
पुस १६ गते बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीलगत्तै बोलेका सदस्य चुडामणि जंगलीले अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै भने, ‘पुस ५ गतेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर आन्दोलन गरेका नेता प्रचण्ड केपी ओलीको प्रधानमन्त्री बनिसक्दा हाम्रो नेतृत्व कहाँ चुक्यो ?’
माधव नेपालका खास मान्छे भनेर चिनिएका विश्वकर्मा कड्किँदा अन्य नेताहरू आश्चर्यमा परे । उनले अगाडि प्रश्न गरे, ‘मदन भण्डारीले राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन भन्नुभएको थियो, चुनावपछि तपाईंले केपी ओलीलाई बधाई दिनुभयो ?’
स्थायी कमिटी बैठकमा केदार न्यौपाने, घनेन्द्र बस्नेत, गोविन्द कोइराला, प्रकाश ज्वाला लगायतका नेताहरूले पनि नेतृत्वले राजनीतिक ‘मूभ’ लिन नसकेकोमा आलोचना गरेका थिए । ‘स्थायी कमिटीका बहुमत सदस्यले अहिले पार्टी नेतृत्वले लिइरहेको ढुलमुले नीतिको विरोध गरे, कोही बाहिर बोल्न सक्छन्, कसैले बोल्दैनन्, फरक यत्ति हो,’ एक नेताले लोकान्तरसँग भने ।
नेकपा कार्यकालमा ओलीविरुद्ध विद्रोह गरेका प्रचण्ड प्रधानमन्त्री बनिसक्दा माधव नेपालले चतुर्याइँ देखाउन नसकेको भन्दै नेकपा एसका नेताहरूले बैठकमा चर्को असन्तुष्टि व्यक्त गरे । बैठकअघि पार्टी सचिव रामकुमारी झाँक्रीले दिएको अभिव्यक्ति पनि बैठकमा चर्चाको विषय बन्यो । माधव नेपालले ढुलमुलेपन देखाएको भन्दै झाँक्रीले एक टेलिभिजन अन्तर्वार्तामा भनेकी थिइन्, ‘केपी कमरेडले मलाई थुन्नुभयो तर पनि नेता भनेको केपी कमरेड जस्तै हुनुपर्छ, कि वार, कि त पार, भिड्ने हो नि !’
झाँक्रीको अभिव्यक्ति नेतृत्वको बदख्वाइँ गर्ने खालको भन्दै माधव नेपालले बैठकमा आलोचना गरे तर अधिकाशंले झाँक्रीको अभिव्यक्तिभन्दा पनि माधव नेपालको कार्यशैलीको आलोचना गरे ।
‘माधव नेपालमा राजनीतिक चतुर्याइँ देखिएन, बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय भइसक्दा हाम्रो कमरेड पुरानै गठबन्धन बचाउने भन्दै लाग्नुभयो,’ नेकपा एसका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
अध्यक्ष नेपाल र महासचिव बेदुराम भुसाल समयसापेक्ष चल्न नसक्दा कार्यकर्तामा निराशा देखिएको र पार्टी बढ्नेभन्दा क्षयीकरण हुने खतरा रहेको नेताहरू बताउँछन् ।
सांसदले छाड्ने, एक्लै परिने भय
प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशतको थ्रेसहोल्ड कट्न नसकेपछि नेकपा एसभित्र उकुसमुकुस छ । त्यसैमाथि चुनावअघिको आकलनविपरीत वैकल्पिक सरकार गठन भएर पार्टी प्रतिपक्षमा धकेलिने संकेतले कार्यकर्तामा चरम निराशा छ ।
पुस १० गते राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गर्दा नेकपा एसले समर्थन गरेन । आफूलाई थाहा नदिइएको भन्दै एसले प्रतिपक्षमा बस्ने धम्की दियो । पुस ११ गते शपथ समारोहमा भएको भेटलाई अपवाद मान्दा २० गते मात्र माधव नेपालसँग प्रचण्डको औपचारिक भेट भयो ।
बुधवार प्रचण्डसँगको भेटअघि पार्टी निकट युवा संघको कार्यक्रममा नेता नेपालले ‘प्रचण्डको अनुहार हेरेर मात्र सरकारलाई समर्थन गर्न नसकिने’ अभिव्यक्ति दिएका थिए । आफूसँग प्रचण्डले सरकारलाई समर्थन गर्न औपचारिक प्रस्ताव नै नगरेको गुनासो माधव नेपालले गरेका थिए ।
