
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताएका छन् । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताए ।
“पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो”, उनले भने, “पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।” उनले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताए ।
नेता लेखकले भने– “राजनीतिमा लागेका शिक्षकलाई मेरो अनुरोध छ विद्यालय समयमा शिक्षा बाहेकका अन्य कुरा नगरौँ ।” उनले निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गरे पनि विद्यालयमा राजनीति गर्न नहुने बताए ।
बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताए । बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।