२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

ट्राफिक कारबाहीमा हर्क साम्पाङदेखि सचिवहरूको जिम्मेवारी हेरफेरसम्म

जेठ २६, २०८३
काठमाडौं
ट्राफिक कारबाहीमा हर्क साम्पाङदेखि सचिवहरूको जिम्मेवारी हेरफेरसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय लिएको हो ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि आगामी जेठ २८ गतेसम्मको समयलाई अन्तिम म्याद (डेडलाइन) तोकेको छ । बैठकले १५औँ महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुनु अनिवार्य गरेको छ । पार्टीको डिजिटल प्रणालीमा हालसम्म सात लाख ८२ हजार २०९ जना योग्य क्रियाशील सदस्यमध्ये चार लाख १७ हजार ७५३ जना आबद्ध भइसकेको र ९८ हजार १४३ जना अद्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ ।

००००

विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले  कदम चालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकी छन् ।

००००

रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा भएको संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् ।

थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी पूर्वक्रिकेटर शक्ति गौचनले ४९ मत मात्र प्राप्त गरे ।

००००

स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तयारी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्नेगरी काम सुरु गरिएको बताइन् ।

००००

सशस्त्र प्रहरी बल नेपालले अत्यधिक मात्रामा कर्मचारीलाई बिदा स्वीकृत गरेको पाइएपछि सल्यान र जाजरकोटका गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार सल्यान र जाजरकोटस्थित गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अस्वाभाविक रूपमा ठूलो संख्यामा बिदा दिइएको भन्ने उजुरी परेपछि प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको थियो।

००००

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी दिए ।

००००

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।

नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ठूलो मात्रामा रहेको उल्लेख छ ।

००००

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

उनले ट्राफिक नियम पालना नगरी सवारी चलाएपछि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेका थिए ।

००००

सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो ।

दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी कुल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ ।

छ सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरुवा गरिएको छ । नयाँ जिम्मेवारीअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जीवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ ।

००००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डेलिङ स्टाफ प्रविन लामिछाने र सुमित्रा चन्द छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामिछाने र चन्दलाई आइतबार नियन्त्रणमा लिएको हो ।

००००

प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगित भएको छ ।

सोमबार दिउँसो सवा १ बजे  १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्ने वातावरण नबन्दा सारिएको हो ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको साटो परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेको छ ।

विपक्षी दलले प्रधानमन्त्री बालेनको सीमा सम्बन्धीको विवादित अभिव्यक्ति सदनबाटै फिर्ता लिनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्‌को रेकर्डबाट हटाउनुपर्ने लगायतका माग राखेर संसद् अवरोध गरिरहेका बेला रास्वपाले यस्तो प्रस्ताव गरेको हो ।

सोमबार रास्वपाले प्रतिनिधिसभा बैठकअघि बोलाएको सर्वदलीय बैठक बोलाएर विपक्षी दलसमक्ष यस्तो प्रस्ताव गरेको हो । बैठकमा सहभागी एमाले प्रमुख सचेतक ऐन महरलले रास्वपा सभापति रवि लामिछानेले यस्तो प्रस्ताव गरेको जानकारी दिए ।

००००

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

रूपन्देहीको बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै सुदूरपश्चिममा पनि मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

००००

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छिन् ।

गत जेठ ७ गतेदेखि बिदामा बसेकी उनी सोमबार इजलासमा फर्किएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्