
चितवनको रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ ।
नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि ३० लाखको उपचार कोष स्थापना गरिएको हो ।
बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आइतवार औपचारिक शुभारम्भ गरिएको छ ।
कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम शुरू गरिएको छ । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाइएको बताए ।
उनले भने, ‘आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् भनेर कोष स्थापना गरिएको हो ।’ सबै नागरिकको बाँच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै उनले थपे, ‘पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौं ।’
कोषबाट नगरभित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । १ जनालाई उपचारका लागि १० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना रहेको छ ।
उपचार गर्नै नसक्नेका लागि थप रकमसमेत कोषबाट सहयोग गरिने छ ।
कोषको प्रभावकारिता हेरेर अर्को वर्ष रकम दोब्बर गरिने उनले कार्यक्रममा घोषणा गरेका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा ३ हजार २०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनी समेत गरिसकेको छ ।