×

NMB BANK
NIC ASIA

जीवनमाथि खेलबाड

नेपालमा नाम चलेकै डाक्टरबाट समेत गम्भीर लापरवाही, 'कागजी निलम्बन' गरी उन्मुक्ति [खोज]

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा महानगरपालिका- १६, बाटुलचौरका ४५ वर्षीय रामप्रसाद आचार्य पेटसम्बन्धी समस्या भएपछि उपचारका लागि २०७८ असारमा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गैरापाटन पोखरामा भर्ना भए ।

Muktinath Bank

चिकित्सकहरू डा. प्रदीप घिमिरे, डा. सन्तोष श्रेष्ठ र डा. विनोदवाणे श्रेष्ठसहितको टीमले उनको आन्द्राको शल्यक्रिया गर्‍यो । शल्यक्रियाबाट पनि ठीक नभएपछि क्यान्सरको आशंकामा नेपाल क्यान्सर अस्पतालमा रिफर गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीका जेठान गणेश पौडेलका अनुसार त्यहाँ बिरामीको हुनुपर्ने चेकजाँच नै नगरी एकाएक शल्यक्रिया गरे ।


Advertisment
Nabil box
Kumari

'आन्द्रामा मासु पलाएको छ भनेर डाक्टरहरूले अन्य थप जाँच नगरी सिधा शल्यक्रिया गरी आन्द्राको मासु काटेर फाले,' नेपाल मेडिकल काउन्सिलमा भेटिएका पौडेलले लोकान्तरसँग भने, 'पेटको साइडमा रगत बग्ने आउटपुट बनाएको थियो, बिरामीलाई त्यही आउटपुटबाट दिसा गराउने गरिएको थियो ।'

Vianet communication
Laxmi Bank

पीडित पक्षका गणेश पौडेल

त्यहाँ भर्ना भएको ८ दिनपछि अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको थियो । ४/५ दिनपछि बिरामीको स्वाथ्यमा कुनै पनि सुधार नभएपछि फेरि भर्ना गरियो । त्यहाँ केही सुधार नहुँदा त्यहाँका डाक्टरहरूले क्यान्सर भएको हुन सक्ने शंका गरेपछि बिरामीलाई ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा भर्ना गरियो ।

'क्यान्सर अस्पतालमा उपचार गर्दा डाक्टरहरूले पोखरामा डाक्टरहरूले अप्रेसन गर्दा लापरवाही गरी साना आन्द्रा समेत च्यापेर सिलाइदिएको जानकारी हामीलाई दिनुभयो,' बिरामीका जेठान पौडेलले लोकान्तरसँग भने, 'हामीले त्यसको फेरि ७ घण्टा लगाएर अप्रेसन गरेका छौं भनेर डाक्टरले भनेका कुरालाई भिडियो पनि बनाएका थियौं ।'

त्यसपछि केमोथेरापी गर्नका लागि केमो दिइयो, तर केमो दिएकै बेला बिरामी बेहोश भए । बिरामीलाई केही पनि हुँदैन, ठीक हुन्छ भन्दै क्यान्सर अस्पतालमा १६ दिनसम्म भर्ना गरेर राखियो ।

'त्यसपछि पनि केही सुधार नभएपछि सबै कागजात लिएर म ग्रान्डी अस्पताल पुगें । सबै कागजात हेरेपछि ग्रान्डीका डाक्टरले क्यान्सर अस्पतालमा भएको अप्रेशन गलत गरिएको, प्वाल पारिएको आन्द्राको अप्रेसन गर्नुपर्ने ठाउँमा फरक आन्द्राको अप्रेसन गरिएको हुनाले फेलियोर अप्रेसन भएको जानकारी दिए,' पौडेलले थपे, 'अब बिरामी मर्ने निश्चित हो । आफ्नो गल्ती ढाकछोप गर्नका लागि उनीहरूले भर्ना गरेर राखेका छन् भनेर ग्राण्डी अस्पतालका डाक्टरहरूले हामीलाई जानकारी गराउनुभयो ।'

त्यसपछि डिस्चार्ज माग्दा दिन आनाकानी गरेको उनले बताए । 'धेरै प्रेसर दिएपछि ३ दिन झुलाएर डिस्चार्ज गरियो,' उनले लोकान्तरसँग भने, 'ग्राण्डीमा उपचार भएर आंशिक रूपमा निको भएको १ वर्षपछि बिरामी बित्नुभयो ।'

