पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मंसिर २०, २०७९
तोसिमा कार्कीजी, नमस्कार !
सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा बोलाएर कुरा गरौं, कस्तो सोच भएको मानिस हुनुहुँदोरहेछ पत्ता लगाऔं र चित्त बुझे भोट पनि दिनुपर्छ भन्दै हुनुहुन्थ्यो । नयाँ अनुहार र जोश जाँगर देखेर होला, तपाईंप्रति हाम्रो टोलतिर पनि निकै चर्चा थियो । चुनावी रिपोर्टिङका लागि म देश दौडाहामा थिएँ । चुनावको दुई दिनअघि मात्र काठमाडौं आइपुगें । त्यसैले भेट हुन पाएन । म तपाईंको निर्वाचन क्षेत्रको बासिन्दा (मतदाता हुँ ) । ढिलोचाँडो भेट हुने नै छ ।
म ललितपुर महानगरपालिकाको अन्तिम बिन्दु (वडा नं. २२ स्थित चुनिखेल, तपस्थली) आवासभित्र बस्छु । त्यो नयाँ बस्ती हो । तर ललितपुर जिल्लामा बस्न लागेको १३ वर्ष पुगेछ । तपाईंलाई मैले १३ वर्षदेखि देखे/भोगेको ललितपुरको अवस्थाबारे क्रमशः बताउँदै जानेछु । यो आलेखमा चाहिँ म धुलो र त्यसले पारेको असरको मात्र चर्चा गर्नेछु ।
मेरो सानो परिवार छ । दुई सन्तान, श्रीमती र म । श्रीमती र म दुवै कामको सिलसिलामा अति नै व्यस्त हुन्छौं । केही वर्ष अघिसम्म त यूएनको जागिरका कारण मभन्दा पनि श्रीमती असाध्यै व्यस्त हुन्थिन् । बच्चा भएपछिचाहिँ उनले परिवारलाई (खासगरी बच्चाको स्वास्थ्यमा) बढी समय दिन थालिन् । हरेक बाबुआमालाई आफ्ना सन्तानको माया हुन्छ । हामी कसरी अपवाद हुन सक्छौं र ?
बच्चाहरूको हुर्काइ, स्याहार र भविष्यका लागि म बढी काममा खट्ने र मेरो श्रीमतीले जागिरलाई कम समय दिने सहमति भयो र श्रीमतीले जागिरलाई भन्दा बच्चाहरूलाई बढी समय दिन थालिन् । मैले आलेखेको शुरूमै आफ्नै परिवार र सन्तानको बारेमा प्रसंग उल्लेख गर्नुको कारण छ । त्यही कारणवरिपरि नै यो आलेख केन्द्रित छ ।
पर्याप्त समय दिँदादिँदै पनि मेरा दुई छोराहरू प्रत्येक महिना बिरामी परिरहन्छन् । जब बच्चाहरू बिरामी हुन्छन्, राम्रोसँग खाँदैनन्, निन्याउरो भैरहन्छन्, त्यसपछि घरमा एकाएक खुशी हराउँदोरहेछ । जब बच्चाहरू कैयौं दिन खाना नखाई खोकेकोखोक्यै मात्र गर्छन् नि, आमाबुवालाई त्यसले छटपटी हुँदोरहेछ । हो, कैयौं वर्षदेखि हामी त्यही छटपटीबाट गुज्रिरहेका छौं । यो शहरमा त्यसरी छट्पटाउने अभिभावक हामी मात्र चाहिँ होइनौं । यो हामीजस्ता हजारौं अभिभावकको साझा समस्या थियो, छ र अब पनि कसैले पहल नगरे अझै कैयौं वर्षसम्म रहिरहेनछ ।
