
नेपालकी सर्वाधिक चर्चित लोकगायिका हुन्, विष्णु माझी ।
उनकै स्वरमा रहेको ‘सालको पातको टपरी’बोलको गीतले युट्युबमा ८ करोड ४२ लाखभन्दा बढी भ्युज पाएको छ । जुन लोकदोहोरीको इतिहासमा हालसम्मकै सर्वाधिक हो ।
‘चरी जेलैमा’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’जस्ता उनका थुप्रै गीतले युट्युबमा करोड भ्युज पाएका छन् ।
सर्वाधिक चर्चित मात्रै होइनन् विष्णु, सर्वाधिक महङ्गी गायिका पनि हुन् ।
नेपालका ‘डिमान्डेड’ गायक–गायिकाले भन्दा उनले झण्डै १० गुणा बढी पारिश्रमिक लिएर गीत गाउँदै आएकी थिइन् ।
बजारमा लोकप्रिय गायक–गायिकाहरूले समेत २० देखि ३५ हजार रुपैयाँसम्ममा गीत रेकर्ड गर्ने गरेका छन् ।
गत वर्षसम्म विष्णुले एउटै गीत गाएको २ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएकी थिइन् । न्याय गरेर गीत गाउने गायिका भएका कारण लगानीकर्ताहरू विष्णुलाई खुशीसाथ महंगो पारिश्रमिक दिन तयार हुन्थे ।
गायक एवं संगीतकार वसन्त थापादेखि गीतकार एवं मोडल विमल अधिकारीसम्मले विष्णुलाई एउटा गीतका लागि २ लाख रुपैयाँ पारिश्रमिक तिरेका छन् ।
अरूका गीत गाउन छाडेकी हुन् विष्णुले ?
गत वर्षसम्म विष्णु माझीका बाहिरी गीतहरू राम्रै संख्यामा आइरहेका हुन्थे । तर लामो समयसम्म उनले स्वर दिएका बाहिरी गीतहरू सार्वजनिक भएका छैनन् । यतिबेला युट्युबमा उनका नयाँ गीत खोज्ने हो भने भेटिँदैन् ।
एक महिनाअघि ‘अंगालो’बोलको एउटा गीत सार्वजनिक भएको देखिन्छ । यद्यपि, त्यो गीत पनि ५–६ वर्षअघि नै रेकर्ड भएको गायक यानप्रसाद न्यौपानेले बताए ।
तीजमा सार्वजनिक ‘चरी जेलैमा २’नै विष्णुको पछिल्लो गीत हो । जुन गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।
आफ्नै ‘सपना म्युजिक इन्डस्ट्रिज’बाट गीत सार्वजनिक भएको थियो । त्यसयता उनका नयाँ गीत युट्युबमा सार्वजनिक भएका छैनन् ।
सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी यी गायिकाको पछिल्लो समय कुनै गीत सार्वजनिक नहुनुलाई सांगीतिक बजारमा चासोका साथ हेरिएको छ ।
कोहीले विष्णुको प्रतिगीतको पारिश्रमिक २ बाट ३ लाख रुपैयाँभन्दा माथि पुगिसकेको र उक्त पारिश्रमिक तिर्न गाह्रो हुने हुनाले अफर गर्ने आँट गर्न जोकोहीले नसकेको हुन सक्ने बताउँछन् ।
केहीले भने विष्णुले बाहिरी गीतहरू नगाउने सोच बनाएका कारण नयाँ गीतहरू नआएको हुन सक्ने बताए ।
विष्णुसँग थुप्रै गीतमा सहकार्य गरेका गीतकार एवं गायक शिव हमालले भने, ‘उहाँले बाहिरी गीतहरू नगाउने भन्नुभएको हो । शायद, सोही कारण नयाँ गीत नआएको हुनुपर्छ ।’
