२७ असार २०८३, शनिबार
औपचारिक तस्वीरमा अनावश्यक सम्पादन

राष्ट्रपति पौडेलको हुलिया नै परिवर्तन, औपचारिक तस्वीरबाट कोठी गायब !

फागुन २९, २०७९
राष्ट्रपति पौडेलको हुलिया नै परिवर्तन, औपचारिक तस्वीरबाट कोठी गायब !

राष्ट्रपति रामचन्द्र पौडेलले पदभार सम्हालेलगत्तै राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको ‘आधिकारिक तस्वीर’ अनावश्यकरूपमा सम्पादन गरेर सार्वजनिक गरेको पाइएको छ ।

राष्ट्रपति पौडेलको गालामा दुवैतर्फ रहेको कोठी गायब छ भने अनुहार र गलामा देखिने वृद्धावस्थाका निशानहरू समेत हटाएर हृष्ट पुष्ट र तन्नेरी देखाउन खोजिएको छ ।

राष्ट्रपतिको आधिकारिक वेबसाइटको स्क्रीन शट

केहीबेर अगाडि मात्रै शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलको अनुहारमा दाहिने गालातर्फ आँखानजिक ठूलो कोठी प्रस्टै देखिएको थियो । दाहिनेतर्फमात्र हैन, पौडेलको देब्रे गालामा पनि कोठी छ ।

तर, राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा भने अनुहारका पहिचान सूचक निशानहरू समावेश छैनन् । पौडेलको अनुहार सफाचट् देखिएको छ ।

बेवसाइटमार्फत सार्वजनिक राष्ट्रपति पौडेलको तस्वीर

यसरी हुलिया नै बदलिने गरी अनावश्यकरूपमा सम्पादन गरेर तस्वीर राख्नु गलत भएको सरकारी कर्मचारीहरू नै बताउँछन् ।

‘राम्रो क्यामेराले लाइट मिलाएर राम्रो तस्वीर खिचेर राख्न त सकिन्छ, तर यसरी हुलिया नै परिवर्तन हुनेगरी सम्पादन गर्नुचाहिँ उचित भएन,’ एक उच्चपदस्थ कर्मचारीले नाम नखुलाउने शर्तमा लोकान्तरसँग भने, ‘सरकारी कामकाजमा हुलिया खुलाउने भनेर अनुहारमा कोठी अर्थात् यस्ता केही सूचकहरू छन् भने त्यसलाई खुलाउने गरिएको हुन्छ, जुन व्यक्तिको आधिकारिक र वास्तविक पहिचान हो ।’

राष्ट्रपति पौडेलको वास्तविक हुलिया देखिने तस्वीर

यसअघि दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीको अनुहारमा पनि मसिना कोठी थिए । तर, उनको औपचारिक तस्वीरमा कुनै काँटछाँट गरिएको थिएन ।

पौडेल राष्ट्रपति भएलगत्तै जारी गरिएको तस्वीर भने हुलिया नै परिवर्तन गरेर सार्वजनिक गरिएको हो । राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरूमा झुन्डिने छन् ।

२५ फागुमा राष्ट्रपति भएका पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

पौडेल अब ५ वर्षसम्म मुलुकको राष्ट्रपति हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्