चुनावअघि म डडेल्धुरामा पुगेर सागर ढकाल र शेरबहादुर देउवाको चुनावी प्रतिस्पर्धाको रिपोर्टिङ गर्दै थिएँ । दिउँसो काठमाडौंबाट श्रीमतीको फोन आयो । उनले मलाई फोनमा रुघाखोकी, एलर्जी र घाँटी खसखस हुने समस्याले छोराहरू बिरामी परेको जानकारी गराइन् । श्रीमतीको घरायसी रिपोर्टिङले मेरो चुनावी रिपोर्टिङको रस नै मार्यो ।
साँझपख होटलको कोठामा बसेर म सागर र शेरबहादुरको स्टोरी लेख्दै थिएँ । काठमाडौंबाट श्रीमतीले ह्वाट्सएपमा भिडियो कल गरिन् र मसँग दुई छोराले कुरा गर्न चाहेको बताइन् । यसो हेर्छु, दुवै छोराका आँखा रसाएका । खोक्दाखोक्दै गलेका । मसँग दुई मिनेट कुरा गरुञ्जेल कान्छोले कैयौंपटक खोकिरह्यो । ठूलो छोरो पूरै लोलाएको देखिन्थ्यो । ऊ राम्रोसँग बोल्न सकेन । खोक्दाखोक्दै कान्छोको पनि बोली फुटेन । म घर छाडेर हिँडेको ९ दिन भैसकेको थियो । छोराहरूको त्यो अवस्था देखेपछि सागर र शेरबहादुरका बारेमा जुन जाँगरका साथ आलेख लेख्ने तयार गर्दै थिएँ, मेरो जाँगरै मर्यो । मैले लेख्न सकिनँ ।
मेरो छोराहरूसँगको कुराकानी सकिन नपाउँदै मसँगै रहेका सहकर्मी सुशील पन्तको फोन बज्यो । मञ्जुजी (सुशीलकी श्रीमती) ले छोरीसँग कुरा गर्नुस् भन्नका लागि सुशीललाई फोन गर्नुभएको रहेछ । सुशील छोरीसँग कुरा गर्दै जाँदा एकाएक म जसरी नै नर्भस भयो । कारण उही थियो– सुशीलको छोरी पनि रुखाखोकी र एलर्जीबाट ग्रस्त भएकी रहिछन् र कैयौं दिनदेखि राम्रोसँग खाना नखाई, स्कूल नगई घरमै बसेकी रहिछन् । जति औषधि खुवाउँदा पनि निको नभएपछि मञ्जुजीले आत्तिँदै फोन गर्नुभएको रहेछ । हाम्रो कार्यालयमा काम गर्ने अधिकांश सहकर्मी यस्तै समस्या सुनाइरहनुहुन्छ ।
तोसिमाजी, तपाईंलाई लाग्ला बच्चाहरूमा देखिने यो त सामान्य समस्या हो । खासमा जतिसुकै आदर्शका कुरा गरे पनि मानिस पहिला आफ्नै समस्या सुनाउन चाहन्छ । त्यसैले मैले आफ्नो परिवार र सहकर्मीको प्रसंगबाट विषयको उठान गरेको हुँ । तर, मलाई यो राम्रोसँग थाहा छ कि धुलोधुवाँ र फोहाेरका कारण मेरा सन्तानभन्दा कैयौं गुणा बढी नख्खु पुल