
लैंगिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरू झन् समस्यामा परिरहेको रुपन्देहीको भैरहवामा शनिवार आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले लैंगिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पीडितलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका मुद्दाको तथ्यांक हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्यांकले देखाएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्यांकअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैंगिक हिंसामा परेको देखिएको छ ।
यसैगरी रुपन्देही जिल्लामा एक सय ८६ वटा हिंसाका घटना सार्वजनिक भएका छन् भने कपिलवस्तुमा एक सय १५, नवलपरासीमा एक सय चार र बर्दियामा ९३ हिंसा भएको देखिन्छ । दाङ र अर्घाखाँचीमा ३४, पाल्पामा ३२, गुल्मी २५, रोल्पा २३, रुकुम १२ र प्यूठान नौवटा हिंसा भएको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार प्रदेशभरिमा चार महिनाको अवधिमा नौ सय ५० वटा हिंसाजन्य घटना भएका छन् । त्यसमध्ये ७८ हिंसाको घटना प्रहरीमा मिल्न नसकी अदालती प्रक्रियामा गएका छन् भने एक सय २० वटा पीडकहरू सम्पर्कमा नै आएका छैनन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटनाबारे कार्यपत्र प्रस्तुत गरेकी सामाजिक अभियन्ता ज्ञानु पौडेलले पितृसत्तात्मक सामाजिक मूल्यमान्यता र संरचनाको कारण नै लैंगिक हिंसामा महिला परेको बताइन् । ‘महिला हिंसाको घटनामा गराइने मिलापत्र पनि हिंसा बढ्नुको कारण हो’, उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसा बढाउन मद्दत गरेको छ ।’ रासस