२९ असार २०८३, सोमबार
राजनीति

शीर्ष नेतासँगै संसद्‌काे अग्रपंक्तिमा बस्ने छन् रवि, संसद्‌काे पहिलो लहरमा को–को ?

पुस ४, २०७९
शीर्ष नेतासँगै संसद्‌काे अग्रपंक्तिमा बस्ने छन् रवि, संसद्‌काे पहिलो लहरमा को–को ?

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार सपथ लिँदैछन् । निर्वाचन आयोगले मंसिर ४ मा भएको निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेसँगै संसद् सचिवालयले सांसदहरूको सपथको तयारी थालेको हो । पुस ७ गते बिहीवार प्रतिनिधिसभाका जेष्ठ सदस्यले नवनिर्वाचित सांसदहरूलाई सपथ गराउने छन् । 

सचिवालयले सांसदको सपथसँगै प्रतिनिधि सभाको हलमा कुन दललाई कुन ठाउँ दिने भन्ने गृहकार्य थालेको छ । ​

चौँथो शक्तिकोरूपमा संसद्मा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), संसद्को पाँचौ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसद्मा कुर्सीको व्यवस्थापन गर्नुपर्नेछ । 

त्यसैगरी, जनमत र नागरिक उन्मुक्ति पार्टीका लागि पनि संसदीय दलको कार्यालय व्यवस्थापनको काम भइरहेको छ । 

संसद् सचिवालयका एक अधिकारीकाअनुसार प्रतिनिधिसभाको बैठकमा कांग्रेस, एमाले र माओवादीसरह रास्वपाले पनि अग्रपंक्तिको लहरमा सीट पाउने छ । रवि लामिछानेको पार्टी रास्वपा र राप्रपाले संयुक्तरूपमा एउटा लहर पाउने सम्भावना छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको प्रतिनिधि सभाको कार्यकक्षमा ६ वटा लहरमा सिट व्यवस्थापन गरिएको छ । 

संसद्को बाँयातर्फका दुईवटा लहर प्रतिपक्षका लागि छुट्याउने तयारी छ । 

सभामुखको आशनको बायाँतर्फको सबैभन्दा छेउको लहरमा रास्वपा र राप्रपा सांसद रहने छन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लागि सिंगो लहर छुट्याइने सचिवालयका कर्मचारीले बताए । 

अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष भनेर कुनै दलको कित्ता छुट्याइको छैन । ‘अहिले सरकारमा सहभागीलाई सत्तापक्ष मानेर सिट व्यवस्थापन हुन्छ’, सचिवालयका ती अधिकारीले भने । 

सरकारका लागि छुट्याइएको लहरको दायाँतर्फ क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रले एक एकवटा लहर पाउने छन् । 

यसअघि माधव नेपाल र झलनाथ खनाल बस्दै आएको सत्तापक्षको छेउको लहरका २ सिट नेकपा एसले पाउने सम्भावना छ । सोही लहरमा महन्थ ठाकुर र अशोक राईलाई पनि व्यवस्थापन गर्ने तयारी छ । 

शीर्ष पंक्तिमा को–को बस्ने छन् ? 

प्रतिनिधिसभाको शीर्ष पंक्तिमा दलका शीर्ष नेताका अतिरिक्त यसपटक केही नयाँ अनुहार देखिने छन् । ८९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि रहने छन् । 

यसअघि गगन थापा, प्रकाशमान सिंह र डा. शशांक कोइराला पहिलो पंक्तिमा बसेका थिए । 

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकार पक्षको लहरमा बस्नेछन् । 

नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव गोकर्ण विष्टले पहिलो लहरमा बस्न पाउन पनि  सक्छन् । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् । 

कोभिड संक्रमणको खतरा कायम रहेको भन्दै सचिवालयले बीचका केही कुर्सी खाली राख्ने तयारी गरेको छ । 

नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत र महिन्द्र राय यादवलगायतका नेता अग्रपंक्तिमा बस्ने छन् । चुनाव जितेका अर्का उपमहासचिव जनार्दन शर्मा भने मन्त्रीको लहरमा हुनेछन् । संसद्मा माओवादी केन्द्र ३२ सिटसहित तेस्रो शक्ति छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने र वरिष्ठताको आधारमा डा. चन्दा कार्कीले पहिलो लहर पाउन सक्छन् । प्रतिनिधिसभामा रास्वपाका २० जना सांसद छन् । 

राप्रपाको तर्फबाट अग्रपंक्तिमा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपतिशमशेर जबरा र दीपक बोहोराले अग्रपंक्तिमा बस्न पाउन सक्छन् । राप्रपाको १४ जना सांसद छन् । 

विरोध भएपछि प्रधानमन्त्री नियुक्ति अगावै शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते हुँदैछ । बिहीवार दिउँसो १ बजेका लागि शपथको समय तय गरिएको संसद् सचिवालयका महासचिव डा. भरत गौतमले जानकारी दिए । निर्वाचन आयोगले प्रतिवेदन दिएलगत्तै संसद् सचिवालयले सांसदको सपथ गराउन लागेको हो । 

प्रतिनिधिसभाका जेष्ठ सदस्यबाट सपथ गराउने तयारी रहे पनि कसले गराउने भन्ने यकिन भइनसकेको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी वा राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर जबरामध्ये एकले नयाँ सांसदलाई शपथ गराउने छन् । ‘दुईजना माननीयको बारेमा छलफल चलिरहेको छ, हामी भोलिसम्ममा निर्णयमा पुग्छौँ’, पाण्डेले भने । २०७४ सालका सांसदलाई महन्थ ठाकुरले सपथ गराएका थिए । 

सांसदको सपथ पहिला कि प्रधानमन्त्री नियुक्ति पहिला भन्ने विवाद अन्त्य गर्दै सांसदको सपथ पहिला हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरूलाई आह्वान गरेकी छन् ।

कमेन्ट गर्नुहोस्