
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले ।
ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका सिलसिलामा संयुक्त राज्य अमेरिकामा छिन् । उनलाई पनि अमेरिका आउन दबाब छ । एक किसिमले उनलाई नपुग्दो केही छैन ।
७ समुन्द्रपारि अर्काको देशमा जानुको साटो उनी गुमीस्थित पुर्ख्यौली जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेतीमा रमाएका छन् ।
हिराले व्यवसाय गर्नुअघि सुर्खेतमा यसको छिटपुट खेती हुने गरेको थियो तर हिराले व्यावसायिक रूपले खेती थाले । यसले गर्दा कर्णालीमै ड्रागन फ्रुटको व्यावसायिक खेती गर्ने जस उनैलाई जान्छ । त्यसो त कर्णालीमा ड्रागन फ्रुट बालीका लागि हावापानीका दृष्टिले सुर्खेत जिल्ला नै उपयुक्त हो । तराई र भित्री मधेशको हावापानी, माटो उपयुक्त मानिन्छ । उनकै पे्ररणाका कारण सुर्खेत उपत्यकामा पनि अहिले यो खेतीको लहर चलेको छ । जग्गा भाडामा लिँदै ड्रागन खेती गर्नेहरूको संख्या थपिन थालेको छ ।
सन् २०२० मा कोरोना भाइरस विरुद्धको लकडाउन थियो । हिराबहादुर घरमै बसेर दिन कटाउँथे । वीरेन्द्रनगरको खजुरास्थित घरमै बसेर यूट्युब भिडियोहरू हेर्ने गर्दथे । मोबाइल चलाइरहेका बेला एकदिन ड्रागन फ्रुट व्यवसाय सम्बन्धी कसैले बनाइरहेको भिडियोमाथि उनको नजर पर्यो ।
उनले दोहोर्याइतेहर्याई भिडियो हेरे । त्यतिबेलासम्म उनले यसको स्वाद चाखेका थिएनन् । खेती लगाउने तरिकादेखि यसले स्वास्थ्यमा पुर्याउने फाइदाबारे यूट्युबबाटै ज्ञान हासिल गरे उनले । ‘भोलिपल्ट, पर्सिपल्ट यससम्बन्धी विभिन्न भिडियो र गूगल सर्च गर्दै अध्ययन बढाउन थालें,’ हिराबहादुर भन्छन्, ‘सबै बुझेपछि गाउँमा रहेको पुर्ख्यौली जग्गामा किन खेती नगर्ने भन्ने सोच पलायो ।’
लकडाउनकै बीचमा उनले गाउँको बाँझो जग्गामा ड्रागन खेती गर्ने योजना अघि बढाएका थिए ।
हिराबहादुरले नेपालमै पहिलोपटक कंक्रिटको रिङ राखेर खेती गर्न शुरू गरे । उनीभन्दा अघि व्यवसाय गर्नेले टायरको रिङ राख्दै आएका थिए । धेरैले अहिले पनि टायरकै रिङ राखेको पाइन्छ । हिराले १३ रोपनी जग्गामा १ करोड १५ लाख रुपैयाँ खर्चिसकेका छन् ।
गुमीस्थित उनको फर्म ड्रागन फ्रुट बालीको स्रोत केन्द्रको रूपमा विकास भएको छ । फल, बेर्ना बेच्नुका साथै फूलबाट चियापत्ति र कलिलो मुनालाई तरकारीको रूपमा प्रयोग गर्दै आएका छन् । कलिलो मुना स्थानीय बजारमा बिक्री हुने गरेको छ । सुकेको फूलको पत्ताबाट स्वादिष्ट चिया तयार हुन्छ । भिटामिन सी प्रचुर मात्रामा पाइने हुँदा घाउ निको पार्न उपयोगी मानिने हिरा बताउँछन् ।
हिराको फर्मको नाम कर्णाली ड्रागन फ्रुट हो । यसबाटै उनले प्याकेजिङ, लेबलिङ लगायतका काम ब्रान्डिङ गर्दै आएका छन् । पूर्वी सुर्खेतमा फैलिँदो बजार छ । बजारको समस्या छैन उनलाई । खेती शुरू गरेको ९ महिनामै फल लाग्न थालिसकेको थियो । रातो ड्रागन फ्रुट प्रतिकिलोग्राम ८०० रुपैयाँ मूल्यमा स्थानीय बजारमा खपत हुँदै आएको छ । उनका अनुसार गत आवमा ६ क्वीन्टल, चालू आवमा १५ क्वीन्टल उत्पादन भइसकेको छ । ड्रागन फ्रुट उत्पादक तथा व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका हिराबहादुरले स्वास्थ्यका दृष्टिले यो निकै लाभदायक भएको बताए । ‘मधुमेह रोगबाट बचाउँछ, रगतमा चिनीको मात्रा सन्तुलन गर्छ, क्यान्सरको जोखिम घटाउनुका साथै पाचन प्रक्रिया सुधार गर्छ,’ उनी भन्छन्, ‘ड्रागनमा उच्च पौष्टिक तत्व हुने हुँदा स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ ।’
एकपटक लगानी गरेपछि कृषकले नियमित रूपमा आम्दानी लिइरहन सक्छन् । हिरा भन्छन्, ‘लगाएको वर्षदेखि २५ वर्षसम्म उत्पादन दिन्छ, एकदम छिटो बढ्ने बहुवर्षीय बाली भएकाले पछिल्ला केही वर्षयता युवा, कृषकहरू यसप्रति आकर्षित छन् ।’ उनलाई उतिबेला जागिर छाडेर पागल भयो भन्नेहरू कतिले उनकै फर्ममा रोजगारी गर्दै दिनचर्या गुजारेका छन् भने कतिपय उनले फलाएको फलको स्वादमा भुलेका छन् ।
‘शुरूमा मलाई निकैले गाली गरे, के गरेको यस्तो पनि भन्न भ्याए,’ उनी भन्छन्, ‘अहिले मेरो फर्म देखेर तिनै मान्छे चकित छन्, खेती गर्ने योजनामा पुगिसकेका छन् ।’

ड्रागन फ्रुट नेपालमा एक उदीयमान फलको रूपमा रहेको छ । सिउडी प्रजातिको यो फललाई ‘रातकी रानी’ पनि भनिन्छ । राति फुल्ने र उज्यालो नहुँदै ओइलाउने हुँदा यसलाई ‘रातको रानी’ भनिएको हो । कर्णालीमा प्रदेशमा उच्च पहाडी र हिमाली जिल्लामा हावापानीका दृष्टिले यसको सम्भावना छैन । सल्यानमा १ जनाले खेती शुरू गरेका छन् । त्यसैले उनी पनि सुर्खेतका भित्री मधेश, चुरे क्षेत्रमा यसको विस्तार गर्ने अभियानमा जुटेका छन् । उनकै प्रयासमा होस्टेमा हैंसे गर्दै सुर्खेतका १३ जना कृषकले ड्रागन फ्रुट व्यवसाय शुरू गरेका छन् र ती सबैलाई संगठित गर्दै व्यावसायिक रूपले खेती गर्न सिकाउँदैछन् हिराबहादुर ।