३२ असार २०८३, बिहीबार
देउवाको 'कोर्स करेक्सन'

प्रचण्डलाई विश्वासको मत दिने गरी कसले तयार पार्‍यो देउवालाई ?

पुस २६, २०७९
प्रचण्डलाई विश्वासको मत दिने गरी कसले तयार पार्‍यो देउवालाई ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पनि पाउँदैनन् कि भन्ने चर्चा भइरहेका बेला राजनीतिमा नयाँ घटनाक्रम विकसित भयो ।

जसको परिणामस्वरूप मंगलवार संसद्मा मत विभाजन हुँदा प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ९९ प्रतिशतभन्दा बढी मत खसेको छ । २७० मत खसेकोमा प्रधानमन्त्रीले पाएको २६८ मत निकै असाधारण हो । विपक्षमा जम्मा २ मत खस्यो ।

चुनावबाट पहिलो दल भए पनि १० पुसदेखि एकाएक सत्ता र शक्तिविहीन बन्न पुगेको कांग्रेसले कोर्स करेक्सन थालेपछि राजनीतिमा नयाँ तरंग देखिएको छ ।

संसद् विघटनपछिको संकटमा आफैंले नेतृत्व गरेको गठबन्धनले गराएको  चुनावबाट शक्तिविहीन बन्न पुगेपछि संस्थापनपक्षीय नेतामा ठूलो सन्नाटा छायो ।

केन्द्रमा ८९ सीटसहित पहिलो दल, ७ मध्ये ४ वटा प्रदेशमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस माओवादी साथमा हुँदा सबैतिर सत्ताको सन्निकट थियो । 

राष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका अधिकांश पद कांग्रेसले आफू अनकूलमा बाँड्न सक्ने ठाउँ थियो । तर राष्ट्रपति र प्रधानमन्त्री दुवै पद तत्काल नछाड्ने अडान सभापति देउवाले लिए । यसैको काउन्टरमा प्रचण्ड एमालेको कित्तामा पुगेर १६९ सांसदको समर्थन जुटाउन सफल भए । १० पुसमै प्रचण्ड प्रधानमन्त्री नियुक्त भए, जसको परिणाम पहिलो शक्ति भएर पनि कांग्रेस सत्ताविहीन बन्न पुग्यो । 

यही बेचैनीका कारण प्रधानमन्त्री छाड्दा सम्बोधन गर्ने परम्परालाई पनि बेवास्ता गर्दै देउवा धुम्बाराहीको डेरामा चुपचाप सरे । सत्ताको उच्च शिखरबाट एकाएक तल झर्नुपरेपछि भेट्न आउने नेता कार्यकर्ता सबैथोक सकिए जसरी देउवासामु प्रस्तुत हुन्थे । तर पनि देउवाले यसलाई स्वाभाविक रूपमा लिए । 

‘कहिलेकाहीँ आफूले आकलन गरेजस्तो मात्रै हुँदैन । तर पनि यसै चिन्ता गरेर बस्नुपर्ने केही छैन । कोही पनि विचलित नहोऔं, वी विल कम ब्याक’ भनेर उनले आउने/जाने नेता कार्यकर्तालाई ढाडस दिन थालेपछि नै उनले नयाँ गोटी चालेको संकेत मिलेको थियो ।

सत्तामा पुनरागमनको आशामा देउवाले प्रधानमन्त्री प्रचण्डसँग विश्वास कायम राखिरहने प्रयास गरेका छन् । एमाले र माओवादीबीच दूरी बढाउन सकिए सत्तामा सहजै फर्किने देउवाको विश्वास छ । त्यसैको आशमा देउवाले मंगलवार संसदमा प्रचण्डलाई मत दिएका छन् ।

संसदीय दलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सांसदहरू प्रकाशमान सिंह, प्रदीप पौडेल र अर्जुननरसिंह केसीले विश्वासको मतको पक्षमा मत दिने निर्णयविरुद्ध फरक मत राखे । तर पार्टीको ह्वीपका कारण उनीहरू पनि विश्वासको मत दिन विवश भए । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विविध कारणले प्रचण्डसँगको गठबन्धन तोडिए पनि केपी ओलीले संसद्, संविधान र व्यवस्थाविरोधी टिप्पणी दिन थालेपछि विश्वासको मत दिने वातावरण बनेको टिप्पणी गरे ।