वरपरका सयौं बालबच्चा प्रताडित छन् । नख्खु त्यही क्षेत्र हो जुन मैले देखेअनुसार भन्ने हो भने १० वर्षभन्दा बढी समयदेखि चौबीसै घण्टा धुलो, धुवाँ र फोहोरबाट आक्रान्त छ । सिंगो काठमाडौं र ललितपुर शहरको साझा समस्या पनि यही हो । भक्तपुर पनि अछुतो छैन । देशका अधिकांश भागको अवस्था अहिले यही छ ।
फ्रिजको चिसो खुवाएर, जे पायो त्यही खाना खुवाएर या हेरविचार नपुर्याएर पो बिरामी परेका हुन् कि भन्ने लाग्नसक्छ, तर त्यो पटक्कै हैन । हामी यो विषयमा सधैँ सचेत रहन्छौं । हाम्रा बच्चा बिरामी परिरहनुको प्रमुख कारण बाटो विस्तार गर्ने नाममा भत्काइएका सडकबाट निस्केको धुलो, धुवाँ, हिलो, फोहर र अस्तव्यस्त वातावरणले नै हो । जुन नियमित चेकजाँचमा लैजाँदा चिकित्सकहरूले पनि भन्ने गर्नुभएको छ । पिच सडकको दायाँबायाँ जमेको धुलोबाट उड्ने विषादीयुक्त धुलोका कारण हाम्रा बालबच्चामा असर परिरहेको छ । दैनिक स्कूल जाँदाआउँदा त्यही धुलो र धुवाँका कारण हाम्रा बच्चा फ्रेस हुँदैनन् ।
तोसिमाजी,
केही दिनअघि तपाईंले सडक विस्तार आयोजनाका प्रमुखसँग भेट गरेर भैँसेपाटी उकालोको सडक समयमै सम्पन्न गर्न आग्रह गरेको आशयको सन्देश फेसबूकमा पोस्ट गर्नुभएछ । मेरो श्रीमतीले मेरो ह्वाट्सएपमा तपाईंको त्यो स्टेटसको स्क्रिनशर्ट पठाइन् । क्लिक गरेर राम्रोसँग हेरें र पढें ।
तपाईंको त्यो स्टेटस देखेपछि र यो आलेख लेख्दै गर्दा मेरो घरका दुई फुच्चे फेरि त्यही धुलो, धुवाँ र एलर्जीका कारण थलिएका छन् । म डढेल्धुरामा छँदा र काठमाडौं फर्केपछिको जम्मा तीन हप्ताको बीचमा मेरा सन्तान दुईपटक यही धुलोधुवाँबाट प्रताडित भइसकेका छन् । लामो समययदेखि यो सिलसिला चलेको चल्यै छ । कान्छो एक सातादेखि स्कूल जान सकेको छैन । ठूलो छोराले स्कूलका कैयौं कार्यक्रम मिस गरिरहेको छ । हुँदाहुँदा हिजोदेखि तिनै दुई छोराको स्याहारसुसारमा अहोरात्र खटिने श्रीमती पनि धुलोधुवाँको एलर्जीकै कारण ढलेकी छन् । हेर्नुस् त, विडम्बना । अनि हेर्नुस्, तपाईंले आयोजना प्रमुखलाई भेटेको स्टेटस पोस्ट गर्दैगर्दा मेरो परिवारको हालत । म त पत्रकारितामा छु र लेख्छु । यसरी नलेख्ने, नभन्ने तर मेरो परिवारको जस्तै हालतबाट गुज्रनेको संख्या कति होला यो शहरमा ?
