
नेपाली कांग्रेसबाट दैलेख २(१) मा निर्वाचित घनश्याम भण्डारी कर्णाली प्रदेश सभाका सबैभन्दा कान्छा सांसद हुन् । ३९ वर्षीय उनले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पराजित गर्दै प्रदेश सभाको यात्रा तय गरेका छन् ।
करिब १० वर्ष दैलेखमा रहेर सक्रिय पत्रकारिता गरेका भण्डारी दुल्लू नगरपालिकाको निवर्तमान प्रमुख हुन् । नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिवसमेत भइसकेका उनी पत्रकारिता छाडेर २०७४ सालको स्थानीय निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । रोचक के छ भने बुवा पूर्णबहादुर भण्डारीकै सदावहार प्रतिष्पर्धीसँग यसपटक घनश्याम आमन–सामने हुनुपर्यो ।
२०४९ को स्थानीय निकाय निर्वाचनमा पूर्णबहादुरले दुल्लू गाविसको अध्यक्ष पदमा ३२ मतान्तरले एमालेका तिलकप्रसाद रिजाललाई पराजित गरेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा भने रिजालले उनै पूर्णबहादुरलाई ४८ मतान्तरले पराजित गर्दै अघिल्लो हारको बदला लिए ।
पूर्णबहादुर र तिलकबीचको प्रतिष्पर्धाको शृंङ्खला छोरा पुस्तासम्म आइपुगेको छ । उनीहरूबीच हारजित बराबर भए पनि छोरा घनश्यामले पहिलो प्रयासमै जीत निकाल्न सफल भए । घनश्यामको यो पहिलो संसदीय जीत हो । तत्कालीन कांग्रेस क्षेत्रीय सभापति पूर्णबहादुरको सशस्त्र विद्रोही माओवादी पक्षबाट २०५९ असोज १२ गते दुल्लूको बालेश्वरमा हत्या गरिएको थियो । बुबाको हत्यापछि घनश्याम पत्रकारिता हुँदै कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । उनी पनि दुई कार्यकाल कांग्रेस क्षेत्रीय सभापति भइसकेका छन् ।
उनले संयोगवश २५ वर्षपछि बुवाका प्रतिष्पर्धीसँग चुनाव लड्नुपरेको बताए । ‘एमालेले युवा पुस्तालाई विश्वास गरेनछ, २०४९ सालदेखि बुबासँगै चुनाव लडिरहेका व्यक्तिसँग आफूले यसपल्ट लड्नुपर्यो’, घनश्यामले भने, ‘लामो समय पत्रकारिता र स्थानीय तहमा निर्वाचित भएर जनताप्रति सेवाभावका कारण निर्वाचित हुन सजिलो भयो ।’
प्रदेश सभा सदस्यका रुपमा आफूले पञ्चकोशी ज्वाला क्षेत्रको पर्यटन विकास, दूल्लू र भैरवी क्षेत्रको खानेपानी तथा सडक विस्तारलाई प्राथमिकता दिने बताए । राजनीतिक रुपमा संघीयता आए पनि प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयनमा थुप्रै जटिलता रहेकाले यसका लागि प्रदेश सभा सदस्यका रुपमा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।