०५ साउन २०८३, मंगलबार
राष्ट्रपति चयनको सकस

राष्ट्रपतिमा देउवा नै उम्मेदवार बन्ने सम्भावना कति ?

फागुन ११, २०७९
राष्ट्रपतिमा देउवा नै उम्मेदवार बन्ने सम्भावना कति ?

यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावलाई लिएर राजनीतिक दलहरूबीच शृंखलाबद्ध वार्ता र संवाद शुरू भएका छन् ।

आफ्नो लगाममा भएको सत्ता गुमेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीसँग पुनः सम्बन्ध विकसित गरेपछि फेरि नयाँ समीकरणबाट राष्ट्रपति चयन हुने परिस्थिति बनेको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विपक्षी कांग्रेसको पनि विश्वासको मत पाएदेखि नै कांग्रेसको आँखा राष्ट्रपति पदमा थियो । 

सत्तारुढ एमालेले यस्ता ढोक्सा नथाप्न आग्रह गर्दै ढोक्सा थापे पनि माछा नपर्ने दाबी गर्दै आएको छ । तर पनि कांग्रेस र माओवादीबीच बन्दै गएको सहमतिलाई रोक्न ओली असफल हुने संकेत देखिएको छ ।

राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको माओवादीले एमालेलाई यो पद दिँदा जोखिम हुने देखेको छ । जसको परिणाम राष्ट्रपति कांग्रेसको पोल्टामा पर्ने गरी सहमतिको अन्तिम तयारीमा पुगेको दाबी कांग्रेस र माओवादीकै नेताले गरिरहेका छन् । बुधवार राति बालुवाटारमा पुरानै गठबन्धनलाई ब्युँताएर राष्ट्रपति चुनाव गराउने समझदारीनिकट पुगेको दाबी गरिएको छ । 

कांग्रेसले राष्ट्रपति पाउने अवस्था बलियो हुँदै गएपछि अब को पात्रलाई अगाडि सार्ने भन्नेमा कांग्रेसभित्र आन्तरिक छलफल शुरू भएको छ । २५ गते हुने निर्वाचनका लागि पर्सि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ । 

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को ? 

सभापति शेरबहादुर देउवाले कांग्रेसबाट मुख्य गरी रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिको मुख्य दाबेदार रहेको पार्टी बैठकमा नै बताएका थिए । माओवादीलाई विश्वासको मत दिएपछिको परिस्थितिमा देउवाले पार्टी बैठकमा यस्तो चर्चा गरेका थिए । यीसँगै गोपालमान श्रेष्ठ र नेता मानबहादुर विश्वकर्माको नाम पनि देउवाले लिएका थिए । तर पौडेल वा सिटौलामध्ये एक जना कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने बताइएको छ । 

तर अरूलाई राष्ट्रपति बनाउने बताउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्मका चर्चा गरिएका छन् । विपक्षीको सहजता, पार्टीभित्रकै समीकरणका लाभहानीका कारण देउवालाई राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चा गरिएको बताइन्छ ।

राष्ट्रपतिमा उठ्नैपर्ने बाध्यता देउवालाई आइलाग्न सक्छ 

देउवाले अहिलेसम्म अरूलाई नै राष्ट्रपति बनाउने मनसाय बनाएका छन् । तर आफूबाहेकका कांग्रेस नेतालाई राष्ट्रपति बनाउने गरी बहुमत नपुग्ने अवस्थामा पनि देउवा बाध्यात्मक अवस्थामा पुग्न सक्छन् । देउवा उठे उनलाई जिताउने गरी मत दिन दलहरू तयार हुने र तर अरू कांग्रेस उम्मेदवार उठ्दा पराजित हुने अवस्था आइदियो भने देउवाका लागि राष्ट्रपतिमा उठ्नैपर्ने बाध्यता आइलाग्न सक्छ । 

साथै राष्ट्रपति चुनावमा यतिखेर माओवादी सबैभन्दा निर्णायक अवस्थामा छ । मतको हिसाबले निर्णायक रहेकाले माओवादीले मत दिने नेता राष्ट्रपति हुने सम्भावना बढी रहन्छ । आफू निर्णायक रहेको बलमै देउवाबाहेकलाई राष्ट्रपति समर्थन गर्न सक्दैनौं भन्ने निर्णय माओवादीले गरिदिए अर्को बाध्यता आइलाग्न सक्छ । 

