३१ जेठ २०८३, आइतबार

महाशिवरात्रिका लागि बिहान ३ बजे नै खुले पशुपतिका ४ ढोका

महाशिवरात्रिका लागि बिहान ३ बजे नै खुले पशुपतिका ४ ढोका
प्रतिकात्मक तस्वीर

महाशिवरात्रिका अवसरमा शनिवार बिहान ३ बजेदेखि नै पशुपतिनाथ क्षेत्रका ४ ढोका खुलेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलिमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । 

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर ३ र भित्र ५ वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै ४ शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट १/१ लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यसैगरी तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ, सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ ।

शनिवार पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्