
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारत सम्बन्धको भित्री गम्भीर पाटोलाई कोट्याउँदै हाल काठमाडौं र दिल्ली दुवैतर्फ सुनिएका 'गड्याङगुडुङका आवाज' त्यति प्रिय नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र छिमेकी देशको प्रतिष्ठित सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले दुवै देशमा राम्रै तरङ्ग ल्याइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो भनाइ सार्वजनिक भएको हो।
सभापति लामिछाने यतिबेला भारत भ्रमणमै रहेको र काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति तथा संसद्मा भइरहेको राजनीतिक घम्साघम्सीबीच भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल-भारत सम्बन्धको ऐतिहासिक मनोविज्ञान र वर्तमान दुष्चक्रबारे आफ्नो धारणा राखेका हुन् ।
भट्टराईले लामिछानेको लेखमा उठाइएका विषयहरूप्रति आफ्नो सहमति रहेको उल्लेख गरेका छन् । नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता तथा संस्कृति (रोटी-बेटी) का कुरा गरून्जेल दुवैतिर वाहीवाही नै हुने उनको भनाइ छ।
सम्बन्धको अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो रहेको भट्टराईको विश्लेषण छ। 'त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बोल्दैनौँ तर खास्टोमुनि मुड्की बजारीरहन्छौँ,' उनले भनेका छन् ।
यस्तो छ उनको भनाइ
रास्वपा सभापति रवि लामिछानेको The Hindustan Times मा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खाशगरी नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता/संस्कृति ('रोटी-बेटी') का कुरा गरून्जेल दुवैतिर वाहीवाही नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको बिरोधका बाबजुद मैले BIPPA सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुशी छाएकै हो।
तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खाष्टोमुनि मुड्की बजारिरहन्छौ!
त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो! त्यसको पनि गाँठी कुरा हो- भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको 'सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो' ( Himalayan Frontier) भन्ने सोंच! (सीमा विवाद त्यसैको अभिव्यक्ति हो)।
अनि अर्कोतिर हामी नेपालीहरूमा गहीरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैं झस्काइरहने 'सिक्किमीकरण'को खतराको त्रास!
यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भैरहेछ!
यहीँ गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरु र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफु प्रम छँदा राम्रैसंग भित्री र बाहिरी तयारी गरेर EPG (प्रबुद्ध ब्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ। परन्तु पछि गठित EPG को प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको जगजाहेरै छ।
रवि लामिछानेजीको वर्तमान दिल्लीभ्रमण यो दुष्चक्र तोड्न सफल रहोस्! परन्तु यतिबेलै काठमाडौं र दिल्ली दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज त्यति प्रिय छैनन्!