
निर्देशक एवं कलाकार प्रभाकर देव शर्मा नयाँ पारिवारिक हाँस्य टेलिशृंखला ‘आम्मै’ लिएर दर्शक माझ आउँने भएका छन् । हिल्स होम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलिशृंखला ‘आम्मै’ आजबाट प्रत्येक सोमवार बेलुकी ८ः३० बजे इमेज च्यानल र ९ बजे ओएसआर मुभिजबाट प्रसारण हुनेछ ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा कार्यक्रम तथा योजना शाखा प्रमुखका रूपमा कार्यरत शर्मा टेलिशृंखला निर्देशनमा पनि सक्रिय छन् । उनले ‘लौ मार्यो, घात प्रतिघात, जीवनचक्र, लौन भुतुक्कै पार्यो, अपराधी को ? , आमा, मेमसाब, थोरै भए पुगिसरी’लगायत थुप्रै टेलिशृंखलाहरू निर्देशन गरिसकेका छन् । जुन त्यतिबेला दर्शकहरू माझ निकै नै लोकप्रिय थिए ।
‘धेरै पछि नयाँ हास्ँय पारिवारिक टेलिसिरियल आम्मै लिएर दर्शकमाझ उपस्थित भइरहेको छु र निकै नै आशावादी पनि छु, आदरणीय दर्शक महानुभावहरूले विगतका काम झै यस सिरियललाई पनि धेरै माया दिनुहुनेछन्’, निर्देशक शर्माले बताए । टेलिसिरियल आम्मैमा कलाकारहरू प्रभाकर देव शर्मा, धनराम मुस्कान, नवराज भण्डारी, राजन थापा, पुष्पराज अवस्थी, अनामिका लामिछाने, सेविता अधिकारी, संगम राई, आशिका बस्नेत, लक्ष्मण भण्डारीलगायत अन्य कलाकारहरूको अभिनय रहेको छ ।
यसको लेखन राजन थापाले गरेका छन् । त्यसैगरी मदन महर्जनको छायांकन, ओम प्रकाश अवस्थी (ईश्वर) को सम्पादन, बिपिन घिमिरे र शिला बिष्टको स्वर, गोविन्द दुलालको व्यवस्थापन रहेको सिरियल आम्मैको मुख्य सहायक निर्देशन भने पुष्पराज अवस्थीको छ ।