यसरी फिस्टेल हस्पिटल पोखरा र ललितपुरको क्यान्सर अस्पतालमा भएको चिकित्सकको लापरवाहीका कारण आफ्नो भिनाजुको मृत्यु भएको भन्दै पौडेलले २०७८ असोजमा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए ।

दुवै अस्पतालका चिकित्सकहरूको लाइसेन्स खारेज गरी उपचारमा लागेको खर्च समेत क्षतिपूर्ति दिलाइपाऊँ भन्दै गणेशले उजुरी दर्ता गराएका थिए ।

'न्याय पाउनका लागि डेढ वर्षदेखि पटक–पटक मेडिकल काउन्सिल काउन्सिल धाइरहेको थिएँ । लापरवाही गर्ने चिकित्सकको लाइसेन्स ७ दिनका लागि निलम्बन गरेर उन्मुक्ति दिइयो,' उनले भने, 'हामीले पाउनुपर्ने क्षतिपूर्ति अझै पाएका छैनौं ।'

उपचारमा मात्रै ५० लाख रुपैयाँ जति खर्च भएको उनले बताए । 'आउदाजाँदाको खर्च र मानसिक तनाव त कति हो कति,' उनले थपे, 'काउन्सिलले कानूनबमोजिम गर्नुपर्ने कारबाही गरिसकेको भनेर उन्मुक्ति दिएको छ ।' क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय वा अदालतमा मुद्दा दिन काउन्सिलले सुझाएअनुसार क्षतिपूर्तिका लागि अदालतमा मुद्दा हाल्ने तयारी गरेको पौडेलले बताए ।

हेर्नुहोस्,भिडियो :

काउन्सिलले क्यान्सर अस्पतालका डा. हेमन्त बटाजुको लाइसेन्स २०७९ मंसिर ७ गतेदेखि लागू हुनेगरी ७ दिनका लागि निलम्बन गरेको थियो । नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा भएको आचारसंहिताको ४ परिच्छेद दफा २२ को उपदफा २ (क) को व्यवस्था र नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट्स २०१७ को सेक्सन ४ को ड्युटिज अफ मेडिकल प्राक्टिसनर (सी) मा भएको व्यवस्थाबमोजिम डा. बटाजुलाई ७ दिनका लागि निलम्बन गरिएको काउन्सिलको निर्णयमा उल्लेख छ ।

आफ्नो क्षणिक व्यावसायिक लाभका लागि सहकर्मीमाथि अनुचित लान्छना लगाई बिरामी पक्षलाई भ्रामक सूचना दिने कार्य गरेको ठहर भएको भन्दै कारबाही गरिएको हो ।

डा. कापेन्द्र अमात्य र डा. हेमन्त बटाजुलाई स्पष्टिकरण सोधिएको र सोपश्चात अस्पतालका निर्देशक डा. सुदीप श्रेष्ठ, डा. कपेन्द्र शेखर अमात्य र डा. हेमन्त बटाजुलाई काउन्सिलमा उपस्थित गराई प्रत्यक्ष सोधपुछ तथा लिखित बयान गरेपश्चात हेरीजाँची निर्णय गरिएको काउन्सिलले पौडेललाई २०७९ मंसिर २१ मा लेखेको पत्रमा उल्लेख छ ।

लाइसेन्स निलम्बनको कागजात :

त्यसबाहेक फिस्टेल हस्पिटलले पनि काउन्सिलले जारी गरेको निर्देशनविपरीत उपचार विधि, पद्धति, सर्जिकल चेकलिस्ट र दैनिक प्रगति विवरण नराखेको पाइएकाले फिस्टेल हस्पिटलमा कार्यरत डा. प्रदीप घिमिरे, डा. सन्तोष श्रेष्ठ, डा. विनोदवाणे श्रेष्ठलाई अब उप्रान्त निर्देशन पालना गर्न सचेत गराउने निर्णय काउन्सिलले गर्‍यो ।

****

ललितपुरमा सञ्चालित नेपाल मेडिसिटी नाम चलेको र महंगोमध्येको एक अस्पताल हो । उक्त अस्पतालका सबैभन्दा नाम चलेका डाक्टरमध्ये एक हुन्, डा. सुनिल शर्मा ढकाल । उनी मेडिसिटीका पूर्व निर्देशक समेत हुन् । हाल उनी सोही अस्पतालमा सर्जन विभाग प्रमुख छन् । ढकाल ल्याप्रोस्कोपिक सर्जरी तथा जनरल सर्जरीमा नेपालकै टप डाक्टरमध्ये पर्छन् ।

