०७ असार २०८३, आइतबार

सन्तान र नातेदारको भर्तीकेन्द्र विद्यालयः प्रअ र अध्यक्षका सन्तानलाई सेटिङ गराएर जागिर

माघ २७, २०७९
सन्तान र नातेदारको भर्तीकेन्द्र विद्यालयः प्रअ र अध्यक्षका सन्तानलाई सेटिङ गराएर जागिर

मोरङको एक विद्यालयलमा छोराछोरीलाई नै सेटिङमा जागिर खुवाइएको भेटिएको छ।

उर्लाबारी नगरपालिका ६ स्थित राधिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यले  आफ्ना सन्तान तथा नातेदारलाई नियुक्ति दिएपछि विवाद सतहमा आएको हो ।

विद्यालयको मावि तृतीय सरहको प्रशिक्षक बाली विज्ञान, प्रावि तृतीय सरहको ल्याब सहायक र लेखा सहायक पदमा छोराछोरी तथा भतिजालाई नियुक्त गरिएको पाइएको हो।

बाली विज्ञान प्रशिक्षकमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले आफ्नी छोरीलाई नियुक्त गरेका हुन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले छोरा अभिषेकलाई ल्याब सहायकमा नियुक्ति दिएका हुन्।

विद्यालयकै लेखा सहायक पदमा व्यवस्थापन समिति सदस्य दीपेन्द्र थापाले भाइ (काकाको छोरा) प्रकाशलाई  नियुक्त गरेका हुन्।

एकै पटक तीन जनालाई नियुक्त गरिएपछि सेटिङमा जागिर खुवाइएको भेटिएको हो। 

प्रधानाध्यापक पोख्रेलकी छोरी र व्यवस्थापन समिति सदस्य थापाका भाइका प्रतिस्पर्धीसमेत थिएनन्।

उनीहरू दुवैलाई एक्लाएक्लै परीक्षामा सामेल गराइएको थियो ।

गत पुस ५ गते परीक्षा गरिएको थियो भने ६ गते नै तीनै जनालाई नियुक्त गरिएको थियो ।

नियुक्तिका लागि परीक्षा गराउन नगरपालिकाबाट प्रतिनिधिसमेत खटाइएको थियो ।

नगरपालिकाबाट प्रतिनिधि भएर उर्लाबारी नगरपालिकाको शिक्षा शाखाका अधिकृत अशोक घिमिरे गएका थिए ।

विषय विज्ञमा सन्निकुमार साह राखिएको थियो । साहलाई नगरपालिकाले विषयविज्ञ तोकेको थियो।

प्रशिक्षक र ल्याब सहायक पदका लागि छोरी आफै परीक्षामा सामेल भएपछि प्रधानाध्यापक भने परीक्षाको प्रक्रियमा देखिएका थिएनन्।

विद्यालय प्रतिनिधिका रूपमा शिक्षक चुणामणि नेपाललाई राखिएको थियो । प्रधानाध्यापक र समितिका अध्यक्षका छोराछोरी भनेर आफूलाई थाहा नभएको शिक्षा शाखाका प्रमुख घिमिरेले बताए ।

विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले प्रक्रिया पूरा गरेरै नियुक्ति गरेको दाबी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले विज्ञापन खुलाएरै प्रक्रियागत ढंगबाट नियुक्त गरेको दाबी गरेका छन्।

नगरपालिकाको शिक्षा शाखाले परीक्षाको प्रक्रिया पूरा गर्ने भएकाले विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको कुनै भूमिका नरहेको राईको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निजी स्रोतबाट तलब दिने गरी शिक्षकको जागिर खुवाएका हुन् ।

नगरप्रमुखको चेतावनी

नगरपालिका शिक्षा विकास समितिका प्रमुखसमेत रहेका नगर प्रमुख  गंगाप्रसाद खरेलले गलत ढंगबाट शिक्षक तथा कर्मचारीमा नियुक्त गरिएको भए कारबाही गर्ने चेतावनी दिएका छन्।

नगरपालिकामा उजुरीसमेत परिसकेको छ । त्यस विषयमा छानबिन गर्ने समेत उनले बताएका छन् ।

नगरपालिकाको न्यायिक समितिको प्रमुखसमेत रहेकी उपप्रमुख मीना खतिवडा पौडेलले पनि छानबिन गर्ने बताएकी छन् ।

कमेन्ट गर्नुहोस्