१७ असार २०८३, बुधबार
रोचक बहसमा कांग्रेस संसदीय दलको नेतृत्व

शेखरको सन्देश– देउवा राष्ट्रपति, गगनको बेला आउँदैछ, यसपटक आफैँ संसदीय दलको नेता

मंसिर २२, २०७९
शेखरको सन्देश– देउवा राष्ट्रपति, गगनको बेला आउँदैछ, यसपटक आफैँ संसदीय दलको नेता

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको समयमा संस्थापतइतर समूहबाट वरिष्ठ नेता शेखर कोइराला अघि सरेका छन् । उता, महामन्त्री गगन थापाले पनि संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । 

संस्थापनइतरका दुवै नेताले संसदीय दलको नेताका लागि आ–आफ्नै ढंगले तयारी थालेको स्रोतको दाबी छ । अर्कातर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पनि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताइरहेका छन् ।

संसदीय दलको नेतामा उठ्ने भन्दै देउवाले सांसदहरूसँग सहयोग माग्न थालेका छन् । सोमवार बधाई दिन बालुवाटार गएका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग देउवाले संसदीय दलको निर्वाचनका लागि सहयोग मागिसकेका छन् भने अन्य सांसदलाई पनि फोन गरिरहेका छन् । प्रधानमन्त्री बन्नका लागि पौडेलले पनि दौडधूप बढाएका छन् ।

उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरूले संस्थापन पक्षबाट देउवा नै संसदीय दलको नेता बन्ने बताएका छन् । संस्थापनइतरमा भने संसदीय दलको नेताका लागि नेताहरूको हानथाप छ ।

उम्मेदवारी दिन कोइरालालाई दबाब

१४ औं महाधिवेशनपछि कांग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई संसदीय दलको नेतामा उम्मेदवारी दिन दबाब परेको छ । 

‘यतिबेला कांग्रेसमा प्रस्ट रूपमा दुई धार छन् । एउटा धारको नेतृत्व देउवाले गरिरहनुभएको छ भने अर्को धारको नेतृत्व शेखर कोइरालाले गरिरहनुभएको छ,’ कोइराला पक्षीय एक नेताले भने, ‘उताबाट देउवा अगाडि बढ्दा यताबाट स्वतः शेखर संसदीय दलको नेतामा अघि बढ्ने हक लाग्छ ।’ 

संसदीय दलको नेतामा उम्मेदवारी दिने कि नदिने भन्नेबारे शेखरले औपचारिक निर्णय सार्वजनिक गरिनसके पनि भित्रभित्रै व्यापक तयारी गरिरहेको स्रोतको दाबी छ ।

चुनाव जितेलगत्तै विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसदीय दलको चुनावमा अंकको महत्त्व हुने भन्दै काठमाडौंमा गएर छलफल गर्ने बताएका थिए । 

शेखरले शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेतासँग छलफल गरेपछि निर्णय लिने बताएका छन् । विश्वस्त स्रोतका अनुसार शेखरले देउवालाई भेटेर राष्ट्रपति बन्न सुझाव दिने तयारी गरेका छन् ।

‘पाँचपटक प्रधानमन्त्री भइसकेको र दुईपटक पार्टी सभापति भइसकेको व्यक्ति फेरि प्रधानमन्त्री बन्नुभन्दा सम्मानित पदमा जानु उपयुक्त हुन्छ,’ कोइराला समूहका एक नेताले भने, ‘राष्ट्रपति बन्दा उहाँलाई पनि ‘ग्रेसफुल एक्जिट’ हुन्छ । पार्टीभित्र पनि निकास हुन्छ । त्यही सुझाव उहाँले दिँदै हुनुहुन्छ ।’

कोइरालाले राष्ट्रपति भाइटल पोस्ट भएको भन्दै कांग्रेसले लिनुपर्ने बताउँदै आएका छन् । तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरणदेखि हालै विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको घटनाले सत्ताको पावर शीतलनिवासमा रहेको देखाएको कोइराला पक्षको विश्लेषण छ ।

विराटनगरबाट फर्किने क्रममा शेखर, गगन, चन्द्र भण्डारीसहितका नेता

‘अहिले प्रधानमन्त्री लिएर राष्ट्रपति पद माओवादीलाई नछाडौं भन्ने हामीहरूको निष्कर्ष छ । यसबारे पार्टी सभापति देउवासँग छलफल गर्ने तयारी गरेका छौं,’ ती नेताले भने ।  