प्रधानमन्त्री प्रचण्ड नै देउवा राष्ट्रपति भए आफू ढुक्कले प्रधानमन्त्री हुन पाइने आशमा छन् । देउवा राष्ट्रपतिमा थन्किए कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदार नहुने र आफूले ढुक्कले ५ वर्ष चलाउन पाउने आकांक्षा उनले राखेको बताइन्छ । प्रचण्डले छलफलका क्रममा यो विषयमा प्रस्ट मत नराखे पनि देउवा आफैं राष्ट्रपतिमा अघि सरे हुन्थ्यो भन्ने पक्षमा रहेको बताइन्छ । 

आफ्नै टीम र इतर पक्ष नै चाहन्छ देउवालाई 

राष्ट्रपतिमा देउवालाई नै पठाउन अहिलेका उपसभापति पूर्णबहादुर खड्का सबैभन्दा बढी इच्छुक रहेको कांग्रेस स्रोत बताउँछ । किनकी खड्काले १४ औं महाधिवेशनमा देउवा टीमबाटै उपसभापति जितेका थिए । अघिल्लो वर्षमात्रै महाधिवेशन भएकाले अझै ५ वर्ष पार्टीको नेतृत्व गर्न पाइने लोभमा उनी छन् । देउवा राष्ट्रपति हुँदा स्वाभाविक रूपमा आफू कार्यबाहक सभापति हुने अवस्थामा खड्का छन् ।

खड्कासँगै नेता विमलेन्द्र निधि पनि देउवालाई राष्ट्रपति बनाउन इच्छुक नेता हुन् । कुनै समय देउवाका अति नै विश्वासपात्र भए पनि निधि आफैंले देउवासँगको सम्बन्ध बिगारेका थिए । देउवा आफैं सभापति उठ्दा निधिले पनि १४ औं महाधिवेशनमा यो पदमा उम्मेदवारी दिए । दोस्रो चरणमा निधिले देउवालाई सहयोग गरेर केही गुन लगाउने प्रयास पनि गरे । 

आईजीपी जयबहादुर चन्दलाई कि नवराज सिलवाललाई बनाउने भन्नेमा विषयमा भएको विवादले देउवा र निधिबीच उग्र रूप लिएको थियो ।

यसको विवाद मिलाएर सम्बन्ध सौहार्द बनाउने प्रयास भए पनि पहिलेजस्तो सम्बन्ध यी दुई नेताबीच छैन । तर पनि महाधिवेशनको दोस्रो चरणमा आफूले देउवालाई जिताएको दाबी गर्न निधिले छोडेका छैनन् । देउवा साँच्चै राष्ट्रपति बनिदिए पार्टीमा उनको उत्तराधिकारी आफू बनिन्छ कि भन्नेमा निधि पनि छन् । त्यसैले उनले पनि देउवालाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भनेर भित्री काम गरिरहेका छन् । 

यसका अलावा देउवालाई राष्ट्रपति बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि इच्छुक छन् । यी दुईमध्ये शर्माले केही समयअघि देउवालाई राष्ट्रपति बनाउनुपर्ने विषयमा बोलेका थिए । तर अहिले आएर बोली फेर्दै उनले प्रधानमन्त्री भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन् । तर देउवा राष्ट्रपतिमा थन्किए पार्टीमा लोकप्रिय युवा नेताको बलमा आफूहरू स्थापित हुने र पार्टीलाई नवजीवन दिन सकिने पक्षमा उनीहरू छन्, किनकी देउवाको पार्टी सञ्चालनको शैली एललौटी भएको, पार्टीभित्र युवामा आकर्षण भर्न नसकेको जस्तो आरोप उनीहरूले लगाउँदै आएका छन् । आफूहरू महाधिवेशनबाटै जितेर पदाधिकारी भएपछि पार्टीप्रति आकर्षण जगाउन सकिने भन्दै देउवालाई राष्ट्रपतिमा थन्क्याउने पक्षमा छन् । 

यी दुई मात्रै होइन देउवा राष्ट्रपति बन्दिए आफ्नो पक्षलाई हावी गराउन सकिने पक्षमा डा. शेखर कोइराला पक्ष पनि छ । देउवाको पार्टी सञ्चालनको शैली र पद्धतिप्रति प्रश्न उठाउँदै आएकाले देउवालाई राष्ट्रपति बनाउँदा नेतृत्व नपाए पनि आफूहरू हावी हुन सक्ने बुझाई यो पक्षको छ, किनकी देउवाले आफूपछि बलियो गरी उत्तराधिकारीलाई नेतृत्वको विकास गराएका छैनन् । 

देउवा राष्ट्रपति भए के–के अप्ठ्यारो ? 

