
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले यो निर्वाचनले मुलुकलाई अस्थिर बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका मिश्रले सामाजिक सञ्जालमा सन्देश लेख्दै ‘चुनावी परिणामले देश फेरि पनि ‘लम्किने’ होइन, ‘घस्रिने’ छ भन्ने स्पष्ट भइसकेको टिप्पणी गरेका हुन् ।
सन्देशमा मिश्रले देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग नभएको पनि दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यो देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग छैन । र, ती एजेण्डालाई इमानदारीपूर्वक गन्तव्यमा पुर्याउन सक्ने नेतृत्व अहिले राप्रपासँग छ ।’
यस्तो छ मिश्रको सन्देश
एजेण्डामा स्पष्टता – गन्तव्यमा प्रष्टता!
राप्रपका नव निर्वाचित ७ जना प्रतिनिधिसभा र ११ जना प्रदेशसभा सांसद सबैलाई हार्दिक बधाई तथा सशक्त र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु !
देशको दूरगामी शान्ति, स्थिरता, स्वाधिनता र आर्थिक रूपान्तरणका बारेमा राप्रपा सबैभन्दा स्पष्ट एजेण्डा भएको पार्टी हो ।
म राप्रपामा त्यसै जोडिएको होइन । राप्रपामा कमजोरी छैनन् भन्ने होइन । सम्पूर्ण समाज नै कमजोरीले भरिएको छ भने कुनै पनि पार्टी दूधले नुहाएको हुन सक्दैन ।
तर, यो देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग छैन । र, ती एजेण्डालाई इमानदारीपूर्वक गन्तव्यमा पुर्याउन सक्ने नेतृत्व अहिले राप्रपासँग छ ।
गत महाधिवेशनपछि अध्यक्ष राजेन्द्र लिङदेनसहितको नेतृत्वले पार्टीलाई यो निर्वाचनबाट नवजीवन प्रदान गर्यो । तर, अनपेक्षितरूपमा विकशित चुनावी माहोलले राप्रपाको तीब्र यात्रामा केही प्रभाव पार्यो । त्यो प्रभाव क्षणिक मात्र हुनेछ ।
चुनावी परिणामले देश फेरि पनि ‘लम्किने’ होइन, ‘घस्रिने’ छ भन्ने स्पष्ट भइसक्यो ।
यस्तो अवस्थामा राप्रपाको इमान, एजेण्डा र नेतृत्व सबैमा भएको स्पष्टता र दृढताले पार्टीमा भएका कमजोरी सुधार्दै अर्को निर्वाचनमा यो पार्टी देशको नेतृत्वमा पुग्छ भन्नेमा म विश्वस्त छु । इतिहासका कमि–कमोजोरीका कारण राप्रपा कतिपयलाई मन नपर्ला तर राप्रपा अब सुध्रिने बाटोमा अग्रसर भइसक्यो । र, जसले जेसुकै भनुन्, हेरिराख्नोस्, राप्रपाले बोकेका एजेण्डामा देश नगइकन यो देशको भलो हुनै सक्दैन ।
दुर्भाग्य भन्नु पर्छ, चिनिएका÷जानिएका झण्डै आधा दर्जन उमेद्वारहरूबीच देशको सबैभन्दा घमासान प्रतिष्पर्धा हुँदा पनि म केवल १२५ मतको अन्तरले पराजित भएँ । मलाई नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सबैलाई फेरि एकपटक नमन गर्न चाहन्छु । मैले ठूलो खतरा मोलेर गरेको मार्ग परिवर्तन सही दिशामा भएको महसुस गरेको छु । तपाईंको जय होस्, नेपालको जय होस !