२४ जेठ २०८३, आइतबार

मन्त्रीहरू नै भारतबाट मल किन्दा कमिसन खान्छन् : प्रेम सुवाल

मंसिर १०, २०७९
मन्त्रीहरू नै भारतबाट मल किन्दा कमिसन खान्छन् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताए । 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण लागिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । उनले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि प्रतिबद्धता जनाए । 

‘संसद् भनेको कानून बनाउने ठाउँ हो, यदी एउटा कानून राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने हाम्रा युवाहरू अहिले ७०/८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रुपमा गइरहेका छन्, उनीहरू जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानून बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन्’, सुवालले भने, ‘यस्तै आवाज हामीले संसदमा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरूको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सुवालले ४२ हजार ७१६ मत ल्याए भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १(२) मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भए भने १(१) बाट भने नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए । 

salt training

कमेन्ट गर्नुहोस्