
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ ।
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्ससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो ।
आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलोपटक शैक्षिक कार्यक्रम शुरू गर्न लागेको हो । यससँगै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुला भएको प्रतिष्ठानका उपकूलपति डा. विकास लामिछानेले बताए ।
प्रतिष्ठान स्थापना भएसँगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल थालिएको थियो भने पटक–पटक दबाबमूलक कार्यक्रम पनि भएका थिए । लामो समयसम्म शैक्षिक कार्यक्रम सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक निराश बनेकामा प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएपछि उत्साहित भएका छन् ।
शैक्षिक कार्यक्रम शुरू भएसँगै दाङसहित साविक राप्तीका विद्यार्थी समेत लाभान्वित हुने उपकूलपति डा. लामिछानेले बताए । ‘प्रतिष्ठानमा पहिलोपटक शैक्षिक कार्यक्रम शुरू हुन लागेको छ । यसबाट यहाँका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्,’ उनले भने ।
कक्षा सञ्चालनका लागि आवश्यक नर्सिङ प्राध्यापक नियुक्ति, भौतिक संरचना, लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूम लगायत तयारी अवस्थामा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए । उनका अनुसार आयोगले अनुमति दिएसँगै अब भर्ना कार्यक्रम समेत अगाडि बढ्ने छ । ‘हामीले सबै तयारी यसअघि नै गरिसकेका थियौं, आयोगको निर्णयसँगै अब भर्ना कार्यक्रमदेखि आवश्यक सबै काम अघि बढ्छन्,’ उनले भने ।
स्थानीयस्तरमा शैक्षिक कार्यक्रम शुरू भएसँगै जिल्लावासी खुशी भएका छन् ।