देउवा यदि राष्ट्रपति हुने हो भने उनले पार्टी सभापति छाड्नुपर्नेछ । उनले सभापति छोड्दा उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बन्नेछन् । तर देउवाले सक्रिय र प्रभावशाली पार्टी सभापति छाडेर खड्कालाई यो विरासत छाड्नुपर्ने हुन्छ । खड्का खरो स्वभावका नेता हुन् । उनको यही स्वभावलाई लिएर उनको आलोचना गर्ने पनि उत्तिकै छन् । यसैले बलियो र भरपर्दो उत्तराधिकारी नबनाउँदै देउवा पार्टीको कमाण्ड अर्कोलाई सुम्पने पक्षमा नभएको बताइन्छ । 

लामो संघर्ष र मेहनतपछि कोइरालाहरूको विरासत पल्टाएका देउवाले आफूपछिको बलियो नेतृत्व विकास गरेपछिमात्रै पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने सोचाइ बनाएको बताइन्छ । आफूपछि पत्नी एवं नेता आरजू राणालाई स्थापित गर्ने दाउमा पनि देउवा छन् । आरजू केन्द्रीय सदस्य भए पनि यो पक्षको कमाण्ड सम्हाल्ने गरी योग्य भइसकेकी छैनन् ।

बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत यो पक्षको सर्वमान्य नेता बन्ने गरी नेतृत्वमा स्थापित भइसकेका छैनन् । बरु यी आफैंभित्र एकअर्काको प्रतिस्पर्धी छन् । यसैले देउवाले अहिले नै पार्टीको कमाण्ड नछोडिदिए हुन्थ्यो भन्नेमा यी नेता पनि रहेको बताइन्छ । 

यसैले पनि देउवा तत्काल राष्ट्रपतिमा थन्किन गाह्रो देखिन्छ । यतिमात्रै होइन राष्ट्रपति बन्दा देउवाको फेरि प्रधानमन्त्री बन्ने र कीर्तिमान राख्ने अभिलाषा पूरा हुने छैन, किनकी ज्योतिषीले दिएको सातपटकको प्रधानमन्त्रीको योग पुग्न अझै दुईपटक प्रधानमन्त्री बन्नुपर्नेछ । राष्ट्रपति बन्दा देउवाले संसदीय दलको नेता पनि छाड्नुपर्नेछ । 

सम्मान र विरासत हेर्लान् ? 

कांग्रेसले राष्ट्रपति पक्का पाउने परिस्थितिमा देउवाले आफैं अघि सर्छु भन्दा कसैले पनि विरोध गर्ने ठाउँ रहँदैन । ५ पटक प्रधानमन्त्री बनिहालें अब राज्यको सबैभन्दा सम्मानित पदको पनि इतिहास बनाउँछु भनेर चाहना राख्दा पनि देउवा सहजै राष्ट्रपति हुने सम्भावना छ ।

संवैधानिक पद भए पनि दलहरूले यसलाई दिएको महत्त्वले राष्ट्रपति पद शक्तिशाली रहेको बुझाइ नागरिक पंक्तिमा समेत भइसकेको छ । कतिपय गम्भीर विषयलाई रोक्न सक्ने हैसियत र अवस्थामा राष्ट्रपति भएको पछिल्ला घटनाक्रमले पनि देखाएका छन् । यसैले यो पदको शक्ति, सामर्थ्य र सम्मानलाई ख्याल गरेर देउवाले म हुन्छुभन्दा उनलाई रोक्न सक्ने अवस्था देखिन्न । 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल देउवा एकैपटक राष्ट्रपतिमा तयार हुन सक्ने अवस्था कम देख्छन् । 

‘सक्रिय राजनीति गरेका नेता एकाएक राष्ट्रपतिमा जाँदा धेरै विषय सोच्नुपर्ने हुन्छ । देउवाजीको हकमा पनि यही हो । सक्रिय सभापति छोड्दा पार्टीको विरासत कसले धान्ने भन्ने महत्त्वपूर्ण प्रश्न होला,’ उनी भन्छन्, ‘अरूको चाहना होला तर शक्ति र सामर्थ्यलाई यत्तिकै छोडेर देउवाजी राष्ट्रपतिमा तयार हुनुहोला भन्ने मलाई लाग्दैन ।’

के भन्छ देउवा निकट स्रोत ? 

देउवा निकट स्रोत अहिलेसम्मको परिस्थितिमा देउवाले कुनै हालतमा राष्ट्रपति नस्वीकार्ने जानकारी दियो । ‘राष्ट्रपतिमा चाहना सभापतिको होइन अरूको हो,’ देउवा निकट स्रोत भन्छ, ‘गगन थापा र विश्वप्रकाश शर्माहरूले फैलाएको यो मनगणन्ते हल्लामात्रै हो ।’

salt training

कमेन्ट गर्नुहोस्