
हिट चलचित्र ‘जेरी’को सिरिज ‘जेरी २’ अनमोल केसी र आना शर्माकै मुख्य भूमिका रहने भएको छ ।
अनमोललाई केही समय अगाडि नै फाइनल गरेको निर्माण टिमले अभिनेत्री आना शर्मालाई पनि अनुबन्ध गरेको छ । हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको लागि हालसालै आना र निर्माण पक्षबीच कागजी सम्झौता भएको हो ।
योसँगै अनमोल र आनाले ८ वर्षपछि अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ ।
८ वर्ष अगाडि आनाले ‘जेरी’बाटै डेब्यु गरेकी थिइन् । चलचित्रको लागि अर्को प्रमुख अभिनेत्रीको रुपमा यसअघि नै पूर्णिका सिंजापति फाइनल भइसकेकी छन् ।
अनन्या फिल्मसको ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन् । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आव्हान गरेको छ ।
एक महिनापछि छायांकन सुरु हुने चलचित्रको लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ ।
सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ छायांकन गरिएको थियो ।