
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त समिट असार २३ र २४ गतेसम्म सञ्चालन हुनेछ । दुवै महानिरीक्षकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्बन्धित सङ्गठनका वरिष्ठ अधिकृतहरूले बिदाइ गरेका थिए । समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भ्रमणका क्रममा प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (यूएई) का प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।