तोसिमाजी, तपाईं त पेशाले चिकित्सक पनि हो क्यारे । काठमाडौं र ललितपुरका अस्पतालहरूको बाल उपचार शाखा या बाल चिकित्सक कक्षबाहिर आफ्ना स–साना नानीबाबु च्यापेर लाइनमा उभिने आमाबाबुको लर्को तपाईंले देखेकै हुनुपर्छ । त्यहाँ अधिकांश यही धुलोधुवाँ र प्रदुषणका कारण पीडित भएर पुग्नेहरू भेटिन्छन् । छोरा अस्वस्थ भएर अल्का अस्पतालका चिकित्सक डा. अरुण शर्मालाई वर्षमा २०/२२ पटक भेट्न गएको अनुभव हामीसँग छ । प्रत्येक भेटमा हाम्रो छोराको स्वास्थ्य जाँचपछि डाक्टरको जवाफ हुनेगर्छ– बच्चामा कुनै गम्भीर रोग या समस्या छैन । यो केबल धुलोधुवाँ र एलर्जीका कारण हो ।
यो हाम्रो मात्र अनुभव र भोगाइ होइन । त्यसैगरी बाल चिकित्सककोमा धाइरहने हजारौं, लाखौं अभिभावकको पीडा यही थियो र छ ।
सांसद चुनिएपछि तपाईंले गर्न खोजेको काममा मेरो समर्थन मात्र होइन, सहयोग पनि रहनेछ । तर, त्यसरी आयोजना प्रमुखलाई भेटेर कुरा गर्दैमा तपाईंले चाहेजस्तो सडक समयमै मर्मत होला भनेर विश्वास नगरिहाल्नुहोस् । भेट्दैमा समस्या समाधान भैहाल्छ भन्ने तपाईंलाई लागेको हो भने कृपया त्यो भ्रमबाट आजै मुक्त हुनुहोला ।
भैँसेपाटी पुग्ने उकालो बाटो फराकिलो पार्ने नाममा भत्काएको ६ वर्षभन्दा बढी भयो । त्यहाँ ६ वर्षदेखि धुलोधुवाँ उडेको उड्यै छ । वर्षाको समयमा त्यही सडकमा हिलो जमेर दुर्घटनामा पर्नेको संख्या धेरै छ । हिलाम्मे बाटोमा सवारी दुर्घटनामा परेका कैयन निर्दोष आमाबुवा र तिनका सन्तानलाई म स्वयंले नजिकैको मेडिसिटी र अल्का अस्पताल पुर्याएको छु । भैँसेपाटीको डिसहोमदेखि चुनिखेल खण्ड फराकिलो पार्ने नाममा सडक भत्काएको चार वर्ष नाघिसक्यो । भैँसेपाटी आवास गेटदेखि डिसहोमसम्मको खण्ड पिच त छ, तर त्यो सडकको दायाँबायाँ जमेको धुलो हेर्नुभएको छ तोसिमाजी ? हो, तिनै सडकबाट उड्ने धुलोधुवाँ, फोहर र दुर्गन्धित वातावरणले हाम्रा घर, भान्सा, सिरानी भिजेका छन् । मेरा र मेराजस्ता हजारौं अभिभावकका सन्तान यो शहरमा हरेक दिन तड्पिन बाध्य पारिएका छन् । सडक भत्काएर र अलपत्र पारेर ठेकेदार कता बेपत्ता छ ? पशुपतिनाथलाई पनि थाहा छैन । तपाईं सडक विस्तार आयोजनाका प्रमुखलाई भेट्न पुग्नुभएछ । म सोध्न चाहन्छु, ठेकेदार कहाँ रहेछ ? के गर्दै रहेछ ? केही पत्तो पाउनुभयो ?
