
अभिनेता जितु नेपालले ‘ह्यारीकी प्यारी’ फिल्मले दोस्रो सातामा पनि दर्शकहरुको साथ पाइरहेको बताएका छन् ।
सुरुका दिनमा हलमा दर्शकहरुको उपस्थिति कमी रहेको बताउँदै उनले सकारात्मक ‘वर्ड अफ माउथ’का कारण फिल्म हेर्ने दर्शकहरुको संख्या बढिरहेको बताएका छन् ।
उनले सोमबार साँझ फेसबुकमा लेखेका छन्, ‘फिल्म हेर्ने करिब ९५% दर्शकहरूले रुचाउनु भएको छ । जतिले हेर्नुभयो सबै खुसी हुनुहुन्छ । जसका कारण हलहरूमा शो पनि बढिरहेको छ ।’
उनले आफूहरूको फिल्मको व्यापारलाई लिएर दर्शकहरुमा भ्रम नपारिदिन समेत आग्रह गरेका छन् ।
उनले आफ्नो कमजोरी र फिल्मको अवस्था जे छ त्यही यथार्थ कुरा सविस्तार भन्ने बताएका छन् ।
‘हामीले नम्बर कम पायौँ होला, फष्ट डिभिजन आएन होला । तर, फेल चाहिँ होइनौँ है’ उनले लेखेका छन् ‘कृपया पूर्वाग्रह राखेर हचुवाको भरमा दुई दिनको व्यापार हेरेर दर्शकलाई भ्रममा न पार्दिनुहोला ।’
डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गतेदेखि प्रदर्शनमा आएको हो । फिल्ममा जितुले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । बिआर प्रोडक्सनको प्रस्तुतिमा वरिष्ठ डा. भोला रिजाल निर्माता रहेको फिल्ममा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको पनि अभिनय छ ।