२१ असार २०८३, आइतबार

कस्तो छ प्रदर्शनरत फिल्म ‘फूलबारी’ ?

कस्तो छ प्रदर्शनरत फिल्म ‘फूलबारी’ ?

छोराछोरी छन्, तर आफूहरूसँग छैनन् । कोही गाउँमा रहेका बुबा–आमाभन्दा टाढा सहरमा आफ्नै सपनाको खातिर दौडिएका छन् ।

कोही सहरमा रहेका बुबा आमाभन्दा टाढा विदेशमा सपना सजाउँदैछन् । बुबा आमासँग संगै भएकाहरू पनि आफ्नै काममा व्यस्त छन् ।

अहिलेको व्यस्त समाजमा त्यस्ता थुप्रै बुवाआमा छन्, जो सन्तान भएर पनि एक्लो छन् । शुक्रवारबाट प्रदर्शनमा आएको ‘फूलबारी’ एउटा त्यस्तै सामाजिक पारिवारिक नेपाली फिल्म हो, जसले बुबाआमाले सन्तानबाट खोज्ने साथ र सन्तानको बुबाआमाप्रतिको जिम्मेवारीको कथा पेश गर्छ । 

झण्डै ३ दशक शिक्षण पेशामा रहेर सेवानिवृत भएका जयनारायण शर्मा (विपिन कार्की) र उनकी श्रीमती लक्ष्मी शर्मा (अरुणा कार्की) दम्पतीको वरिपरी फिल्मले २ घण्टा १० मिनेट फन्को मार्छ । 

पहाडी जिल्लाको एउटा गाउँमा बस्ने उनीहरूका तीन छोराहरू छन्, तर साथमा कोही छैनन् । छोराहरू चाडपर्वमा मात्र घर आउँछन्, दुई–तीन दिन बस्छन् अनि फर्किन्छन् । जयनारायण र लक्ष्मी दम्पतीको जीवनमा त्यतिबेला उतारचढाव आउँछ, जब लक्ष्मी विरामी भएपछि डाक्टरले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न सुझाउँछन् । 

जयनारायण आफ्नो घर छिमेकीलाई जिम्मा लगाएर श्रीमतीको उपचारका लागि काठमाडौं लाग्छन् । काठमाडौंमा उनको जेठो छोराको घर छ । उनी एक फ्याक्ट्रीको व्यवस्थापक छन् । बुहारीको पनि राम्रै काम छ ।

माइलो छोरा पनि काठमाडौंमै डेरा जमाएर बसेका छन् । उनी संगीतमा करिअर बनाउने सपना बोकेर हिँडेका छन् । कान्छो छोरो अष्ट्रेलियाउडने तरखरमा छ । 

उपचारका लागि भनेर काठमाडौं पुगेका जयनारायण र लक्ष्मीलाई छोराहरूले कत्तिको समय दिन्छन् । बुहारीले कस्तो व्यवहार गर्छिन् ? त्यसपछि आउने उतारचढाव नै फिल्मको कथा हो ।

फिल्ममा छोराहरूको भूमिकामा सोमनाथ खनाल, अनुपम शर्मा र मनिष ढकालको अभिनय छ । प्रियंका कार्की बुहारीको भूमिकामा छिन् । दयाहाङ राई गाउँले छिमेकीको भूमिकामा प्रस्तुत छन् । शिल्पा मास्के विशेष भूमिकामा छिन् । 

विपिन कार्कीको अभिनय यसमा उम्दा लाग्छ । उनले आफ्नो वास्तविक उमेरभन्दा झण्डै दोब्बर उमेरको भूमिका यसमा निर्वाह गरेका छन् ।

अरुणा कार्की, अनुपम शर्मा, दयाहाङ राई, प्रियंका कार्की लगायत सबैको अभिनय स्वभाविक लाग्छ । छोराको भूमिकामा देखिएकामध्ये अनुपमको अभिनय छोटो तर निकै प्रशंसायोग्य छ । 

फिल्मको बलियो पक्ष संवाद, छायाँकन र ब्याकग्राउण्ड स्कोर हो । त्यस्तै यसको राम्रो पक्ष गीतसंगीत पनि हो । ‘माया रैछ र भर रैछ नी’ लगायतका गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको छ ।

यसको कथा र कथावाचन शैली भने पुरानै छ ।

मध्यान्तरअघि फिल्मको गति पनि सुस्त छ । परम्परागत कथ्यशैलीलाई भत्काउँदै ‘कबड्डी’ जस्तो सशक्त फिल्म दिएका निर्देशक रामबाबु गुरुङ फेरी पुरानै शैलीमा फर्किएको भाव फिल्मले दिन्छ ।

उनीजस्तो निर्देशकबाट यो भन्दा माथिल्लो स्तरको फिल्मको अपेक्षा हुन सक्छ । 

नयाँपन खोज्ने दर्शकका लागि यो मल्टिस्टारर ‘फूलबारी’ रुचीकर नहुन पनि सक्छ, तर पारिवारिक फिल्म रुचाउने दर्शकले भने पक्कै रुचाउनेछन् ।

कमेन्ट गर्नुहोस्