तपाईंले जुन आयोजना प्रमुखलाई भेट्नुभयो उनलाई मैले केही महिनाअघि सडक छिटो सम्पन्न गर्न, व्यापक निरीक्षण गर्न र ठेकेदारलाई निरन्तर दबाब दिन आग्रह गरेको थिएँ । वर्षातको समय थियो । घरबाट कार्यालय आउँदा आमा र छोरी स्कूटी दुर्घटनामा परेका थिए । रगताम्मे उनीहरूलाई अस्पताल पुर्याएर कार्यालय पुग्दा मेरो मन भक्कानिएको थियो । त्यही समयमा आयोजना प्रमुखलाई फोन गरेर अलि आक्रोशित हुँदै चाँडो काम गर्न र ठेकेदारलाई दबाब दिन अनुरोध गरेको थिएँ । हामीले तिरेको करबाट सेवासुविधा बुझ्ने सार्वजनिक पदमा बसेको कर्मचारीले म जस्ता नागरिकको आक्रोशको भाव बुझ्नु त कता हो कता उल्टै ती आयोजना प्रमुख मेराविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिन पुगेका थिए । थाहा छैन, ती आयोजना प्रमुखले तपाईंसँग चाहिँ कस्तो व्यवहार गरे कुन्नि ।
पढ्नुहोस्, यो लिंक :
सांसद पदमा निर्वाचित हुनासाथ तपाईंले देखाएको सक्रियताप्रति मैले व्यंग्य गर्न खोजेको होइन । सांसदको सीमा मलाई थाहा छ । सासंद पदको शपथ पनि नलिँदै जनताका समस्या समाधानमा जुन पहल गर्न खोज्दैहुनुहुन्छ, म त्यसको समर्थन गर्छु । कतिपयले तपाईंको पार्टीका सभापति रवि लामिछाने, तपाईं स्वयं र तपाईंका साथीहरूले शुरूमै देखाएको सक्रियतालाई मन नपराएको पनि देखियो । सांसदको काम त नीति नियम बनाउने पो हो, आफैँ कार्यालय धाउने हो र ? भनेर उडाएको पनि पाइयो ।
बिल्कुल नआत्तिनु होला । सांसदले केवल संसद्मा उभिएर यस्तो कानून बनाऊँ, यसो गरौं, उसो गरौं भन्दैमा समस्या समाधान हुने होइन । तपाईं र तपाईंको पार्टीका २०/२१ जना सांसदले चहाँदैमा कानून संशोधन भैहाल्ने पनि होइन । दबाबचाहिँ पर्न सक्छ ।
सांसद भएपछि संसदबाहेक अन्त जानै हुन्न, सानासाना विषयमा ध्यान दिनैहुन्न, सडकको निरीक्षणमा निस्कनै हुँदैन भन्ने सोचाइ आफैँमा नकरात्मक ग्रन्थीको उपज हो ।
पुराना पार्टी र तिनका नेताबाट जनताले धेरै ठूलो आशा केही गरेकै होइनन्, घरै अगाडिको सडकबाट चौबीसै घण्टा उड्ने धुलो मात्र नियन्त्रण हुँदा पनि जनता गद्गद हुन्छन् । तपाईं र हाम्रा बच्चाको स्वास्थ्यमा धुलोको असर पर्न पाउँदैन ।
तोसिमाजी,
तपाईं हाम्रो प्रतिनिधि हो । अब तपाईंलाई म यो आलेखमा केही सुझाव दिन चाहन्छु । तपाईं साँच्चै मन, वचन र कर्मले जनताको सेवा गर्ने पवित्र उद्देश्यका साथ मैदानमा उत्रनुभएको हो भने तत्कालका लागि निम्न विषयमा ध्यान दिँदा उपयुक्त होला :
१. पहिलो चरणमा ललितपुर महानगरभित्र कहाँ–कहाँ सडक भत्काएर अलपत्र पारिएको छ, त्यसको तथ्यांक संकलन गर्नुस् ।
२. भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, सडक विस्तार आयोजना र ठेकेदारलाई लिएर सडक निरीक्षणमा निस्कनुस् ।
३. तपाईं जुन सडकको निरीक्षण गर्दै हुनुहुन्छ, त्यहाँका सम्बन्धित सरकारी कर्मचारी र ठेकेदारलाई यो काम किन समयमै भैरहेको छैन भनेर सोध्नुहोस् । उनीहरूले दिने जवाफ नोट गर्नुहोस् ।