तर, मेडिसिटीमै उनले उपचार गर्दा समेत लापरवाही भएको भन्दै काउन्सिलले कारबाही गर्ने तयारी गरेको छ । काउन्सिल स्रोतका अनुसार उनको लाइसेन्स १ महिनाका लागि निलम्बन गर्ने निर्णय काउन्सिलको एथिक्स कमिटीबाट भएपनि काउन्सिलको बोर्डबाट अनुमोदन हुन बाँकी छ ।

मेडिसिटीमा पोखराका योगेन्द्रकुमार बस्नेतको पित्तथैलीको अप्रेसन गर्दा अस्पताल र चिकित्सकले गम्भीर लापरवाही गरेका कारण मृत्यु भएको भन्दै मेडिकल काउन्सिलमा उजुरी परेको थियो ।

२०७९ जेठ २२ गते अप्रेसन गरिएको भए पनि चिकित्सकको लापरवाहीका तीन दिनपछि जेठ २५ गते उनको मृत्यु भएको थियो । शल्यक्रिया गरेको दुई दिनपछि बिरामीलाई हृदयाघात भएको र हृदयाघातपछि जुन रूपमा चिकित्सकीय निगरानी तथा उपचार हुनुपर्थ्यो त्यो नभएको हुँदा बुवाको ज्यान गएको भनेर उनका छोरा समीरबहादुर बस्नेतले २०७९ असार २८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए ।

उजुरीमा भनिएको छ

नियमित चेकजाँचका लागि मैले बुवालाई  मेडिसिटी लगेको थिएँ । पित्तथैलीको अप्रेसन गर्नुपर्छ भनेर डा. सुनिल शर्माले नै परामर्श दिनुभयो । जेठ २२ गते उहाँले नै मेरो बुबाको ल्याप्रोस्कोपी विधिद्वारा अप्रेसन गर्नुभयो । नर्मल अप्रेसन भएकाले अप्रेसन गरिएको २४ घण्टापछि बिरामीलाई वार्डमा शिफ्ट गरिएको थियो । १/२ दिनमै डिस्चार्ज गर्ने समेत भनिएको थियो । तर, जेठ २४ गते ६ बजेतिर बिरामी अप्रेसन गरेको ठाउँमा दुखेको भन्दै ढलेका थिए । बिरामीलाई स्ट्रोक आएको भए पनि बिरामीको हेमोग्लोबिन तथा सोडियम कम भएको भनी नूनपानी तथा हस्पिटलले उपलब्ध गराउने खाना जबर्जस्ती खुवाइएको थियो ।

त्यसपछि बिरामीलाई पेन किलर र ग्यासको औषधि दिइएको थियो । रति ९ बजेतिर मेडिकल अफिसर आएर मनिटर लगाउने काम गरिएको थियो र साथै रगत पनि चढाइएको थियो । राति करीब ३ बजेतिर बिरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाइएको थियो । मेडिकल अफिसरले एनेस्थेसियोलोजिस्टलाई बोलाई सीपीआर दिई आईसीयूमा लगिएको थियो । त्यसपछि मात्र भिडियो एक्सरे गरी इन्टरनल ब्लिडिङ भएको भन्दै अप्रेसन गर्नुपर्ने जानकारी दिइयो । अप्रेसन गरी ब्लिडिङ नरोकिएको तथा मल्टी अर्गन फेल भएको कारणले बिरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । भेन्टिलेटरमा राखिएको अवस्थामा नै २०७९ जेठ २५ गते करीब २ बजे बिरामीको निधन भयो ।

आफ्नो बुवाको मृत्यु हुनुमा अस्पताल प्रशासन तथा चिकित्सकीय टोलीले गरेको लापरवाही कारण भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

सोही उजुरीका विषयमा छानबिनपछि काउन्सिलले डा. शर्मालाई कारबाही गर्नका लागि प्रक्रिया अगाडि बढाएको हो । काउन्सिल स्रोतका अनुसार विज्ञले दिएको रायअनुसार काउन्सिलको एथिक्स कमिटीले डा. शर्मालाई १ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुमोदनका लागि काउन्सिलको पूर्ण बैठकमा लैजाने प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ ।

