२५ जेठ २०८३, सोमबार

आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छुः मन्त्री कार्की

मंसिर १५, २०७९
आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छुः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए । 

उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए । मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताए । 

जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ । त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु । र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणीय दिदीबहिनी, दाजुभाइहरू जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ । उहाँहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु’, उनले भने । 

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । मन्त्री कार्कीले कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्