०७ साउन २०८३, बिहीबार
संकटमा अर्थतन्त्र

सरकारको आम्दानीभन्दा चालू खर्च २७ अर्ब बढी, अवस्था नसुध्रिए तलब खुवाउनै मुस्किल

पुस २१, २०७९
सरकारको आम्दानीभन्दा चालू खर्च २७ अर्ब बढी, अवस्था नसुध्रिए तलब खुवाउनै मुस्किल

चालू आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांक हेर्दा राजस्व आम्दानीभन्दा कर्मचारी पाल्न बढी खर्च भएको पाइएको छ ।

सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिना (साउन–मंसिर)मा राजस्व संकलनभन्दा २७ अर्ब रुपैयाँ बढी तलब भत्ता र प्रशासनिक खर्च गरेको हो ।

मंसिर महिनासम्ममा सरकारले राखेको लक्ष्यभन्दा १ खर्ब ३७ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । 

गत आर्थिक वर्ष २०७८/०७९ को मंसिर महिनासम्ममा वार्षिक लक्ष्यको ३४.९३ प्रतिशत राजस्व संकलन भएको थियो । 

गत वर्षको मंसिरसम्ममा संकलन भएको राजस्व ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ थियो । त्यतिबेला चालू खर्च भने ३ खर्ब १७ अर्ब रुपैयाँ मात्रै थियो । 

यो वर्ष मंसिरसम्ममा ३ खर्ब २६ अर्ब ८९ करोड १ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको ३० प्रतिशत मात्रै हो । 

राजस्व संकलन घट्दा चालू खर्च भने बढेको छ । गत वर्षको यही अवधिको तुलनामा कर्मचारी पाल्न र प्रशासनिकतर्फ २७ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ बढी खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । 

कर्मचारीका लागि सरकारले चालू आवको साउनदेखि मंसिरसम्ममा गरेको यस्तो खर्च ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिरसम्ममा सरकारको राजस्व संकलन लक्ष्य २ खर्ब ५७ अर्ब रुपैयाँ थियो । तर, यो समयसम्ममा संकलन भएको राजस्व जम्मा १ खर्ब ४९ अर्ब रुपैयाँ मात्र रहेको छ । यो लक्ष्यभन्दा १ खर्ब ३७ अर्ब रुपैयाँले कम हो । 

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले सरकारले गत वैशाखदेखि मंसिरसम्म लगाएको आयात प्रतिबन्ध र यो समयमा भएको चोरीपैठारीका कारण राजस्व संकलन कम भएको तर्क गरे ।

ती अधिकारीका अनुसार राष्ट्र बैंकको कतिपय नीति, आयातमा कडाइ, घरजग्गा कारोवारमा भएको कमी, भन्सार रोकिएर अवैध आयात बढ्नु आदि कारणले पनि अर्थतन्त्रमा चाप परेको हो । 

अर्थ मन्त्रालयका अनुसार आयात रोकिँदा र राष्ट्र बैंकले विभिन्न विषयमा कडाइ गर्दा ७० अर्बले राजस्व घटेको अनुमान गरिएको छ । 

आयात प्रतिबन्ध लागेका वस्तुहरूबाटै सरकारलाई पछिल्लो ५ महिनामा करीब २६ अर्ब रुपैयाँ भन्सार राजस्व घाटा लागेको छ । 

घरजग्गामा सरकारले पाउने आकस्मिक लाभ पनि कम भएको छ । 

घरजग्गा कारोवार ओरालो लागेका कारण राजस्वमा यस क्षेत्रको योगदान कम छ । मंसिर महिनामा घरजग्गा कारोवारबाट जम्मा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो राजस्व संकलन गत वर्षको मंसिरमा ७ अर्ब ६ करोड थियो । 

घरजग्गाबाट आउने यस्तो राजस्व कोरोना महामारीको वर्ष २०७७ को मंसिरमा भन्दा पनि अहिले कम हो । त्यतिबेला ५ अर्ब रुपैयाँ राजस्व घरजग्गाबाट संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । 

सरकारले भन्सारमा कडाइ गर्न नसकेको र औपचारिक आयात मात्रै रोकेका कारण चिनी, कपडा, मदिरा, मोबाइलसहतिबाट राजस्व चुहावट भएको छ । 

अर्थ मन्त्रालयकै एक अधिकारीका अनुसार चालू आर्थिक वर्षकै ५ महिनामा २६ अर्ब रुपैयाँ राजस्व चुहावट भएको छ । 

ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थामा सरकार

यही अवस्था कायम रहने हो भने ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थामा सरकार पुगेको छ । 

प्रशासनिक क्षेत्रमा भएको फजुल खर्च कम गर्न र अर्थतन्त्र जोगाउने कुरामा ध्यान दिन नसके ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था आउने अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।

सरकार पुस मसान्तसम्म ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीमा छ । यो ऋण अहिले चालू खर्च धान्नमै प्रयोग गर्नुपर्ने अवस्थामा सरकार पुगेकाले पनि देशको अर्थतन्त्र कमजोर छ भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।

अर्थतन्त्रलाई दुर्घटनामा पर्न नदिन खर्च कटौती र सुधारका उपाय अवलम्बन गर्नुपर्ने क्षेत्रीको सुझाव छ ।

स्रोत नबढेसम्म अर्थतन्त्रको समस्या समाधान हुँदैन – अर्थविद्

अर्थतन्त्र  सुधार गर्न स्रोत नै बढाउनुपर्ने अर्थविद्हरू बताउँछन् ।

‘जबसम्म अर्थतन्त्रका लागि स्रोत बढ्न सक्दैन, तबसम्म न अर्थतन्त्रमा सुधार आउँछ, न सरकार नै बलियो हुनसक्छ,’ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

उनका अनुसार सरकारले विदेशी लगानी भित्र्याउने, ऋणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने, अनुत्पादक खर्च कटौती गर्दै उत्पादनमूलक क्षेत्रमा लागाएर शासकीय सुधार गर्नुपर्ने हुन्छ । अन्यथा अर्थतन्त्र सुधार गर्न गाह्रो छ । 

‘अहिले अर्थतन्त्रमा देखिएको समस्या स्रोतको हो । जबसम्म सरकारले स्रोत व्यवस्थापन राम्रोसँग गर्न सक्दैन, तबसम्म अर्थतन्त्रमा सुधार हुने देखिँदैन,’ थापाले भने ।

कमेन्ट गर्नुहोस्