२९ असार २०८३, सोमबार
नेपाल टी–ट्वान्टीमा फिक्सिङ

स्पट फिक्सिङ– दुई खेलमा एक-एक नोबल र वाइड फालेबापत आदिलले बुझे १२ लाख

माघ १०, २०७९
स्पट फिक्सिङ– दुई खेलमा एक-एक नोबल र वाइड फालेबापत आदिलले बुझे १२ लाख
फाइल फोटो : आदिलको फेसबूक वालबाट

राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमले दुई खेलमा 'स्पट फिक्सिङ' गरेबापत १२ लाख बुझेको खुलेको छ ।

आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महबूब आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त तथ्य खुलाएको हो ।

महबूबले कम्तीमा २ नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको खुलेको छ भने आदिल दुईवटा खेलमा फिक्सिङमा सामेल भएको पाइएको छ ।

सीआईबीका अनुसार आदिललाई एक खेलमा एउटा नो बल र एउटा वाइड फाल्न लगाइएको थियो । उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको सीआईबीले जानकारी दिएको छ । 

सीआईबी स्रोतका अनुसार २६ डिसेम्बरमा भएको काठमाडौं भर्सेस जनकपुर  (म्याच ८) र २९ डिसेम्बरमा भएको जनकपुर भर्सेस फार वेस्ट (म्याच १२) मा आदिलले स्पट फिक्सिङ गरेको खुलेको छ ।

उनले एक खेलमा एउटा नो बल र एउटा वाइड फालेबापत ६ लाख बुझेको पाइएको छ । दुई खेलमा गरी उनले १२ लाख बुझेको प्रहरीले जनाएको छ ।

नेपाली खेलाडीलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फिक्सिङका लागि प्रस्ताव आएको पनि सीआईबीले जानकारी दिएको छ ।

​टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक इनिङमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको खुलेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।

केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ ।

हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विदेशी खेलाडी भने आ-आफ्नो देश फर्किसकेका छन् ।
 

कमेन्ट गर्नुहोस्