यता डा. शर्मा भने आफू निर्दोष रहेको दाबी गर्छन् । मेडिकल काउन्सिलमा गएर पनि आफ्नो कुरा भनिसकेको उनले बताए ।

'हाई प्रोफाइल अस्पताल र हाई प्रोफाइल डाक्टरलाई कुनै कारवाही नगरिरहेको भनेर काउन्सिलमाथि प्रश्न उठेका बेला मलाई कारबाही गर्न खोजिएको होला,' डा. शर्माले लोकान्तरसँग भने, 'बिरामी पक्षको मात्र कुरा सुनेर कारबाही गरिन्छ भने मेरो केही भन्नु छैन । मैले कानून पालना गर्ने सामान्य नागरिकसरह त्यसलाई पालना गर्छु ।'

यस्तो केसमा आफूलाई दोषी देख्ने हो भने नेपालका ९० प्रतिशत डाक्टर दोषी हुने जिकिर उनले गरे । 'काउन्सिलले मलाई दोषी देख्यो भने नेपालका ९० प्रतिशत डाक्टर दोषी हुन्,' उनले थपे, 'मलाई कारबाही गर्ने निर्णय गर्नुभन्दा पहिला काउन्सिलले मेरो विगतको अनुभव, काम आदि पनि हेर्नुपर्छ होला ।'

आफूले करीब ५० हजार जति क्यान्सरका रोगीको अप्रेसन गरिसकेको दाबी गर्दै उनले ल्याप्रोस्कोपिक अप्रेसन नै १८ हजारजति गरिसकेको बताए ।

'मैले यति धेरै अप्रेशन गरें । मेरो तर्फबाट फल्ट भएको भए के मैले यति सफल अप्रेसन गर्न सक्थें होला ?,' प्रतिप्रश्न गर्दै उनले थपे ।

****

काठमाडौंको सिनामंगलका ४८ वर्षीय शैलेन्द्रराज विद्याधरलाई सिजर भएपछि २०७९ असोज २३ गते सिनामंगलकै काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यहाँ न्युरो सर्जन डा. अमित थापाको लापरवाहीका कारण बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप छ ।

शुरूमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचार गरेको १ घण्टापछि उनी नर्मल भइसकेका थिए ।

'घर लग्छुभन्दा हुँदैन एडमिट गर्नुपर्छ भनेर भनियो । हाम्रो घर अस्पतालको छेउमै रहेकाले केही भइहालेमा ५ मिनेटभित्र ल्याइहाल्छु भन्दा पनि होइन आईसीयूमै भर्ना गर्नुपर्छ भन्नुभयो,' पत्नी सुशीलाले लोकान्तरसँग भनिन्, 'दुई दिनसम्म जबरजस्ती आईसीयूमा राखियो । त्यसपछि २ दिन हाई केयर युनिटमा राखियो जबकि बिरामी नर्मल नै हुनुहुन्थ्यो । स्याइक्याट्रिक वार्डमा पनि १ दिन राखियो । त्यसपछि डाक्टरले ट्युमरजस्तो देखियो भनेर एमआरआई गर्न टेस्ला डाइग्नोस्टिक बालुवाटारमा पठाए ।'

एमआरआईको रिपोर्ट एक दिनपछि आयो । त्यसपछि चिकित्सकहरूले तुरुन्तै अपरेशन गर्नुपर्छ भने । 'हाम्रो आर्थिक अवस्था ठीक छैन भनेपछि २ लाखको अपरेसन ८० हजारमा गरिदिन्छौं, औषधिमा २५ हजार जति थप लाग्छ भनेर काउन्सिलिङ गर्नुभयो,' उनले भनिन्, 'सामान्य अप्रेसन हो, खप्पर पनि खोल्नु पर्दैन, नाकबाट नै हुन्छ । जति छिटो गर्‍यो त्यति नै राम्रो हुन्छ भनेर डा. अमित थापाले भन्नु भयो । २७ गते बिहान ९ बजे अप्रेसन गर्ने तय भयो । त्यसपछि अप्रेसन गरेको आधा घण्टामै रक्तनली 'नसा' काटियो । हामीसँग उपकरण छैन भनेर बाँसबारीको न्युरो अस्पताल पठाइयो । त्यहाँ ४ दिन राख्दा पनि ब्लिडिङ रोकिएन । चौथो दिन बिरामीको मृत्यु भयो ।'

