
मंसिर ४ को आमनिर्वाचनमा कर्णाली सरकारका मुख्यमन्त्रीसहित अन्य दुई मन्त्री उम्मेदवार बनेका थिए ।
मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला २ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा २ बाट पुनः निर्वाचित भए ।
जुम्ला २ बाट उम्मेदवारी दिएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदम रोकाया प्रदेशसभामा दोहोरिन पाएनन् । उनलाई एमालेका टेकराज पछाइले पराजित गरे ।
कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह, ऊर्जा तथा जलस्रोत मन्त्री रातो कामी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री यसपटक उम्मेदवार नै बन्न पाएनन् ।
चुनाव सम्पन्न भएपछि कर्णाली सरकारका मन्त्रीहरू प्रदेश राजधानी फर्किसकेका छन् । पुनः निर्वाचित भएलगत्तै मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गरेका थिए ।
मतदातालाई धन्यवाद दिई फर्केलगत्तै उनी रंगशालाको ३२औं निरीक्षणमा निस्केका हुन् । उनले काठमाडौं बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंसिर १६ गते मध्यपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा भाग लिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर बधाई साटासाट गरी फर्किएका मुख्यमन्त्री शाहीले लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय कार्यशाला उद्घाटन र समापन समारोहमा सहभागिता जनाए ।
चुनावपछि कर्णाली प्रदेश मन्त्रिपरिषद्का दुई बैठक बसेका छन् ।
विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ती डोल्पाको धो उपत्यकामा प्रदेश सरकारको यो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठक बस्ने निर्णय भएको छ । यद्यपि बैठकको मिति भने टुंगो लगाइएको छैन ।

मुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर रोकायाले भने, ‘पर्यटन मन्त्रालयको प्रस्तावमा धो उपत्यकामा क्याबिनेट बैठक बस्ने निर्णय भएको छ । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सन्देश दिने उद्देश्यले त्यहाँ बैठक बस्नेछ ।’
मुख्यमन्त्री शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन बिहीवार काठमाडौं प्रस्थान गरेका छन् । डोल्पा २ बाट निर्वाचित उद्योगमन्त्री शाही भने निर्वाचित भएलगत्तै बिरामी परे ।
‘सुगर, टाइफाइडको समस्या देखियो, काठमाडौं गएर उपचार गरेर फर्किएँ,’ उनले भने, ‘मतदातालाई धन्यवाद दिन पाएको छैन, अब स्वास्थ्यमा पूर्ण सुधार भएपछि डोल्पा जान्छु ।’
भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री रोकाया निर्वाचनमा पराजित हुनेबित्तिकै गाउँतिर नभुली सुर्खेत फर्किए ।
रोकायाको सचिवालयले निर्वाचनमा पराजय बेहोरेपछि उनी मन्त्रालयको अफिसियल काममै व्यस्त रहेको जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाहले रंगशाला निरीक्षण र मन्त्रालयको कामकाजमै व्यस्त रहेको बताइन् ।
‘नेता, कार्यकर्ताहरूसँग भेटघाटका साथै अफिसियल काममै व्यस्त छु । बजेट कार्यान्वयनका लागि विभागीय मन्त्रालयलाई ताकेता दिइरहेका छौं,’ उनले भनिन्, ‘करारका कर्मचारीलाई स्थायीसरह प्रोत्साहन भत्ता दिने निर्णय गरेका छौं, हाम्रो प्रस्तावमा मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो, कर्मचारीबीच ठूलो विभेद थियो, अब समाधान भयो ।’
ऊर्जा तथा जलस्रोत मन्त्री रातो कामीले निर्वाचन आचारसंहिता र नाति बिरामी हुँदा राजनीतिक गतिविधिमा सहभागिता नरहेको बताए ।
उनले यसबीचमा जाजरकोटको बारेकोट सिँचाइ आयोजना र बाढीपहिरोले क्षति पुर्याएका रुकुम पश्चिम र जाजरकोटका केही बस्तीहरूको निरीक्षण गरेका थिए ।
सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री पनि यस अवधिमा मन्त्रालय आउजाउमै अधिकांश समय बिताए ।
उनी आज पश्चिम सुर्खेतको हरिहरपुरस्थित एक सामुदायिक विद्यालयको वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ लागेका छन् ।
कृषिमन्त्री चन्द्रबहादुर शाही मुगुमा मतदान गरेलगत्तै सुर्खेत फर्किए ।
‘मन्त्रालयको समीक्षा बैठक, क्याबिनेट र गठबन्धन दलका बैठकमा सहभागिता जनाउनुभएको छ,’ उनका निजी सचिव कमल विकले भने, ‘निर्वाचन आचारसंहिताका कारण धेरैजसो कामहरू भएनन् ।’