
विकाश राज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’को ‘दिउँला माया...’बोलको गीत सार्वजनिक गरिएको छ ।
सोमवार सार्वजनिक यो रोमान्टिक गीतमा फिल्मका मुख्य कलाकारहरू डेब्यू अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।
शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतको शब्द विकाश राज आचार्यले कोरेका हुन् भने संगीत गायक शरदकै हो ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा आशीर्वाद र आँचलको पात्रले मायाको भाव साटासाट गरेका छन् । विकाश राज र विष्णुमणि दाहाल निर्माता रहेको फिल्म नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आशीर्वाद र आँचलका साथमा अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, अभिनेता सरोज खनाल, बाल कलाकार अथर्व उप्रेती लगायतको अभिनय छ ।
सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान फिल्मको कार्यकारी निर्माताका रुपमा छन् । निर्देशक आचार्य, सामिप्यराज तिमिल्सिना र अरुणदेव जोशी मिलेर फिल्मको कथा तयार पारेका हुन् ।
हिमाल केसीको द्धन्द्ध, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नेछन् ।
‘नाइँ नभन्नू ल’का यसअगाडिका पाँच वटै श्रृङ्खला सफल छन् ।