
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई रु. १२ हजारका दरले रु. ४ लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा बुधबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता मा।वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात जना गरी ३४ जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
पाँच वर्षे छात्रवृत्ति अभियान अन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष ३ जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको समाजले जनाएको छ ।
‘छोरी पढाऔ, गरिमा बढाऔँ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने संस्थाले जनाएको छ ।
शान्ति समाज मोरङ शाखाका सभापति प्राडा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता माविका प्रअ रामनारायण बिश्वास, सरस्वती माविका अध्यापक हरि कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले थालेको शिक्षा र स्वास्थ्यको अभियानबारे प्रकाश पारे ।