‘हामीले पहिले पनि प्रचण्डसँग गठबन्धन तोड्ने मनसाय व्यक्त गरेका थिएनौं । अन्तिमसम्म ठूलो दलको रूपमा कांग्रेसले दाबी गर्नु स्वाभाविक भए पनि अन्तिममा उहाँलाई प्रधानमन्त्री हुनुस् भनेकै थियौं,’ महत भन्छन्, ‘तर यस बीचमा एमाले अध्यक्ष केपी ओलीको प्रस्तुति र दम्भले उनले फेरि पनि संविधानमाथि नै प्रहार गर्न सक्छन् भनेर हामी विश्वासको मत दिएका हौं ।’

केही शर्त नराखी विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने भन्दै उनले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा प्रचण्डसँग सम्बन्ध थप विस्तार हुने संकेत गरे । 

‘हामीले राष्ट्रपति पाउँछौं भनेर विश्वासको मत दिएका होइनौं,’ महत भन्छन्, ‘तर प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरेर जाने आश्वासन दिनुभएको छ । यसले गर्दा राष्ट्रपतिको चुनावसम्म पुग्दा सहमति कायम गरेर जान सकिन्छ भन्नेमा हामी आशावादी छौं ।’

कसले मनाए देउवालाई ?

दुई–दुईपटक संसद् विघटन भएपछि ओलीको विकल्पमा देउवा आफ्नो भन्दा अरूको रुचिले प्रधानमन्त्री हुन पुगेका थिए । तर जब प्रधानमन्त्री भए, स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाएपछि फेरि पनि प्रधानमन्त्री बन्ने हुटहुटी उनलाई थियो । तर ठूलो दलको दम्भमा राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने आफ्नै हठले यस्तो अवसर गुमेको बोध देउवाले गरे । उनकै टीमका पूर्णबहादुर खड्का प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि गठबन्धन जोगाउनुपर्छ भनेर लागे । 

तर देउवाले विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्र कार्कीलाई धेरै विश्वास गरेर हठ नछाड्दा प्रचण्ड बिच्किन पुगे । 

‘गठबन्धन जोगाउन नसक्नुमा हामी सबैको कमजोरी भएको बोध साथीहरूले गर्नुभएको पनि होला । तर हामीले मात्रै बिगारेको भन्ने होइन,’ महत भन्छन्, ‘यसपटक पार्टीमा संस्थापन र इतर पक्ष पनि विश्वासको मतमा फरक कित्तामा नबाँढिनु, पुराना र सिनियर नेताको पनि साथ हुनुले पनि फाइदा भयो ।’

आफैं भिड्दा सत्ता र शक्ति गुमेको अपजस लिनुपर्ने भएकाले उनीहरू आफैं पनि एउटा वातावरण बनाउन लागेको नेताहरू बताउँछन् । गठबन्धन टुटेपछि देउवालाई सबैभन्दा बढी विश्वासको मतका निम्ति तयार पार्ने नेतामा खड्का पर्छन् । 

‘कतिले सबै शक्ति हामी नै लिने हो भन्दै सभापतिदेखि आरजू भाउजूसम्मलाई उचाल्ने काम गरे तर सबै गुम्न लागेपछि शितांग भए,’ अर्का एक नेता भन्छन्, ‘लामो समयसम्म यसको अपजस लिनुभन्दा बरु कोर्स करेक्सन गर्न सभापतिलाई व्यावहारिक हिसाबले सहयोग गरौं भनेर बिगार्ने नेताहरू पनि लागे ।’ 

आफ्नो टीम भिड्दा भने इतर पक्ष र पुराना सिनियर नेताले यसपटक देउवालाई काँधमै बोकेको एक प्रभावशाली नेता बताउँछन् । 

