२८ जेठ २०८३, बिहीबार
कर्णालीका एक्ला दलित सांसद

हुम्लाका दुर्गम गाउँका रणसिं सरको संसद यात्रा, प्रदेश सभामा गुञ्जिने छ कन्दराको श्वर

मंसिर १२, २०७९
हुम्लाका दुर्गम गाउँका रणसिं सरको संसद यात्रा, प्रदेश सभामा गुञ्जिने छ कन्दराको श्वर

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधि हुन् हुम्लाका रणसिं परियार । सत्ता गठबन्धनका साझा उम्मेदवार उनी माओवादी केन्द्रका तर्फबाट विजयी बनेका हुन् । उनी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै हुम्ला १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । परियारले ६ हजार ४६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी शाही ४ हजार ६१० मतमा सीमित भए । 

हुम्लाको अदानचुली गाउँपालिका–१ कल्खेका स्थायी बासिन्दा परियार आफ्नो जीतलाई कर्णालीका सिंगो दलित समुदायको जीतको संज्ञा दिन्छन् । ‘दलितहरूले पनि प्रत्यक्षतर्फ निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको छ, अनेक प्रतिकूलतालाई पन्छाउँदै जीत निकाल्न सफल भएँ’, उनी भन्छन्, ‘प्रतिष्पर्धीले सार्वजनिक मञ्चबाटै दलित समुदायको व्यक्ति भनेर होच्याउँदै भाषण गर्ने गर्नुभएको थियो, आखिर जनताले न्याय दिए ।’

स्नातक तहसम्म अध्ययन पूरा गरेका रणसिंले १० वर्ष सरकारी शिक्षकका रुपमा हुम्लाका विभिन्न विद्यालयमा पढाए । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा जागिर छाडे । उनी भन्छन्, ‘स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा होमिएँ, पार्टी–संगठनप्रतिको लामो सर्मपण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गर्‍यो ।’  

उनी हाल माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य छन् । अति पिछडिएको जिल्ला हुम्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनले सदनमा हुम्लाका दैन्दिनका समस्या, विकास र समग्र दलित समुदायको हक–हितका पक्षमा आवाज बुलन्द पार्ने सोच बनाएका छन् । रणसिं भन्छन्, ‘हुम्लाको विकासका लागि प्रदेश र केन्द्र सरकारलाई खबरदारी पुगेको छैन, जति हामी खबरदारी गर्न पछि पर्छौँ, त्यति नै हुम्ला पछाडि पर्ने अवस्था रहन्छ ।’ 

२०७४ मा पनि प्रदेश सभामा एक्ला दलित प्रतिनिधि निर्वाचित भएका थिए । त्यसबेला एमालेबाट मुगुका दानसिं परियारले प्रदेश सभा निर्वाचन जितेका थिए । यसपटक माओवादी केन्द्रबाहेक गठबन्धनमा आबद्ध अन्य दलहरूसहित एमालेले पनि प्रदेश सभामा दलितलाई टिकट दिएको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्