१२ साउन २०८३, मंगलबार

नवलपुर अस्पतालमा डायलासिस सेवा

मंसिर १४, २०७९
नवलपुर अस्पतालमा डायलासिस सेवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा शुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा शुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए । 

एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरिन् । जिल्ला अस्पतालबाट अब मिर्गौैला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्नेछन् । जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ । एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उनले बताइन् । हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताए । 

अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उनले बताए । ‘अहिले एक सिफ्ट मात्रै चलाएका छौँ, यसैले तीन जनालाई डायलासिस सेवा प्रदान गर्न सक्छौँ, आवश्यकता अनुसार सिफ्ट बढाउँदै जाँदा थप सेवा प्रदान गर्न सकिन्छ’, सूचना अधिकारी सुवेदीले भने । एउटा उपकरणलाई भने जगेडामा राखेर तीन वटाबाट सेवा दिइने उनले बताए । 

यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा शुरु हुनसकेको थिएन । बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा शुरु हुनसकेको थिएन । अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा शुरु गरिएको हो ।

‘सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न हाल सामाजिक सेवा युनिटबाट खर्च बेहोर्ने गरी काम शुरु गरेका छौंँ’, अस्पतालका सूचना अधिकारी सुवेदीले भने, ‘बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गर्ने काम बाँकी छ ।’

असार महिनाको अन्तिमतिर आवश्यक सबै तयारी पूरा गरी जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो । तर निःशुल्कमा सूचीकृत नगरी सेवा दिँदा सःशुल्क गर्नुपर्ने भएकाले सेवा शुरु गर्न समस्या परेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्