०९ साउन २०८३, शनिबार
नेपाल प्रहरी

डीआईजीसहित २६ सय प्रहरीको दरबन्दी थप, २५ डीएसपी थप्ने तयारी

मंसिर १३, २०७९
डीआईजीसहित २६ सय प्रहरीको दरबन्दी थप, २५ डीएसपी थप्ने तयारी

नेपाल प्रहरीमा २ हजार ६ सय कर्मचारीको दरबन्दी थपिने भएको छ । प्रहरी प्रधान कार्यालयले देशका विभिन्न ठाउँमा आवश्यकता परेको भन्दै प्रतिवेदन तयार गरेर दरबन्दी थप गर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ । 

सरकारले सैद्धान्तिक सहमति दिएपछि कुन दर्जामा कति आवश्यक पर्छ भन्ने विषयको अनुसन्धान गरेर प्रस्ताव गृहमन्त्रालयमा बुझाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

‘सरकारको सैद्धान्तिक सहमतिपछि हामीले अनुसन्धान गरेर कुन ठाउँमा कति दरबन्दी आवश्यक पर्छ भन्ने अनुसन्धान गरेर गृहमन्त्रालयमा बुझाएका छौँ’, ती उच्च अधिकारीले भने, ‘त्यसलाई गृहले आवश्यक प्रकृया पूरा गरेर अगाडि बढाइने छ ।’

पछिल्लो समयमा साइबर अपराध, जघन्य अपराधजस्ता विषयको अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले पठाएको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल थप भएपछि त्यहाँ आवश्यक पर्ने भएकाले त्यसका लागि २ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप गर्ने प्रस्ताव गृहमा पुगेको स्रोतले लोकान्तरलाई जानकारी दियो । 

‘विभिन्न दर्जामा प्रहरीको आवश्यकतालाई औँल्याएर प्रहरीले प्रस्ताव पठाएको छ । त्यसका विषयमा हामीले हेरिरहेका छौँ, अब त्यसलाई अर्थबाट स्वीकृत गराएर मन्त्रिपरिषद्मा लगिनेछ,’ गृहमन्त्रालयका एक अधिकारीले लोकान्तरसँगभने ।

प्रहरीले ७ जना प्रहरी उपरीक्षक र २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को दरबन्दी थपका लागि प्रस्ताव पठाएको छ । यही अनुपातमा प्रहरी निरीक्षक, प्रहरी वरिष्ठ निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दारदेखि जवानसम्मको २ हजार ६ सय जनाको दरबन्दी थपका लागि माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीको वृतिविकास, लामो समय एउटै दर्जामा बस्नु पर्ने बाध्यतालाई कम गर्न दरबन्दी थप्न लागिएको प्रहरी हेडक्वार्टरका अधिकारीहरूको दाबी छ । 

‘अस्ति डीएसपीबाट एसपीमा बढुवा गर्दा पनि एकै लटमा सबै जना बढुवा गर्न पाइएन, त्यसले गर्दा क्यापेबल अधिकारीहरू पनि छुटे आगामी दिनमा त्यस्ता समस्या नआउन् भन्नका लागि दरबन्दी थप गर्न लागिएको हो’, हेडक्वाटरका एक उच्च अधिकारी भन्छन् । 

माथिल्लो दर्जामा राजनीतिक पहुँच पुर्‍याएर दरबन्दी थप गर्दै माथि आउने प्रवृत्तिले गर्दा तल्लो तहका कर्मचारीहरू सधैं मार्कामा पर्ने भएकाले प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले दरबन्दी थपका लागि सरकारसँग सहमति लिएर प्रकृया अगाडि बढाएको ती अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्