२४ जेठ २०८३, आइतबार
प्रदेश सरकार गठन

प्रदेश १ मा अप्ठ्यारो समीकरण : सरकार बनाउन एमाले–राप्रपालाई २ सीट नपुग्ने, १ सीटे जसपा-लिम्बुवान निर्णायक !

मंसिर १३, २०७९
प्रदेश १ मा अप्ठ्यारो समीकरण : सरकार बनाउन एमाले–राप्रपालाई २ सीट नपुग्ने, १ सीटे जसपा-लिम्बुवान निर्णायक !

प्रदेश १ प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम आइनसक्दै आगामी सरकारबारे जोडघटाउ शुरु भएको छ । ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ३ क्षेत्रको मतपरिणाम आउने क्रममा रहेको छ । 

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रत्यक्षतर्फ मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये नेकपा एमालेले २४ सिट जित्दै ठूलो दल बनेको छ । नेपाली कांग्रेसले १५, नेकपा माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेका छन् । सत्ता गठबन्धनमा रहेका तीनवटा पार्टी मिल्दा २७ सिट रहेको छ भने एमाले–राप्रपा गठबन्धनको २६ सिट छ । 

मतगणना जारी रहेका प्रदेश सभातर्फ सुनसरी क्षेत्र नं. ३(२), क्षेत्र नं. ४(१) र ४(२) को भने परिणाम आइसकेको छैन । सुनसरी क्षेत्र नं. ३(२)मा एमालेले अग्रता लिइरहेको छ । यो समाचार तयार पार्दासम्म एमालेका रामदेव यादवले १५ हजार ३८० मत ल्याएका छन् । उनलाई काग्रेसका विन्देश्वर यादव १४ हजार ३१५ मत ल्याएर पच्छ्याइरहेका छन् । 

सुनसरी  ४(१)मा कांग्रेसका सदानन्द मण्डल ११ हजार ८४१ मतसहित अग्रस्थानमा रहँदा जसपाका पर्शुराम बस्नेतले ८ हजार ९३६ मत ल्याएका छन् । ४(२)मा पनि काग्रेसले नै अग्रता लिइरहेको छ । कांग्रेसका इस्राईल मन्सुरीले ११ हजार ६०९ मत ल्याएका छन् भने एमालेका अब्बास अन्सारीले ९ हजार ८१२ मत प्राप्त गरी पच्छ्याइरहेका छन् । 

गणना जारी रहेका तीन क्षेत्रमध्ये कांग्रेसले २ र एमालेले १ सिट जित्ने संभावना छ । अग्रस्थानमै रहेका उम्मेदवारले चुनाव जिते सत्ता गठबन्धनले प्रत्यक्षमा २९ सिट पुर्‍याउने छ । विपक्षी गठबन्धनले २७ सिट पुर्‍याउनेछ । 

प्रत्यक्षको मत परिणाम टुंगो लाग्दा सत्ता गठबन्धनलाई सरकार गठनका लागि १८ सिट अपुग हुनेछ, भने एमाले–राप्रपाले २० सिट थप खोज्नुपर्ने छ । 

यस्तो हुनसक्छ समानुपातिकको हिसाब

प्रदेश १ मा १७ लाख १५ हजार ५०७ मत समानुपातिकतर्फ गणना भएको सदर मत हो । यसमध्ये एमाले धेरै मत प्राप्त गरेको छ । एमालेले हालसम्म ५ लाख ९९ हजार ९५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले १ लाख ८२ हजार ९०९ र माओवादीले १ लाख ६८ हजार ७३४ मत प्राप्त गरेको छ । 

जसपाले ५५ हजार ३१७ र नेकपा एकीकृत समाजवादीले ५० हजार ८७५ मत पाएका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६ हजार ३६ मत पाएर प्रदेशमा थ्रेस होल्ड कटाएको छ । समानुपातिकतर्फ ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ । अहिलेसम्मको परिणामले एमालेले १४, कांग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपाले १, एकीकृत समाजवादीले १ र संघीय लिम्बूवानले १ सीट पाउने देखिन्छ । 

१ सिटे जसपा र लिम्बुवान निर्णायक ! 

यदि समानुपातिकको यो नै अन्तिम सिट भएमा एमाले  र राप्रपाको मत जोड्दा सरकार गठनका लागि जम्मा २ मत पुग्ने छैन । जसपा पनि एमालेसँग तालमेल गरेर निर्वाचनमा गएको हुनाले जसपाको समर्थन एमाले-राप्रपालाई हुने अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा लिम्बुवान सांसद सरकार गठनका लागि निर्णायक हुने देखिन्छ । 

प्रदेश १ मा संघीय लिम्बुवान सरकारमै रहेकाले उसको समर्थन सत्ता गठबन्धनलाई नै हुने अपेक्षा सत्ता गठबन्धनका नेताहरूले गरेका छन् । एमाले पनि उक्त एक सिट तान्ने दाउमा हुने छ । जसले सत्ता निर्माणको खेललाई रोचक बनाउने देखिन्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपाका मन्त्रीहरू बर्खास्त गरे पनि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने बर्खास्त नगरेको र एमालेले समर्थन गरेका जसपाका उम्मेदवार पराजय भएकाले पनि जसपाले सत्ता गठबन्धनलाई सघाउने अपेक्षा  गरिएको छ । त्यस्तो अवस्थामा सरकार निर्माणको अर्को रोचक दृश्य देखिने छ । एमाले र राप्रपालाई बाहिर राखेर सरकार निर्माणको प्रयास हुनेसक्ने संभावनालाई पनि नकार्न सकिन्न । यद्यपि, प्रदेश सरकार निर्माणका लागि संघीय सरकार निर्माणका लागि बन्ने समीकरणले प्रभाव पार्ने छ । हालसम्मको अभ्यासमा प्रदेशलाई स्वायत्त नछाडिएकाले केन्द्र सरकार निर्माणका लागि बन्ने समीकरणले प्रदेश सरकारको समीकरण उलटफेर हुनसक्छ । 

प्रदेश १ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा एमाले, राप्रपा र जसपाले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावमा होमिएका थिए । सत्तारुढ गठबन्धनबाट कांग्रेसका २६, माओवादी केन्द्रका १९ र एकीकृत समाजवादीका ११ उम्मेदवार थिए भने नेकपा एमालेले झापाका २ प्रदेश सभा राप्रपालाई तथा सुनसरीको १ र मोरङको १ प्रदेश सभा जसपालाई छाडेर ५२ सीटमा उम्मेदवार उठाएको थियो । एमालेको समर्थन पाएका राप्रपाका दुवै उम्मेदवार भक्तिप्रसाद सिटौला र सविना बजगाईं विजयी भएका छन् । एमालेको समर्थन पाएका जसपाका उम्मेदवारहरू मोरङमा जयराम यादव पराजित भइसकेका छन् । सुनसरीका पर्शुराम बस्नेतको पनि मतान्तर फरक भएकाले जित्ने सम्भावना कम देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्