
विश्वभरका मानिसहरू ऐतिहासिक स्थानहरू अवलोकन गर्न लामो यात्रा तय गर्ने गर्छन्। कुनै प्राचीन किल्ला, मन्दिर वा रोमन सभ्यताका अवशेषहरूलाई नजिकबाट नियाल्ने रोमाञ्चकता नै बेग्लै हुन्छ। तर, यदि तपाईंले हजारौँ वर्ष पुरानो इतिहास ठानेर अवलोकन गरेको कुनै ठाउँ वास्तवमा केही वर्षअघि मात्रै तयार पारिएको ‘नकली’ स्थान हो भने?
इटालीमा यस्तै एक अनौठो घटना बाहिर आएको छ, जहाँ एक व्यक्तिले मानिसहरूको इतिहासप्रतिको प्रेमलाई आफ्नो कमाइको जरिया बनाए। उनले यस्तो कृत्रिम पुरातात्विक स्थल तयार पारे कि त्यहाँका स्थानीय बासिन्दा मात्र होइनन्, सरकारी प्रशासनसमेत उनको कथामा पूर्ण रूपमा विश्वास गर्न पुग्यो। करिब एक दशक लामो कानुनी लडाइँ र अनुसन्धानपछि अन्ततः अदालतले आरोपीलाई जेल सजायको फैसला सुनाएको छ।
बेलायती अखबार ‘द मिरर’ को रिपोर्ट अनुसार यो सम्पूर्ण घटना इटालीको भिचेन्जा सहर नजिकको हो। ६९ वर्षीय फ्रेंको मालोसो, जो आफूलाई ‘भोन रोजेनफ्रेन्ज’ भनी परिचय दिन्थे, उनले संसारकै सबैभन्दा पुरानो खुला रोमन एम्फिथिएटर फेला पारेको दाबी गर्दै आएका थिए। उनले पहाडी क्षेत्रमा ढुङ्गाजस्तै देखिने खम्बा, टुटेका सिँढीहरू, मूर्तिहरू र एउटा कृत्रिम तालसमेत आफैँले निर्माण गरेका थिए। पहिलो नजरमा हेर्दा त्यो ठाउँ कुनै प्राचीन रोमन सभ्यताको अवशेषजस्तै देखिन्थ्यो। त्यहाँ पुग्ने अधिकांश पर्यटकहरू उनको कुरामा कुनै शङ्का नगरिकन पूर्ण रूपमा विश्वास गर्थे।
फ्रेंकोले उक्त कथित ऐतिहासिक स्थलमा आउने प्रत्येक पर्यटकबाट ३५ पाउण्ड अर्थात् नेपाली रूपैयाँमा करिब ४ हजार रुपैयाँ प्रवेश शुल्क असुल गर्दथे। त्यसपछि उनले मानिसहरूलाई पुरै परिसरमा घुमाउँदै प्रत्येक संरचनासँग जोडिएका काल्पनिक कथाहरू सुनाउँथे। उक्त स्थल सन् ३९३ ईस्वीभन्दा पनि पुरानो रहेको र त्यहाँ रोमन साम्राज्यका महत्त्वपूर्ण आयोजनहरू हुने गरेको उनको दाबी थियो।
उनले आफ्नो कथालाई अझ रोचक बनाउन विश्वप्रसिद्ध ऐतिहासिक तथा साहित्यिक पात्रहरूको समेत नाम जोड्ने गरेका थिए। रोमन सम्राट जुलियस सिजरसमेत त्यस ठाउँमा आउने गरेको र चर्चित प्रेमकथा ‘रोमियो एन्ड जुइट’की जूलिएट क्यापुलेटले आफ्नो बाल्यकालका धेरै दिन यही क्षेत्रमा बिताएको दाबी उनले गर्दथे। यस्ता दाबीहरूले पर्यटकहरूको उत्सुकता अझ बढाएको थियो र धेरै मानिसहरू इतिहासको कुनै विशेष हिस्सा आफ्नै आँखाले हेर्न पाइरहेको विश्वासमा त्यहाँ पुग्थे।