दुई वर्षअघि सार्वजनिक ‘भीरमा सेती गाई’ शिव र विष्णुको पछिल्लो सहकार्य हो । पारिश्रमिक र गीत गाउने वा नगाउने भन्नेबारे विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले निर्णय गर्छन् ।
शिवले पछिल्लो समय विष्णुसँग सहकार्य गर्ने सोच बनाएका थिए । त्यसका लागि उनले सुन्दरमणिसँग कुरा पनि राखेका थिए ।
‘एउटा सहकार्य गरौं भन्दा सुन्दरमणिजीले विचार गरौंला भन्नुभएको हो,’ शिव भन्छन् –‘तर, विचार भनेको के हो, अर्थै बुझ्न सकिनँ । फेरि एकपटक सल्लाह गर्छु ।’
गायक कुलेन्द्र विश्वकर्माले पनि विष्णुसँग नयाँ गीतमा सहकार्य गर्ने सोच बनाएका थिए । यद्यपि, उनले अहिले विष्णु माझीको पारिश्रमिक निकै बढिसकेको हल्ला सुने ।
‘उहाँसँग नयाँ गीत गाउने सोच बनाएको थिएँ । तर, पारिश्रमिक एकदमै महंगो भएको हल्ला सुनेपछि सम्बन्धित व्यक्तिसँग कुरा नै पुर्याइनँ,’ कुलेन्द्रले लोकान्तरसँग भने ।
कुलेन्द्र र विष्णुले ‘सालको पातको टपरी’ लगायतका थुप्रै हिट लोकदोहोरी गीतमा सहकार्य गरेका छन् ।
विष्णुलाई २ लाखसम्म पारिश्रमिक तिरे पनि त्यो भन्दा बढी तिरेर आफ्नो सहकार्य नभएको गायक एवं संगीतकार वसन्त थापाले बताए ।
‘उहाँलाई २ लाखसम्म पारिश्रमिक तिरेर काम गरेको छु । पछिल्लो समय भने उहाँसँग सहकार्य भएको छैन,’ वसन्तले भने ।
लोकदोहोरीमा निकै चलेका एकजना गीतकारले नाम नखुलाउने शर्तमा विष्णु माझीका गीत पहिले जसरी नआउनुमा महंगो पारिश्रमिक नै मुख्य कारण भएको बताए ।
‘उहाँ (विष्णु माझी)को अहिलेको पारिश्रमिक ३ लाख रुपैयाँ रे ! उहाँ एक जनालाई दिने पारिश्रमिकमा अडियोदेखि भिडियोसम्म तयार हुन्छ,’ ती गीतकार भन्छन्, ‘जो–कोहीले उहाँलाई गीतको अफर नै गर्न नसक्ने भए ।’
कतिपयले भने बाहिरी गीत नगाउने मनसायले नै विष्णुले महंगो पारिश्रमिक ‘डिमान्ड’ गर्ने गरेको अनुमान गरेका छन् ।
विष्णु नेपाली गीत संगीतमा सर्वाधिक खोजिने गायिका हुन् ।
सामाजिक सञ्जाल र हालसम्म कुनै सार्वजनिक कार्यक्रममा नदेखिएरै पनि उनले निकै लोभलाग्दो ‘फ्यान फलोइङ’ कमाएकी छिन् ।
उनी कोहीसँग बोल्दिनन् । उनीसमक्ष भेट्न र कुराकानी गर्न पनि उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग कुरा गर्नुपर्ने हुन्छ । उनी पनि विष्णुबारे खुलेर केही कुरा गर्न चाहँदैनन् ।
विष्णुको अहिलेसम्म एउटा मात्रै फोटो सार्वजनिक भएको छ । गीतको भिडियोको कभरमा त्यही फोटो प्रयोग हुँदै आएको छ ।
स्याङ्जाकी उनी श्रीमानसँगै काठमाडौंमा बस्दै आएकी छिन् । यद्यपि, कहाँ बस्छिन् भन्ने कुरा लोकदोहोरी क्षेत्रका कलाकारहरूलाई समेत पत्तो छैन ।