गठबन्धनको बलमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिटमा जितेको माधव नेपालको पार्टी ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय दल बन्नबाट चुक्यो । राष्ट्रिय दल बन्न नसकेपछि प्रतिनिधि सभामा उसका सांसदलाई दलीय अनुशासन (ह्वीप) लाग्ने/नलाग्ने अन्योल छ । यसअघि एमालेबाट विद्रोह गरेका सांसदमाथि कारवाहीको विषयलाई लिएर ९ महिना संसदमा अवरोध भएको थियो ।
प्रचण्ड सरकारलाई समर्थन नगरे सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने र ह्वीप उल्लंघन गर्ने भय माधव नेपालमा छ । त्यसैले उनले बुधवार राष्ट्रिय दल नबने पनि ह्वीप लाग्ने जिकिर गरेर सांसदलाई दबाबमा राख्न खोजे । माधव नेपाल प्रतिकूल एमालेको सभामुख बनेमा दलीय ह्वीपको अनुशासनमा अग्नि सापकोटाले एमाले सांसदलाई गरेजस्तै नजरअन्दाज गर्न सक्छन् ।
पुस २६ गतेसम्म अनिश्चयमै रहने भने पनि अन्तिममा प्रचण्ड सरकारलाई समर्थन गर्ने निर्णयमा पुग्ने नेताहरूको विश्वास छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले प्रचण्ड सरकारलाई समर्थन गरेर जानुपर्ने बताएका थिए । ‘यो सरकार वामपन्थी नेतृत्वको हो, सरकारलाई समर्थन गरेर जानुपर्छ भन्ने उहाँको धारणा थियो,’ एसका एक स्थायी कमिटी सदस्यले भने ।
रवीन्द्रनाथ टैगोरले लेखेको ‘एक्लाचलो रे’ गीत स्मरण गर्दै नेपालले राम्रो लक्ष्य लिएर हिँड्दा भविष्यमा पहिलो पार्टी बन्न सकिने सपना बाँडिरहेका छन् । बुधवार पनि उनले भाजपाको उदाहरण दिँदै भनेका थिए, ‘कुनै बेला २ सीटमा खुम्चिएको भाजपा अहिले भारतमा अत्यधिक बहुमतमा छ ।’
ओलीसँग मिल्न दबाब
स्थानीय र प्रतिनिधिसभा चुनावबाट प्राप्त नतिजा सन्तोषजनक नभएकाले विचार मिल्ने राजनीतिक दलसँग एकता गर्नुपर्ने अधिकांश नेताको सुझाव छ । पोलिटब्युरो, स्थायी कमिटी हुँदै बिहीवार सचिवालय बैठकले पनि वामपन्थी शक्तिसँग एकता र तालमेल गर्ने निर्णय गरेको छ ।
तर विचार मिल्ने पार्टी को भन्नेमा अलमल छ । माधव नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकताको प्रयास थालेका छन् । उपेन्द्रसँग पार्टी एकता भयो भने संसद्को समीकरणमा केही फेरबदल आई चौथो ठूलो शक्ति बन्ने र आफूहरूको महत्त्व बढ्ने माधव नेपालको बुझाइ छ ।
संसदमा १२ सदस्य रहेको जसपा र १० सीट रहेको नेकपा एसबीच एकता भएमा २० सीट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई विस्थापित गरेर चौथो ठूलो दल बन्न सक्छ तर नेताहरूको जोड भने उपेन्द्रभन्दा केपी ओलीसँगै मिल्नुपर्छ भन्ने छ ।
‘केपीभन्दा उपेन्द्रसँग कसरी विचार मिल्छ ? उपेन्द्र कम्युनिस्ट हुने कि समाजवादी मात्र ? नागरिकताको विषयमा धारणा मिल्छ ?’ एसका एक शीर्ष नेताले भने, ‘नेकपा एमाले बन्नुमा हाम्रो पनि योगदान छ भने किन नमिल्ने ?’
माधव नेपालले समयलाई चिन्न नसकेर जडता देखाइरहेको नेकपा एसका ती नेताको बुझाइ छ ।
‘प्रचण्डको शपथमा केपीले नै माधवलाई कोट्याएका थिए, त्यो अवसरलाई माधव कमरेडले क्यास गर्न सक्नुभएन, उहाँमा म नै सिनियर भन्ने अहँ बाँकी रहेको देखियो, कम्युनिस्ट भाषामा त्यसलाई सामन्तवादी जडता भनिन्छ,’ ती नेताले भने ।
एमालेसँग मिल्नुपर्छ भन्ने लाइनका नेताहरू चुनावसँगै राजनीतिक कोर्ष फेरिएकाले पुरानो आग्रह राखिराख्न नहुने धारणा राख्छन् । रणनीतिक मूभ गर्न सकेमा राष्ट्रपति बन्न सक्ने अवसर आएको नेताहरूको बुझाइ छ तर व्यक्तिगत इगोका कारण माधव नेपाल ओलीसँग झुकेर संवाद गर्न राजी भएका छैनन् ।