४. कर्मचारी र ठेकेदारसँग अब कुन मितिभित्र अलपत्र पारिएको सडक मर्मत र पिच हुन्छ भनेर कमिटमेन्ट (समयसीमा तोकेको जवाफ) लिनुहोस् ।
५. त्यसरी उनीहरूबाट कमिटमेन्ट लिएको १५ दिनपछि फेरि अनुगमनका लागि तिनै कर्मचारी र ठेकेदालाई लिएर फिल्डमा पुग्नुहोस् ।
६. प्रगति भए/नभएको आफैंले नियाल्नुहोस् । प्रगति नभएको रहेछ भने ती कर्मचारी र ठेकेदारलाई समयमै काम सक्न चेतावनी दिनुहोस् ।
७. त्यस्तो चेतावनी दिएको अर्को १५ दिनमा फेरि अनुगमनमा निस्कनुहोस् । फेरि पनि प्रगति भएको पाउनुभएन भने सडकका कर्मचारी, ठेकेदार र संलग्न सबैले तपाईंको दबाबका बावजुत काम नगरेको भनेर पत्रकारलाई बोलाएर सविस्तार जानकारी गराउनुहोस् ।
८. सडक निर्माण या विस्तारको ठेक्का सम्झौता हुनासाथ ठेकेदारले अयोजनाबाट पैसा बुझिसकेको हुन्छ र त्यसको निश्चित प्रतिशत कमिसन उसले सम्बन्धित आयोजनाका कर्मचारीलाई घूस स्वरूप दिएको हुन्छ । यो तथ्य हामीले हाम्रो खोज रिपोर्टहरूमा सार्वजनिक गरिसकेका छौं ।
९. कुन आयोजनाको ठेक्का सम्झौता हुनासाथ कुन ठेकेदारले कति रकम बुझिसकेको रहेछ, त्यसको सबै हिसाबकिताब माग्नुस् । र, त्यसको विवरण पनि मिडियालाई दिनुस् ।
१०. यो अभियानलाई ६ महिनासम्म निरन्तर जारी राख्नुहोस् । पत्रकारसँग नियमित सम्पर्कमा बस्नुहोस् । झक्झक्याएको झक्झक्याइ गरिरहनुहोस् । यति गर्दा कसो परिवर्तन नआउला ?
११. आफ्नो क्षेत्रमा सबैभन्दा बढी धुलो उड्ने क्षेत्रको पहिचान गर्नुहोस् ।
१२. धुलो उड्ने क्षेत्रको निरीक्षणमा निस्कनुहोस् ।
१३. के कारणले धुलो उडेको रहेछ, त्यसको पहिचान गर्नुहोस् ।
१४. त्यसपछि ललितपुर महानगरपालिका (वा सम्बन्धित पालिका)को कार्यालयमा जानुस् ।
१५. त्यहाँ धुलो सफा गर्ने मशिन कतिवटा छन् र कहाँ अनि कसरी थन्केर बसेका छन् भनेर विवरण लिनुस् ।
१६. मशिनले सफा गर्दैमा हुने ठाउँमा तपाईं स्वयं आफैँ मशिनसँगै पुग्नुहोस् र सफा गर्न लगाउनुहोस्, आफ्नै उपस्थितिमा । (यद्यपिचाहिँ मशिनले धुलो सफा गर्दैमा धुलो सदाका लागि नियन्त्रण हुन्छ भन्नेमा विश्वास गर्दिनँ र धुलोको स्रोत पहिचान गरी दिगो समाधान खोज्नुपर्छ भन्ने मान्यता राख्छु । तर, महंगो मूल्यमा खरिद गरिएका मशिन थन्क्याएर राख्नुभन्दा उपयोगमा ल्याउनु राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो ।)
१७. मशिनले सफा गर्दैमा नहुने/नपुग्ने स्थान रहेछ भने सडक पिच या के गर्दा धुलो नियन्त्रण हुन्छ, त्यसका लागि सम्बन्धित सरकारी कार्यालयमा जाने, बैठक गर्ने, समाधानको उपाय पहिचान गर्ने र कामका लागि दबाब दिने गर्नुस् । यसलाई निरन्तर जारी राख्नुहोस् । तपाईंलाई थाक्ने छूट छैन ।
तोसिमाजी,