‘पाँचपटक प्रधानमन्त्री भइसकेको र दुईपटक पार्टी सभापति भइसकेको व्यक्ति फेरि प्रधानमन्त्री बन्नुभन्दा सम्मानित पदमा जानु उपयुक्त हुन्छ,’ कोइराला समूहका एक नेताले भने, ‘राष्ट्रपति बन्दा उहाँलाई पनि ‘ग्रेसफुल एक्जिट’ हुन्छ । पार्टीभित्र पनि निकास हुन्छ । त्यही सुझाव उहाँले दिँदै हुनुहुन्छ ।’

कोइराला पक्षका कतिपय नेताहरू संसदीय दलको नेताका लागि गगन थापा परिपक्व भइनसकेको दाबी गर्छन् । यो कार्यकालका लागि शेखरले नै संसदीय दलको नेताको लागि उम्मेदवारी दिनुपर्ने उनीहरूको भनाइ छ । शेखरले कुनै पनि हालतमा संसदीय दलको नेताको दाबी छाड्न नहुने दबाब सो समूहभित्र बढ्दै गएको स्रोतको भनाइ छ ।

‘समकालीन नेताहरूको विकल्पमा देशलाई निकास दिन सक्ने दोस्रो पुस्ताको नेता शेखर हो । त्यसैले उहाँले संसदीय दलको चुनाव लड्नुहुन्छ,’ प्रतिनिधिसभा चुनाव जितेका कोइराला पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

चुनावअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको पर्दापछाडिको नायक शेखर कोइराला रहेको बताएका थिए । कोइराला परिवारको लिगेसी बोकेका शेखर कोइराला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत ‘रिकग्नाइज्ड’ नेता भएको यो समूहको बुझाइ छ । 

पछि नहट्ने गगनको अडान

प्रतिनिधिसभा चुनावको मिति घोषणा भएदेखि नै गगनले प्रधानमन्त्रीमा ‘एटेम्ट’ गर्ने बताएका थिए । काठमाडौं– ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएपछि, मतदान गरिसकेपछि र चुनाव जितिसकेपछि पनि गगनले संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका थिए । 

गगनलाई बधाई दिने क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने घोषणा गरे । अर्का महामन्त्रीको समेत समर्थन पाएका गगन पछि हट्ने मनस्थितिमा छैनन् ।

‘अहिले चुनावमा व्यक्त जनमतको सन्देश पनि राजनीतिमा युवा पुस्ताको हस्तक्षेप जरुरी छ भन्ने हो । मुलुकका समस्या समाधानको स्पष्ट रोडम्यापसहित संसदीय दलमा उम्मेदवारी दिन लाग्नुभएको हो,’ गगननिकट एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘संसदीय दलको अंकगणित जे होला, तर राजनीतिक रूपमा भने जीत हुन्छ । संसदीय दलको नेतामा लड्ने निर्णयबाट उहाँ कुनै हालतमा पछि हट्नुहुन्न ।’ 

आममतदाता र कांग्रेसका युवा कार्यकर्ताको भावनाअनुसार नै उम्मेदवारी दिन लागेको गगनले बताएका छन् ।

मंगलवार विराटनगरमा आयोजित एक कार्यक्रममा गगनले आफूलाई आलोकाँचो भनिएकोमा गुनासो गरेका थिए ।

‘देश बिग्रियो पनि भन्ने, अनि हामीले बनाउँछौं भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ?’ गुरु घिमिरेको पुस्तक विमोचन समारोहमा गगनले प्रश्न गरेका थिए ।

एउटै उम्मेदवार बनाउने कोशिश

कोइराला र गगन दुवैको तयारी हेर्दा उनीहरू पछि हट्ने सम्भावना देखिएको छैन । पार्टीभित्र संस्थापनइतर समूहका नेताहरूले संसदीय दलमा एउटै उम्मेदवार बनाउन दबाब दिइरहेका छन् ।

१५ औं महाधिवेशनको तयारीसहित संसदीय दलमा मिलेर एउटै उम्मेदवारी दिन शेखर र गगनलाई दबाब परेको छ । मंगलवार विराटनगरमा शेखर, गगन र चन्द्र भण्डारीको अगाडि गुरु घिमिरेले संसदीय दलमा एक ढिक्का हुने बताउँदा कार्यकर्ताले ताली बजाएका थिए । 

‘संसदीय दलको चुनावमा के होला भन्ने तपाईंहरूको चासो छ । ढुक्क हुनुस्, एक ढिक्का हुन्छौं,’ शेखर कोइराला, गगन थापालगायत नेताहरूलाई हेर्दै घिमिरेले भनेका थिए । 

प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सहित प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद निर्वाचित हुँदैछन् । 

संसदीय दलमा आफूहरूको ६० प्रतिशत हिस्सा रहने संस्थापन पक्षको दाबी छ । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने संविधानको व्यवस्था रहेका कारण कांग्रेस संसदीय दलको चुनावलाई महत्त्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्