न्युरो अस्पताल लगेपछि नै ६ लाख ७६ हजार रुपैयाँ खर्च भएको उनले बताइन् । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यू भएको भन्दै पीडित पक्षले केएमसीमा आन्दोलन नै गरेको थियो ।

त्यसपछि सुशीलाका दाजु सुशील राजवंशीले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए ।

'उजुरीपछि काउन्सिलले मलाई पनि बोलाएर सबै कुरा लिखितमा दिन तथा सबै कागजात दिन भनेको थियो,' उनले लोकान्तरसँग थपिन्, 'मैले सबै कुरा लेखेर पनि दिएको हो । काउन्सिलले छानबिन गरिरहेका छौं, कारबाही हुन्छ आश्वासन दिएको हो, तर अहिलेसम्म कारबाही भएको छैन ।'

काउन्सिल स्रोतका अनुसार डा. थापालाई पनि केही दिनका लागि निलम्बन गर्ने गरी एथिक्स कमिटीले काउन्सिललाई निर्णय बुझाएको छ । उक्त निर्णय काउन्सिलको पूर्ण बैठकबाट अनुमोदन भएपछि मात्र लागू हुनेछ ।

यस विषयमा डा. थापासँग प्रतिक्रिया लिँदा उनले आफूलाई काउन्सिलले गरेको कारबाहीबारे केही जानकारी नभएको जवाफ दिए । 'त्यो उजुरीसम्बन्धी सबै कुराको भिडियो प्रमाण काउन्सिललाई बुझाइसकेको छु । उपचारमा मैले केही पनि लापरवाही गरेको छैन,' डा. थापाले लोकान्तरसँग भने, 'काउन्सिलले कारबाही गर्नुभन्दा पहिले तपाईंलाई किन कारबाही नगर्ने भनेर एकपटक मलाई स्पष्टीकरण त सोध्छ होला नि !'

मेडिसिटीका सर्जन डा. शर्मा तथा केएमसीका न्युरो सर्जन डा. थापाको कारबाहीका विषयमा नेपाल मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले घुमाउरो जवाफ दिए ।

'डा. शर्मा तथा डा. थापामाथि के कस्तो कारबाही गर्ने भन्ने विषयमा काउन्सिलमा परेको उजुरीका आधारमा छलफल भएको हो । निर्णय भए पनि त्यसको प्रमाणीकरण प्रक्रिया बाँकी नै छ,' अधिकारीले लोकान्तरसँग भने, 'काउन्सिलका सबै सदस्यसहित काउन्सिलका अध्यक्षको हस्ताक्षर हुन बाँकी नै छ । अहिले निर्णय परिपक्व भएको छैन । भैसकेपछि मात्र मैले आधिकारिकरूपमा भन्न सक्छु ।'

काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला भने डा. शर्मा र डा. थापाको विषयमा भएको कारबाहीका विषयमा काउन्सिलका प्रवक्ताले नै जवाफ दिने भन्दै पन्छिन्छन् ।

'काउन्सिलको काम कारबाहीका विषयमा अफिसियल जानकारी हाम्रो प्रवक्तामार्फत नै दिने चलन छ,' उनले लोकान्तरसँग भने, 'काउन्सिलले कारबाही सम्बन्धमा गरेको निर्णय जुनबेला पब्लिक गर्नु पर्ने हुन्छ, त्योबेला हामीले पब्लिक गर्ने नै गरेका छौं । त्यो नहुँदासम्म गोप्य नै रहन्छ ।'

डा. शर्मा र डा. थापा मात्र हैन, अन्य कैयन नाम चलेका डाक्टरहरू यसैगरी निलम्बनका लागि सिफारिशमा परेका छन् । उनीहरूलाई अन्तिम सफाइका लागि स्पष्टीकरण सोधेर मात्र थप निर्णय गरिने डा. कोइरालाले बताए ।

'केही समय पर्खिनुहोस्, एकपटक अन्तिम सफाइका लागि सोधिसकेपछि काउन्सिलको पूर्ण बोर्डबाट निर्णय हुन्छ । त्यसपछि हामी सबै विवरण दिन्छौं,' कोइरालाले लोकान्तरसँग भने, 'यसमा लुकाउनुपर्ने विषय कैही छैन । तर, नाम सार्वजनिक नगर्न हामीलाई चर्को दबाबचाहिँ छ ।'