यति गर्दा कानून हातमा लिएको ठहर्दैन । यी सबै सभ्य, संयम, नम्र र व्यावहारिक भएर गर्न सकिने काम हुन् । यी धुलो नियन्त्रणसँग सम्बन्धित सुझाव मात्र हुन् । अरू आलेखमा तपाईंले गर्नुपर्ने यस्ता थुप्रै विषयमा चर्चा गरौंला । माथिका सुझाव पढेपछि तपाईंलाई लाग्ला यी त ललितपुरका मेयरले गर्ने काम हुन् । या ललितपुर महानगरपालिकाले गर्ने काममा म कहाँ मुछिनु ? त्यो सही पनि हो । तर ललितपुर महानगरपालिका या उसका प्रमुखले यति काम गरेको भए तपाईंलाई यो सुझाव दिनैपर्ने थिएन । एकपटक प्रयास गरेर त हेरौं । राम्रो काममा अघि बढ्दा कसले के भन्छ, त्यो बिर्सनुहोस् । काममा फोकस हुनुहोस् । आलोचकलाई बोलीले होइन, कामले जवाफ दिनुहोस् ।
यो आलेख पढेपछि, तपाईंको मनमा एउटा प्रश्न उब्जने छ । यो पत्रकारले मलाई त खुब ठूल्ठूला अर्ती दिएछ, आफूलेचाहिँ पत्रकारिताको माध्ययमबाट किन केही नगरेको होला ? माफ गर्नुहोस्, धुलो नियन्त्रणका लागि मैले पत्रकारिताका माध्ययमबाट केही नै नगरेको चाहिँ होइन । हामी पत्रकारले लेखेर दबाब दिने बाहेक के नै गर्न सक्छौं र ? यी हेर्नुस् त, हामीले लेखेका यी लेख र रिपोर्टहरू यसै आलेखको अन्तिममा राखेको छु ।
तर अहँ, यी लेख र रिपोर्टले गैंडाको छाला भएका नेता, कर्मचारी र ठेकेदारलाई पटक्कै छोएन । त्यसैले एकपटक तपाईंको ध्यानाकर्षण गराएको हो है । अब गरेर देखाउने कि फेसबूकमा स्टेटस लेखेर बस्ने, तपाईं नै रोज्नुस् ।
लोकान्तरमा प्रकाशित धुलोधुवाँसँग सम्बन्धित सामग्री :
अन्त्यमा,
आदरणीय पाठकवृन्द, यो देश अब तपाईं हामी सोझा, इमान्दार र कर्म गरेर खाने निर्दोष नागरिकका लागि रहेन । यो देश त केवल भ्रष्ट, दलाल, विचौलिया, लुटेरा र पापीहरूका लागि स्वर्गजस्तै बन्यो । अब अति भयो । म मेरो पेशाबाट जेहाद छेड्छु । तपाईं आमनागरिक पनि सचेत हुनुहोस्, उठ्नुस्, जाग्नुस् । भ्रष्टलाई निमिट्यान्न पारौं । ओझा र थापाजस्ता गैरजिम्मेवार कर्मचारीलाई सदाका लागि बिदाइ गरौं । र लागौं, यो देशको काँचुली फेर्ने, तपाईं हाम्रा बुवाआमा, दाजुभाइ र दिदीबहिनीका चहर्याइरहेका घाउहरूमा मलम लगाउने वास्तविक राजनेताको खोजीमा । नत्र हामीले सधैँ दुःख पाइरहनेछौं । ओझा र थापाजस्ता नालायकहरूको हालीमुहाली चलिरहनेछ । हाम्रो आवाज दबाइनेछ । रोज्ने कुन– अत्याचार, अन्याय, पीडा, भ्रष्टाचार कि समाजमा सुशासन, कानूनी राज, समृद्धि र परिवर्तन ? तपाईं र मैले चाल्ने कदममै भर पर्नेछ ।
हेर्नुहोस्, धुलोधुवाँ, हिलो र सडकहरूको बेहालबारे लोकान्तरमा अहिलेसम्म प्रकाशित सामग्री :
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...