
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेको पीडा भुलाउन मंगलवार कतार जाने भएका छन् । मन्त्री श्रेष्ठ निगमको खर्चमा विश्वकप हेर्न कतार जान लागेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग चुनाव हारेका मात्रै हैनन्, प्रतिस्पर्धामै तेस्रो भए ।
विराजभक्त १० हजार ११२ मत ल्याएर विजयी हुँदा पर्यटन मन्त्री श्रेष्ठ ५ हजार २३१ मतले पछि पर्दै तेस्रो स्थानमा खुम्चिए । उनले ४ हजार ८८१ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाए ।
चुनाव हारेका मन्त्री निर्धक्कले पदमा भने बसिरहेका छन् । चुनाव हारेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठे पनि उनी निर्धक्कसँग विदेश उड्न लागेका हुन् । बहालवाला मन्त्रीले चुनाव हारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो । तर, श्रेष्ठसहित चुनाव हारेका अन्य मन्त्रीहरू पनि निर्धक्कसँग मन्त्रालय गइरहेका छन् ।
मन्त्री श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष हुन् । उनी ओलम्पिक कमिटीबाटै प्रतिनिधित्व गरेर कतारमा भइरहेको फूटबल विश्वकप हेर्न जान लागेको भए पनि खर्च भने सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट गराउँदै छन् ।
वायुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार मन्त्री श्रेष्ठ वायुसेवा निगमको व्यवस्थापकीय पक्षको अनुगमन तथा भ्रमणका नाममा निगमकै खर्चमा कतार जान लागेको हुन् । श्रेष्ठले निगमको काठमाडौं दोहा उडानका लागि मंगलवार साँझको टिकट लिइसकेका छन् ।
निगमका अनुसार मंगलवार साँझ आरए काठमाडौं–दोहा उडान नम्बर २३९ बाट उनी कतार जाँदै छन् । श्रेष्ठ निगमकै उडानबाट बिहीवार काठमाडौं फर्कने छन् ।
मन्त्री श्रेष्ठले निगमको व्यवस्थापकीय पक्षको अध्ययन र भ्रमणको सिलसिलामा कतार जानका लागि भनेर टिकट मिलाउन निर्देशन दिएको निगम स्रोतको दाबी छ । सोही निर्देशनका आधारमा मन्त्री श्रेष्ठका लागि टिकट व्यवस्था गरेको निगमकै एक उच्च कर्मचारीले लोकान्तरलाई बताए ।
निगमकै तालुक निकायको मन्त्री भएकाले प्राप्त निर्देशनलाई पालना गर्दै आवश्यक व्यवस्था गरिएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठ नेवानिको खर्चमा कतार गएर प्रतिनिधित्व भने ओलम्पिक कमिटीको गर्दैछन् । श्रेष्ठ ७ वर्षदेखि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष छन् ।
‘ओलम्पिक कमिटीको अध्यक्ष भएकाले उद्घाटन शत्रमै सहभागी हुन निम्तो आएको आएको थियो,’ मन्त्रीका श्रेष्ठ स्वकीय सचिव भीमसेन राजबाहकले लोकान्तरसँग भने, ‘सोही दिन नेपालमा चुनाव भएका कारण मन्त्रीज्यू जान पाउनुभएन । अहिले चुनाव सकिएको र फुर्सद पनि भएकाले ओलम्पिक कमिटीकै प्रतिनिधित्व गर्दै विश्वकप हेर्न कतार जान लाग्नुभएको हो ।’
ओलम्पिक कमिटीको अध्यक्षका रूपमा जान लागेकाले यसलाई मन्त्री पदसँग जोड्न आवश्यक नरहेको उनको तर्क छ ।
ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्न निगमलाई भार पारेको विषयमा भने पर्यटन मन्त्रालयका अधिकारीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
मन्त्रीले विदेश भ्रमण गर्दा मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्ने हुन्छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार सोमवार साँझसम्म उनको विदेश भ्रमणको विषयमा कुनै स्वीकृति आएको छैन ।
पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषदबाट स्वीकृतिविना मन्त्रीले विदेश भ्रमण गर्न मिल्दैन । तर, श्रेष्ठ भने कतार उड्नका लागि टिकट पक्का गरेर बसिसकेका छन् ।