२७ जेठ २०८३, बुधबार

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न कांग्रेसको आग्रह

मंसिर १३, २०७९
स्याङ्जा २ र बाजुरामा मत गणना गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेको हो । 

त्यस्तै, बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए । उनले स्याङ्जा २ मा विधिवत रूपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए । निर्वाचनको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए । उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए । 

‘स्याङ्जा क्षेत्र नं. २ को मत गणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ । बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ । कयौँ ठाउँमा स्थगित गरेको सहज रूपमा फेरि गर्नु भनि भनिदिएको छ । स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्रअनुसार मत खसेको छ । त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरूको भोट खसेको छ । अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरूले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन’, पौडेलले भने, ‘यसलाई रोकेर अर्को अनधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो । त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसैगरेर बाजुरामा पनि तुरुन्त मत गणना होस् ।’

स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए । उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको दाबी गरे । 

‘नियम, कानूनबमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरू सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि साथीहरूले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर, मुचुल्का उठाएर, सही छाप लगाएर मत पेटिकाहरू मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरू थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा कांग्रेस, एमालेलगायत सबै दलले सही गरेको अवस्था । त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरूमा कुनै धाँधली नभएको, कुनैपनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मत गणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएको छौँ’, गुरुङले भने, ‘मलाई लाग्छ छिट्टै आयोगले निष्पक्ष निर्णय गरेर मत गणना तर्फ नै निर्वाचन अधिकृतलाई निर्देशन दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

salt training

कमेन्ट गर्नुहोस्