तर, काउन्सिलले गर्ने यस प्रकारको कारबाहीका विषयमा पीडित पक्ष भने असन्तुष्ट रहँदै आएका छन् । काउन्सिलले आफूहरूलाई न्याय दिनुको साटो चिकित्सकलाई बचाउने हिसाबले अनुसन्धान गर्ने गरेको उनीहरूको आरोप छ । स्वयं चिकित्सकहरू पनि यो आरोपलाई स्वीकार्छन् ।

'सानो शहर होस्, वा काठमाडौं उपत्यकाकै ठूल्ठूला अस्पतालका नाम चलेका चिकित्सकहरूले पनि लापरवाही गर्ने गर्छन्,' नाम नखुलाउने शर्तमा एक चिकित्सकले लोकान्तरसँग भने, 'धेरैजसो उजुरीमा सामान्य स्पष्टीकरण सोधेर झारा टार्ने काम काउन्सिलबाट हुन्छ । अधिकतम् कारबाही १ सातादेखि महिना दिनसम्म लाइसेन्स निलम्बन हुने हो ।'

कुनै चिकित्सकमाथि उजुरी पर्‍यो भने बचाउनका लागि काउन्सिलका कतिपय पदाधिकारीबाट पैसाको मोलमोलाइ समेत हुने गरेको उनले खुलाए ।

लाइसेन्स निलम्बन भएको अवस्थामा चिकित्सकले काम गर्न नपाउनुपर्ने हो । तर, काम गरिरहेका हुन्छन् ।

'निजी क्लिनिक होस् वा अस्पताल कुनै पनि ठाउँमा निलम्बित चिकित्सकले काम गर्न पाउँदैनन्,' ती चिकित्सकले थपे, 'तर, निलम्बनमा परे पनि प्राक्टिसमै हुन्छन् । काउन्सिलले पत्रमा मात्र कारबाही गरेको हुन्छ, त्यसको अनुगमन हुँदैन ।'

यता काउन्सिलका अध्यक्ष डा. कोइराला भने आएका सबै उजुरीमा विज्ञको राय लिएर छानबिन हुने गरेको बताउँछन् ।

'त्यसका लागि हामीले छुट्टै डेडीकेटेड एथिक्स कमिटी बनाएका हुन्छौं,' उनले थपे, 'त्यो कमिटीले आफैं निर्णय पनि गर्दैन । दुई तीनजना विज्ञहरू हायर गरेर राय सुझाव तथा सहयोग लिन्छ । यसरी छानबिन गरिसकेर निर्णय गर्ने गरिन्छ ।'

उजुरीको संख्या बढेका कारण अनुसन्धानमा समय लाग्ने गरेको उनले बताए । 'सचेतना बढेर हो वा काउन्सिल माथि ट्रस्ट बढेर हो, अथवा समग्रमै समस्या परेर हो, उजुरी पहिलेभन्दा बढेको देखिन्छ,' उनले थपे, 'छानबिनका क्रममा सबै कुराको दृष्टिगोचर गर्दाखेरि जे पाइन्छ, त्यसैका आधारमा कारवाही गर्ने गरिएको छ ।'

कसैलाई सचेत गराउने तथा कसैलाई निश्चित दिनका लागि निलम्बन गर्ने गरिएको उनले बताए ।

'उजुरीका आधारमा केही देखिएन भने केही कारबाही हुँदैन । त्यो सबै कुरा कसूर कस्तो हो, कसूर जानीजानी भएको हो वा गर्ने क्रममा भवितव्य परेर भएको हो, सबै कुरा हेरिन्छ,' उनले थपे, 'त्यो सबै हेरिसकेपछि पहिले विज्ञले आफ्नो ओपिनियन दिन्छन् । त्यसपछि ५ जनाको छुट्टै एथिक्स कमिटीले निर्णय गर्छ । त्यो निर्णय फेरि काउन्सिलको पूर्ण बैठकमा जान्छ र अन्तिम निर्णय हुन्छ ।'

यसरी कारबाहीमा परेका चिकित्सकको नाम भने लुकाउने गरिएको छ । चिकित्सकको बदनामी हुने भन्दै नाम लुकाउँदा कारबाही सम्बन्धिक चिकित्सकका लागि पनि सामान्य कागजी प्रक्रियाका रूपमा मात्र सीमित हुने गरेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x