दाबी प्रस्तुत गरेका बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विजय भएपछि बस्नेतले मतदाताले विश्वास गरेर दिएको अभिमतको सम्मान गर्ने बताए ।
रूकुम पूर्वबाट प्रदेशसभामा माओवादीका आधिकारिक उम्मेदवार तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरी बागी उम्मेदवार सरुल पुन विजयी भए ।
वलीले ३ हजार ९३२ मत ल्याउँदा सरुलले ४ हजार ४६५ मत पाए । माओवादी केन्द्रले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सरुल १७ वर्षकै उमेरमा माओवादी लडाकु बनेका थिए ।
अहिले ४४ वर्षीया पुनले माओवादीले आफूलाई विश्वास नगरे पनि जनताले विश्वास गरेको बताए ।
स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीको हितविपरित गएको भन्दै कारबाही गरेको थियो । पार्टीबाट विद्रोह गरेका दावी गर्ने पुन भन्छन्, ‘हिजोसम्म पार्टीमा थिएँ, अहिले जनताको भएको छु ।’
त्यस्तै, रोल्पामा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनलाई पराजित गर्दै माओवादीबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन मगर विजयी भए ।

यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसलाई टिकट दिएपछि पुनले माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्रले १४ हजार ९३२ मत ल्याउँदा अम्मरसिंहले १० हजार ४०६ मत मात्र ल्याए । दीपेन्द्र र अम्मरसिंहको मतान्तर ४ हजार ५२१ छ ।
दीपेन्द्र निर्वतमान प्रदेशसभा सदस्य तथा संसदीय समितिका सभापति भएर पनि काम गरेका थिए । दीपेन्द्र जनयुद्धका घाइते तथा अपाङ्ग पनि हुन ।