फ्रेंकोको यो जालसाजी केवल पर्यटकहरूमा मात्र सीमित रहेन। उनले आफूलाई एक समाजसेवी, व्यवसायी र अर्केष्ट्रा सञ्चालकको रूपमा प्रस्तुत गरेका थिए। उनको कुरामा यति धेरै विश्वास बढ्यो कि स्थानीय प्रशासनले समेत उक्त ठाउँलाई आधिकारिक रूपमा ऐतिहासिक मान्यो। यति मात्र होइन, युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित एक पर्यटन एपमा समेत यस कथित ऐतिहासिक स्थललाई समावेश गरियो, जसले गर्दा त्यहाँ पुग्ने पर्यटकहरूको सङ्ख्या निरन्तर बढ्दै गयो।
फ्रेंकोले मानिसहरूलाई सन् २००५ मा गएको पहिरोका कारण यो प्राचीन स्थल जमिनमुनिबाट बाहिर आएको कथा सुनाउँथे। उनका अनुसार त्यहाँ नवपाषाण काल, युनानी सभ्यता र रोमन कालका अवशेषहरू फेला परेका थिए।
सन् २०१६ मा प्रहरीले यस सम्पूर्ण मामिलामाथि छानबिन शुरू गर्यो। जब पुरातत्व विज्ञहरूको टोली घटनास्थलमा पुग्यो, तब छोटो समयमै सबै सत्य बाहिर आयो। अनुसन्धानका क्रममा त्यहाँ रहेका कुनै पनि संरचनाहरू प्राचीन नरहेको खुलासा भयो। जसलाई शताब्दीयौँ पुरानो भनिएको थियो, ती सबै खम्बा र मूर्तिहरू फाइबरग्लास, पेपर मासे र अन्य आधुनिक सामग्री प्रयोग गरेर बनाइएका थिए। विज्ञहरूले त्यहाँ रहेको ताल पनि प्राकृतिक नभई कृत्रिम रूपमा तयार पारिएको पत्ता लगाए। यहाँसम्म कि पहाडलाई सम्याएर पुरातात्विक सेटजस्तै बनाइएको थियो।
सत्य बाहिर आएपछि पनि फ्रेंकोले हार मानेनन्। उनले सन् २०१७ मा एक ब्लग लेख्दै यस एम्फिथिएटरमा कब्जा गर्न माफियाहरूले धेरै मानिसहरूको हत्या गरेको दाबी गरे। आफूमाथि पनि माफियाले आक्रमण गरेको र आफ्नो कान्छो छोरा हराएको जस्ता सनसनीपूर्ण दाबी उनले अघि सारे। यसअघि उनले यस ठाउँको सन् १८७० र फेरि १९८० को दशकमा जीर्णोद्धार गरिएको थियो भन्ने कथा पनि फैलाएका थिए।
करिब १० वर्षसम्म चलेको लामो कानुनी प्रक्रिया र अनुसन्धानपछि अदालतले फ्रेंको मालोसोलाई दोषी ठहर गरेको छ। उनलाई अवैध निर्माण गरेको, नकली पुरातात्विक संरचनाहरू तयार पारेको र मानिसहरूलाई भ्रमित पारेको आरोप प्रमाणित भएको छ। अदालतले उनलाई दुई वर्ष चार महिनाको जेल सजाय, ३ हजार युरो जरिवाना र उक्त परिसरमा गरिएका सबै नकली निर्माणहरू हटाउन आदेश दिएको छ।
यो घटना केवल ठगीको एउटा मामिला मात्र नभई, जब कुनै कथालाई उच्च आत्मविश्वासाथसाथ प्रस्तुत गरिन्छ, तब मानिसहरू कति सजिलै विश्वास गर्न पुग्छन् भन्ने गतिलो उदाहरण बनेको छ।