०७ साउन २०८३, बिहीबार

आफ्नो सवारीको अवस्था ठीक नराख्ने ३० जना चालकलाई कारबाही

आफ्नो सवारीको अवस्था ठीक नराख्ने ३० जना चालकलाई कारबाही

काठमाडौँको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नराखी सवारी साधन चलाउने ३० ओटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

तालिम प्राप्त प्राविधिकसहित टोलिले गरेको चेकिङको क्रममा अवस्था ठीक नभएका ‍ ३० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले कीर्तिपुर क्षेत्रमा १ सयभन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।

त्यस्तै ललितपुरको सातदोबाटोमा आजै गरिएको विशेष चेकिङकै क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सातदोबाटोमा ३४  ओटा सवारी साधनलाई चेक गर्दा १० ओटा कारबाहीमा परेका हुन् । सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

मापदण्डभन्दा बढी धुँवा फाल्ने तथा अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न कारबाही अभियानलाई तीव्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए। 

साथै अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने  ४२  जना चालकलाई  पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाही थप तीव्र बनाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। २०७४ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको छ। 

कमेन्ट गर्नुहोस्