फागुनको १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘२.० छड्के’को ट्रेलर बुधवार सार्वजनिक गरिएको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म ग्याङस्टरको कथामा निर्माण गरिएको हो, जसमा अभिनेता अनमोल केसी मुख्य भूमिकामा छन् ।
ट्रेलरमा अभिनेता अनमोल एक्सन अवतारमा देखिएका छन् । उनले एउटा ग्याङमा आबद्ध मेनडग नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
मनाङको स्याउदेखि यार्चागुम्बा व्यापारमा हक जमाउन खोज्ने साना ठूला ग्याङबीचको द्वन्द्व ट्रेलरमा देखाइएको छ ।
देव कुमार श्रेष्ठ र प्रशान्त गिरी निर्माता रहेको फिल्ममा अनमोलका साथमा रोविन तामाङ, कमलमणी नेपाल, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतको अभिनय छ ।
निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, राजकुमार उप्रेतीको एक्सन, रवि चौधरी र लोकेशन बज्राचार्यको सम्पादन छ । युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका अनमोलको यो फिल्मले इनिसियल व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ ।
यो फिल्मसँगै दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ पनि एकैदिन प्रदर्शनमा आउँदैछ ।