‘यसपटक अवस्था अलि फरक देखियो । सभापतिको आफ्नै टीम विभाजित भयो । आपसमा भिड्लान् कि जस्तो पनि गरे,’ ती नेता भन्छन्, ‘पुराना सिनियर नेता र इतर पक्षको दरिलो साथले गर्दा देउवा विश्वासको मत दिनेसम्म पुग्नुभयो ।’

नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले जसरी पनि सम्बन्ध सुधार्नुपर्छ भनेर देउवालाई निरन्तर झक्झक्याए । कतिसम्म भने देउवाको दूत बनेर पौडेलले माओवादी नेता जनार्दन शर्मालाई भेटे । जनार्दन पनि आफ्नो रुचिविपरीत एमालेसँग गठबन्धन भएकोमा असन्तुष्ट थिए । तर पनि प्रचण्डले उनलाई देउवा र पौडेलसँगको संवादमा पठाएर विश्वासको मतको लागि आधार तयार पारे । 

आफ्ना विश्वासिला पात्र खड्कासँगै सिटौलाको साथ पनि देउवाले यसपटक राम्रै गरी लिए । सिटौला प्रचण्डसँग पनि राम्रो सम्बन्ध भएका नेतामा पर्छन् । 

प्रचण्ड नेतृत्वको सरकार गठनमा चीन हावी हुँदा यसपटक भारत र अमेरिका पछारिएको विश्लेषण पनि हुने गरेको छ । कम्युनिस्ट दलको बाहुल्य हुने सरकार गठनको पक्षमा भारत यसपटक होइन, कहिल्यै पनि छैन ।

एकपटक अवसर गुमे पनि प्रचण्डलाई विश्वासको मत दिएर जाँदा पछि खेल्न सकिने सन्देश उनीहरूबाट आएकाले पनि देउवाले थप अग्रसरता लिएको हुन सक्ने चर्चा कांग्रेसमा छ । 

शेखरको चुपचाप समर्थन

इतर पक्षका सबैभन्दा ठूला नेता डा. शेखर कोइराला गठबन्धन भत्किएदेखि नै देउवाको विरोधमा देखिएनन् । बरु कांग्रेसले सत्ता गुमाए पनि शक्ति नगुमेको भन्दै घुमाउरो हिसाबमा सभापतिकै लाइनमा देखिए । 

गगन र विश्वप्रकाशले सार्वजनिक मञ्चबाट देउवा र विश्वासको मतको विरुद्धमा बोल्दै गर्दा यसपटक शेखर चुपचाप देखिए । उनले टीमको छुट्टै बैठक डाकेर फरक मत राख्ने कुनै अग्रसरता नै लिएनन्, जसले गदा देउवालाई विश्वासको मतमा निर्णय गर्न पार्टीमा धेरै पापड बेल्नुपरेन । 

। संस्थापन इतरका डा. शेखर कोइराला, धनराज गुरुङ, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डेसहितका प्रभावशाली नै समर्थनमा उत्रिए । यसले पनि देउवालाई विश्वासको मत दिनेबारे निर्णय लिन गाह्रो भएन । 

१६ पुसमा देउवाले संसदीय दलको पहिलो बैठक गराएका थिए । तर त्यो बैठकमा कुनै सांसदलाई बोल्न दिइएन । ठूलो पार्टी बनाएकोमा पार्टी नेतृत्व र मतदातालाई धन्यवाद दिएर सकाइयो । 

विश्वासको मत लिने अघिल्लो दिन प्रतिनिधिसभाको पहिलो बैठकमा सरकारप्रति देउवाको संयमतापूर्वक भाषणले पनि उनी प्रचण्डसँग नजिक छन् भन्ने देखाउँथ्यो । 

सोमवार साँझ ७ बजे जब प्रचण्ड विश्वासको मत माग्न देउवाको धुम्बाराहीस्थित निवासमा पुगे तब त्यसले थप बलियो आधार बनायो । ठूलो पार्टीका रूपमा देउवालाई सम्मान पनि हुने र विश्वासको मत पनि पाइने विश्वासले प्रचण्ड देउवा निवास पुगेका थिए । 

