
आज (शुक्रवार)देखि प्रदर्शनमा आएको चलचित्र ‘पासो’ लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूले समेत हेरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं गीतकार रमेश बि.जी, गायकद्वय पशुपति शर्मा र रमेशराज भट्टराईले शुक्रवार राजधानीको सिभिल मलमा पुगेर रिस्ता बस्नेत अभिनित चलचित्र हेरेका हुन् ।
निर्माता भगवान भुजेलको निमन्त्रणामा हलमा पुगेका उनीहरूले बनिरहेका नेपाली चलचित्रहरू भन्दा ‘पासो’ फरक रहेको प्रतिक्रिया दिए । लोक–दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बिजीले भने, ‘नेपाली चलचित्र जून फर्मुलामा बनिरहेका छन् । त्यो फर्मुलाभन्दा यो चलचित्र पृथक लाग्यो ।’ प्रदर्शनका लागि तयार चलचित्र ‘परदेशी २’को कथा लेखकसमेत रहेका बिजीले चलचित्रले आफूलाई पूरा समय बाँधेर राखेको बताए ।
गायक शर्माले जिन्दगी जीउनका लागि कतिसम्म संघर्ष गर्नुपर्दो रहेछ भन्ने सन्देश चलचित्रले दिएको सञ्चारकर्मीमाझ सुनाए । उनले कलाकारहरूको अभिनयसमेत राम्रो रहेको बताए ।
अर्का गायक भट्टराईले चलचित्र हेरिरहँदा आफूमा आगामी भागलाई लिएर कौतुहलता भइरहेको बताए । ‘देशमा व्याप्त भ्रष्टाचार, प्रहरी प्रशासनको ढिलासुस्ती चलचित्रमा देखाइएको छ’, भट्टराईले भने, ‘अर्को कुरा हार नमानी संघर्ष गरियो भने बाँच्न सकिन्छ भन्ने सन्देश दिएको रहेछ ।’
आर.बी. पुनको कथा, पटकथा, संवाद एवं निर्देशन रहेको चलचित्रमा रिस्तासँगै सुनिशा बजगाईं, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रवण आकाशको अभिनय छ । यो फिल्मले युवती अपहरण र बलात्कारको विषयलाई उठान गरेको छ । यद्यपि, फिल्मको मुख्य कथा भने अपहरणमा परेकी युवतीले बाँच्नका लागि गर्ने कठोर संघर्ष हो ।