
नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।
उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरे भने अर्का अध्यक्षका प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाए ।
मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भए ।
यही माघ २२ गतेदेखि भएको मतगणना आज सकिएको हो । यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नं १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएक थिए ।