यसअघि आलोचित भएका देउवाले प्रचण्डसँग एक्लै छलफल गरेनन् । उपभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलालाई साक्षी राख्दै विश्वासको मतमा आफू सकारात्मक रहेको सन्देश दिए । तर पार्टीमा औपचारिक छलफलका लागि भन्दै मंगलवार बिहान पदाधिकारी बैठक बोलाउने र त्यसपछि ९ बजे दलको बैठकले औपचारिक निर्णय लिने भन्दै प्रचण्डलाई बिदाइ गरे । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संसद् प्रमुख प्रतिपक्षी दलविहीन हुनु हुँदैन भन्ने पक्षमा रहँदै आएकाले उनीहरूबाट विरोधको सामना गर्नुपर्ने डर देउवालाई थियो । तर सोही खेमाका डा. शेखर कोइरालासहितको भर यसपटक काम आयो । यसैले देउवालाई अघि बढ्न गाह्रो भएन । आफ्नै निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले प्रचण्डलाई विश्वासको मत दिएर जाँदा कांग्रेसको हितमा हुने सुनाएको एक नेता बताउँछन् । 

‘ओलीसँग प्रचण्डले पनि सहज महसूस गरेका छैनन् । संसदमा पहिलो दिनको ओलीको प्रस्तुतिले त्यही देखाउँथ्यो । ओलीबाट संविधान र गणतन्त्रको रक्षा हुँदैन । त्यसैले प्रचण्डलाई विश्वासको मत दिएर जाऊँ र प्रतिपक्षमा बसौं,’ भन्ने आग्रह देउवाले पदाधिकारी समक्ष गरे । तर गगन र विश्वप्रकाश तयार भएनन् । दुई घण्टा चलेको बैठकले टुंगो लगाउन नसकेपछि देउवाले कार्यसम्पादन समितिको बैठक साढे ११ बजे डाकेर विश्वासको मत दिने निर्णय गराए । 

विनाशर्त समर्थन– कोर्स करेक्सन 

कांग्रेसले विनाशर्त विश्वासको मत दिनुले कोर्स करेक्सन नै भएको कांग्रेस सांसद श्याम घिमिरे बताउँछन् । 

‘गठबन्धनको नेतृत्व गरेकाले गठबन्धन जोगाउन नसक्नु नेतृत्वको कमजोरी थियो । तर संसद् विघटनको विषयमा संसदमा दुई दिन नेताहरूको प्रस्तुति देख्दा ध्रुवीकरण गराउने विषय देखायो,’ घिमिरेले लोकान्तरसँग भने, ‘केपी ओलीको स्वभाव धेरै मिलाएर लान सक्ने होइन । केही कुरा सहन पनि सक्दैनन् । प्रचण्डले पनि गठबन्धनलाई बचाएर कति लान सक्छन् ? ओलीभन्दा गठबन्धन बचाउन सक्ने क्षमता देउवामा छ, यसैले विनाशर्त विश्वासको मत दिएर सभापतिले कोर्स करेक्सनको बाटो लिनुभएको देखिन्छ ।’ 

विश्वासको मतको बहानामा प्रतिनिधिसभाको पहिलो बैठक र दोस्रो बैठकमा कांग्रेस सभापति देउवाले ओलीबाट २ पटकसम्म भएको संसद् विघटनको विषयलाई बल्झाएर राजनीतिलाई फेरि पुरानै ध्रुवीकरणमा फर्काउन प्रयास गरेका छन् । देउवा यसैलाई बहाना बनाएर ओली र प्रचण्डबीच खेल्ने दाउमा देखिएका छन् । 

‘अहिले कुनै पदमा कांग्रेसले बार्गेनिङ गरेको छैन, तर सबैथोक गुमाएको कांग्रेसलाई माओवादीसँग सम्बन्ध विस्तार गर्नु र प्रचण्ड–ओलीको सम्बन्ध थप प्रगाढ हुन नदिनु नै उपलब्धिपूर्ण हुने देखिन्छ,’ घिमिरे भन्छन्, ‘सभामुखमा केही नहोला तर राष्ट्रपति निर्वाचनमा मतभारका हिसाबले सबैभन्दा ठूलो दल कांग्रेसले आफूलाई हावी बनाउन सक्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्