०८ असार २०८३, सोमबार

अर्थ मन्त्रालयमा नै आर्थिक गोलमाल, अर्थविद्हरू भन्छन्, ‘गम्भीर लापरवाही’

कात्तिक २०, २०७४
अर्थ मन्त्रालयमा नै आर्थिक गोलमाल, अर्थविद्हरू भन्छन्, ‘गम्भीर लापरवाही’
काठमाडौं, १ भदौ– देशको आर्थिक व्यवस्थापनको प्रमुख जिम्मेवार अर्थ मन्त्रालय अत्यधिक बेरुजुमा परेको छ । महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फको कुल बेरुजूमा सबैभन्दा बढी बेरुजू अर्थ मन्त्रालयको नाममा देखिएको हो । अर्थमन्त्रालयको नाममा सबैभन्दा बढी ३७ अर्ब ५३ करोड ६१ लाख बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ ।


बेरुजूका कारणहरुमा पूँजीगत लाभकर नउठाएको, मूल्य अभिबृद्धि कर लाग्ने कारोबारमा कर नअसुलेको, करदाताले मूल्य अभिबृद्धि कर सरकारबाटै लिनुपर्ने देखाई नतिरेको वा घटाएको, खरिद बिक्रीको यथार्थ कारोबार विवरण पेश नगरेको, आय विवरण पेश नगरेको लगायत रहेका छन् ।

देशभरको आर्थिक व्यवस्थापनको प्रमुख जिम्मेवार मन्त्रालय नै बेरुजुको शीर्ष सूचीमा पर्नुले आर्थिक व्यवस्थापनको अवस्था स्पष्ट भएको महालेखा परीक्षक कार्यालयका प्रवक्ता रामु डोटेलले बताए । उनले पुरानै ढर्राको लेखापरीक्षण प्रणालीका कारण बेरुजु फछ्र्यौट पनि समयमा हुन नसकेको बताए ।

यो विषयमा सरकारका सचिवहरु भने लेखा प्रणाली पहिला देखि नै स्पष्ट नभएकाले अप्ठ्यारो भएको बताउँछन् । महालेखा परीक्षकको कार्यालय नै राजधानीमा आयोजना गरेको बेरुजुसम्बन्धि छलफलमा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले पुरानो ढर्राको लेखाप्रणाली र सचिवहरुको वेवास्ताका कारण बेरुजुले दिनप्रतिदिन बढावा पाइरहेको स्वीकार गरे ।

उनले अर्थमन्त्रालय लगायतका देशका प्रमुख मन्त्रालयले बेरुजुले ठूलो हिस्सा ओगट्नु लापरवाही बाहेक केही नभएको बताउँदै प्रणाली सुधारका लागि काम गर्ने बताएका थिए । अर्थमन्त्रालयका बाहालवाला जिम्मेवार व्यक्तिहरु पनि आफ्नो पदावधिको मात्रै समस्या नभएकाले आफु मात्रै जिम्मेवार नभएको बताउँछन् ।

मन्त्रालयका प्रवक्ता रामशरण पुडाशैनीले लामो समयदेखिको समस्या भएकाले पछिल्ला आर्थिक वर्षमा पदमा रहेकाहरुलाई दोष दिनै नमिल्ने बताए । उनले भने, ‘पहिलो कुरा त लेखा राख्ने प्रणाली पुरानो छ, त्यसैमाथि कर्मचारीले जिम्मेवारीका साथ पुरै आर्थिक वर्ष काम गर्न नपाउनुले बेरुजू अली बढी देखिएको हो, अझै महत्वपूर्ण कुरा त वर्षौदेखिको अनियमितता र बेरुजु फच्र्यौट हुन सकेको छैन ।’

विश्लेषकहरुको विश्लेषण

आर्थिक व्यवस्थापनको प्रमुख मन्त्रालय बेरुजूमा पर्नु गैरजिम्मेवारपनको पराकाष्ठा भएको पूर्वप्रशासक द्वारिकानाथ ढुंगेल बताउँछन् ।

जनताप्रतिको गैर जिम्मेवारी र मूल्य मान्यताप्रतिको वेवास्ताका कारण मुलुक नै बेरुजुमा परेकोमा उनले चिन्ता व्यक्त गरे । लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘राजनीतिक अस्थिरताका कारण कर्मचारी काम गर्नै पाउँदैनन्, अनि कर्मचारी जनताप्रति जिम्मेवारी नै निभाउँदैनन्, यसले गर्दा पुरै देश बेरुजूमा पर्नु निकै संकटको अवस्था हो ।’

यस्तै पूर्व अख्तियार प्रमुख सुर्यनाथ उपाध्यायले राष्ट्रिय ढुकुटीको रखवारी गर्ने मन्त्रालयले मनोपोली गर्दा देश नै आर्थिक अनियमिताको दलदलमा फसेको बताए ।

उनले लोकान्तरसँग भने, ‘अर्थमन्त्रालयका जिम्मेवार व्यक्तिको मनोपाली नै बेरुजूको प्रमुख समस्या हो, अर्को महत्वपूर्ण कुरा त अवास्तविक बजेट (बजेट नआइकनै अन्दाजका आधारमा कार्यक्रम निर्माण गर्नु) बन्ने तर समयमै रकम नकासा नहुँदा पनि बेरुजूको ठूलो समस्या देखिएको हो ।’

पूर्वसचिव विमल कोईरालाले लोकान्तरसँग भने, ‘बेरुजूप्रति गम्भीरता नै नभएका कारण देखिएन, फच्र्यौटमा पनि ध्यान नपुगेका कारण यो समस्या देखियो ।’ राजनीतिक दबाबका कारण सरुवाको समस्याले कर्मचारीले आफ्नो पदावधिभरी राम्रोसँग काम गर्न नपाउँदा पनि यो समस्या देखिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्